आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखराको ठुल्ढुङ्गामा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बुधबार, ०१ कात्तिक २०८०, २१ : ४५
बुधबार, ०१ कात्तिक २०८०

पोखरा । पोखरा महानगरपालिकाको ठुल्ढुङ्गामा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन गरिएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा र वडा नं.२२ को समन्वय तथा स्थानीय कृषकहरूको सक्रियतामा सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र अन्तरगत उत्पादित कृषिजन्य उपजहरूको सङ्कलनका लागि सो केन्द्र सञ्चालनमा ल्याइएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस प्रकारका सङ्कलन केन्द्रहरू मार्फत उत्पादक र उपभोक्ताहरू प्रत्यक्ष रूपमा जोडिने र स्थानीय उत्पादनको सहज बजारीकरणमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘पोखरा महानगरपालिका कृषकहरूको उत्पादन खेर नजाओस् र उचित बजार मूल्य प्राप्त गर्न सकोस् भन्नेमा चिन्तित छ,’ प्रमुख आचार्यले भने, ‘महानगरपालिकाले कृषक दाजुभाइ दिदीबहिनीहरूको मिहिनेतले उत्पादित वस्तुको बजारीकरणका लागि समर्थन मूल्य समेत प्रदान गर्दै आइरहेको छ ।’ कृषकहरूलाई प्रदान गरिने समर्थन मूल्यले उनीहरूलाई हौसला मिलेको उनले बताए । 

महानगरपालिकाका दर्जनौँ स्थानहरूमा कृषि उपज सङ्कलन केन्द्रहरू स्थापना गरी सञ्चालनमा ल्याइएको बताउँदै उनले गुणस्तरीय उत्पादनमा जोड दिए । महानगरपालिकामा तरकारीजन्य वस्तुहरूको आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनाउने र निर्यात समेत गर्ने गरी उत्पादनमा लाग्नु पर्ने अवस्था रहेको उनले बताए । पोखरा काँक्रो लगायत कतिपय कृषिजन्य उत्पादनमा आत्मनिर्भर भैसकेको बताउँदै प्रमुख आचार्यले अव बिस्तारै अन्य तरकारी तथा मासुजन्य बस्तुहरूमा पनि आत्मनिर्भर हुने अवस्था सृजना गर्नुपर्ने बताए । 

वडा नं.२२ का वडा अध्यक्ष हिमलाल बरालले वडालाई तरकारीको पकेट क्षेत्र घोषणा गरी लागु गरिएका कार्यक्रमहरू निकै प्रभावकारी भइरहेको बताए । 

आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरपालिकाको अधिकांश क्षेत्र निकै उर्वर रहेको बताए । 

कृषकहरूको उत्पादनलाई सहज तथा सुरक्षित ढुवानीका लागि महानगरपालिकाको तर्फबाट चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ । कृषकहरूको खेतबारीमा पुगेर कृषि उपजको सङ्कलन तथा सुरक्षित ढुवानी कृषि एम्बुलेन्स मार्फत भइरहेको कडरियाले जिकिर गरे । त्यस क्षेत्रका कृषकहरूले भने ग्रामीण क्षेत्रमा बाँदर लगायतको समस्या रहेकाले यसको समाधानका लागि उचित व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप