आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

विश्वासको मतपछि दलहरुमा उब्जिएको अविश्वास

एमाले र माओवादीद्वारा एकअर्काप्रति लक्षित खरो टिप्पणी
बुधबार, ०१ कात्तिक २०८०, १८ : ४६
बुधबार, ०१ कात्तिक २०८०

विराटनगर । संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा भारी मत परेको छ । प्रदेशसभामा बुधबार भएको मतदानमा विश्वासको मतको प्रस्तावको पक्षमा ८६ मत र विपक्षमा ५ मत परेको हो । 

तर, कार्कीले भारी विश्वासको मत पाइरहँदा प्रदेशसभामा रहेका दलहरुमा भने एक अर्काबीच अत्याधिक अविश्वास देखिएको छ । जुन मुख्यमन्त्रीले विश्वासको मत पाएपछि प्रदेशसभा परिसरमा संचारकर्मीलाई दिएको प्रतिक्रियाले पनि प्रष्ट पारेको छ । 

प्रदेशसभामा विश्वासको मतको प्रस्तावमाथिको छलफलमा नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले पटकपटक नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो लक्षित खरो टिप्पणी गरे । उनले आङ्बोको नाम नलिई भने, ‘गठबन्धनले अमुक नेतालाई मुख्यमन्त्री बनाउने भएपछि हामी रन्थनियौँ, हामी विक्षिप्त भयौँ ।’ कार्कीको यो अभिव्यक्तिले आङ्बोसँग उनको सम्बन्ध र कटुटा कुन हदसम्म रहेछ भन्ने प्रष्ट पार्‍यो । ‘केन्द्रीय गठबन्धनले लज्जास्पद निर्णय गरेपछि हामी विक्षिप्त भयौँ । यो संविधान अनुकूल भएन । गठबन्धनले यहाँका अमुक नेताको नाममा सहमति गरेको विज्ञप्ति आयो । त्यसपछि हामी रन्थनियौँ । त्यही बेला केदार कार्कीले हिम्मत गर्नुभयो । हामीले समर्थन गर्‍यौँ । उहाँलाई हामीले समर्थन गर्‍यौँ र मध्यावधिमा जानसक्ने चक्रको अन्त्य गर्‍यौँ,’ कार्कीले भनेका थिए । 

कार्कीले प्रदेशसभामा गरेको उक्त अभिव्यक्तिको प्रतिक्रिया स्वरुप प्रदेशसभा परिसरमा संचारकर्मीसँग आङ्बोले एमालेको खरो आलोचना गर्दै गठबन्धनको अन्तरविरोधमा खेलेर सरकारमा किन घुसेको भन्दै प्रश्न सोधे र नैतिकता भए सरकारबाट बाहिरिन आग्रह गरे । ‘अनैतिक ढंगले गठबन्धनको अन्तरविरोधमा खेलेर र  संविधानको केही प्रावधानलाई ख्यालमा राखेर जबरजस्ती एमाले गठबन्धन भित्र घुसेको छ । यो गठबन्धनबाट बाहिरिएर नैतिकता प्रदर्शन गरोस् म उहाँहरुलाई आग्रह गर्न चाहन्छु,’ आङ्बोले भनेका थिए । प्रदेशसभा बाहिर आङ्बोले दिएको यो प्रतिक्रिया एमालेलाई आक्रोशित पार्ने खालको थियो भने प्रदेशसभाभित्र कार्कीले दिएको अभिव्यक्तिले आङ्बोलाई आक्रोशित पार्ने खालको थियो । 

प्रदेशसभा बाहिर फेरि प्रतिक्रिया दिँदै हिक्मत कार्कीले भने, ‘गठबन्धन यहाँ कहाँ छ । हामीले समर्थन गरेर सरकार बनाएको होइन ? हामीलाई कसैले निकाल्न सक्दैन, हामी बरु आफैँ निस्कन्छौँ । माओवादी सरकारमा आउने सम्भावना छैन,’ माओवादी नेता आङ्बोले नैतिकताका आधारमा सरकारबाट बाहिरी भनेको छ नि भन्ने प्रश्नमा कार्की जंगिए, ‘नेपाली जनताले नैतिकता सिकाउने हो । हामीलाई कुनै पार्टीले नैतिकता सिकाउने अधिकार नै राख्दैन ।’

दुई नेताको नोकझोंक मिलाउने जिम्मा भने अब नवनिर्वाचित मुख्यमन्त्री केदार कार्कीको रहेको छ । कार्कीले भने संचारकर्मीलाई संयम हुँदै सहमतीय सरकार बनाउने बताए । ‘अघिल्लो मुख्यमन्त्रीले पनि सहमतीय सरकारको प्रयास गर्नुभएको थियो । म पनि सहमतीय सरकारको प्रयास गर्छु । छिट्टै मन्त्रीमण्डल विस्तार हुन्छ । माओवादीसँग र अरु सबै दलसँग वार्ता गर्छौं । सबैको सहयोग लिएर सरकार अगाडि बढ्छ । सहमतीय सरकारका लागि अधिकतम प्रयास हुन्छ,’ मुख्यमन्त्री कार्कीले भने । 

माओवादीलाई सरकारमा सहभागी गराउनै हुँदैन भन्ने एमालेको अडान र एमालेलाई सरकारमा किन बसेको तुरुन्त निस्क भन्ने माओवादीलाई मिलाउने चुनौती मुख्यमन्त्री कार्कीलाई देखिन्छ । किनकि मुख्यमन्त्री कार्कीले बुधबार एमालेका ३९, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाका १ सांसदले विश्वासको मत दिएका छन् । दुईतिर फर्किएका दुई पार्टीलाई मिलाएर नगए आगामी दिनमा मुख्यमन्त्रीले पाएको विश्वासको भारीमत जस्तै अविश्वासको भारी पनि उनैले बोक्नुपर्ने  देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप