आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

प्रचण्डको आक्रामक अभिव्यक्ति : बढ्दै छ सत्ता संकट ?

'शीर्ष नेताहरूको नियन्त्रणमा दलका नेता तथा कार्यकर्ता नरहेको सन्देश गयो'
बिहीबार, ०२ कात्तिक २०८०, ११ : १७
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । सरकार गठन प्रक्रियालाई लिएर कोशी प्रदेशमा सत्ता गठबन्धन दल नेपाली कांग्रेसका ८ सांसदले विद्रोह गरी नेकपा एमालेसँग समीकरण बनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रासपूर्ण अभिव्यक्ति दिएका छन् ।

अभिव्यक्तिकै कारण पटकपटक विवादमा तानिएका उनले गत सोमबार कांग्रेस र एमालेलाई लक्षित गरी आक्रामक अभिव्यक्ति दिए । सुदूरपश्चिमको धनगढीमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले कोशीको सत्ता समीकरणलाई लिएर तीब्र असन्तुष्टि पोखे ।

प्रचण्डको बोली सत्ता सहयात्री दल कांग्रेस, विपक्षी दल एमालेलाई तर्साउने खालको थियो । सत्ता सहयात्री दलहरूमाथि नै प्रधानमन्त्रीको चेतावनी र लान्छना युक्त अभिव्यक्ति आउनुले सरकार संकटमा रहेको प्रस्ट हुने विश्लेषकहरु बताउँछन् ।

कांग्रेसको टेकोमा प्रधानमन्त्रीको निरन्तरता पाएका उनी कांग्रेसकै संस्थापन इतरपक्षको गतिविधिलाई लिएर पछिल्लो समय सशंकित छन् । वर्तमान सरकारको विकल्पमा एमालेसँग लबिङ गरिरहेका शेखर समूहले कोशीमा विद्रोह गरेपछि सरकार ढल्ने त्रासका कारण प्रचण्डको मुखबाट यस्ता अभिव्यक्ति आएको हुनसक्ने प्राध्यापक लोकराज बरालको ठम्याइ छ । कुनै पनि पार्टीको स्पष्ट बहुमत नहुँदा सत्ता संकट देखिनु स्वाभाविक भएको उनले बताए ।

‘कुनै पार्टीको बहुमत छैन । ५/६ वटा दल मिलेर सरकार बनाएका छन् । त्यसैले सत्तामा खटपट आउनु स्वाभाविक हो । तर कोशीमा फरक दृश्य देखियो । कांग्रेसभित्र शेखर पक्षले विद्रोह गरी एमालेसँग मिलेर सरकार बनाउनु पार्टी नीतिविपरीत भए पनि थामथुम पार्ने प्रवृत्ति हुँदो रहेछ’, प्राध्यापक बरालले भने ।

पछिल्लो समय देशको विभिन्न ठाउँमा भएका सामाजिक तथा धार्मिक सद्भाव भड्किने खालको आन्दोलनप्रति लक्षित गर्दै प्रचण्डले अभिव्यक्ति दिएका थिए । व्यवस्था उल्ट्याउन प्रतिक्रियावादी शक्तिहरूले टाउको उठाउन चलखेल गरेको आरोप उनले लगाए । मुलुकको कार्यकारी हैसियतमा रहेर पनि उनले प्रधानमन्त्रीका रुपमा निर्वाह गर्नुपर्ने भूमिकालाई बिर्सिएर सडकमा लाखौँ जनता उतार्ने चेतावनी दिए । देशका ठुल्ठुला सहरमा जनपरिचालन गर्न मोर्चासम्बद्ध दलका नेता तथा कार्यकताहरूलाई उनले निर्देशनसमेत दिए ।

‘हुन त म देशको प्रधानमन्त्री हुँ । विद्रोही नेता पनि हुँ । प्रतिक्रियावादी शक्तिहरूले व्यवस्था उल्टाउन देशका विभिन्न ठाउँमा चलखेल गरिरहेका छन्’, राजावादी शक्तिमाथि लक्षित गर्दै प्रचण्डले भने, ‘ठुलो संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि लाखौँ जनता सडकमा आउन जरुरी छ । छिट्टै मोर्चाको बैठक बसेर सडक संघर्षमा लाखौँ जनाता उतार्ने निर्णय गर्छौं ।’

यस्तै उनले सत्ता साझेदार दल कांग्रेसलाई नै झस्काउने खालको अभिव्यक्ति पनि दिए । सरकारले सुरू गरेको सुशासनको लडाइँ कांग्रेस र एमालेप्रति केन्द्रित रहेको उनको बोलीबाट प्रस्ट देखिन्थ्यो । सत्ता टिकाउनकै लागि रणनीतिक योजनासाथ भ्रष्टाचारको फाइल खोलेको उनको अभिव्यक्तिमा झल्किन्थ्यो ।

‘सरकारको नेतृत्व गर्न अहिले सजिलो छैन । विप्लवजी सरकार बाहिर रहेकाले बोल्ने स्वतन्त्रता छ । अलिअलि लड्ने स्वतन्त्रता छ । यहाँ भएका तीन दललाई त्यो छुट छैन ।  हामी मिल्दा सदनमा जम्मा ५४ सिट हुन्छ । कांग्रेस एक्लै झण्डै ९० को नजिक छ । एमाले एक्लै ८० को नजिक छ । अनि साथीहरू ठोक्नोस्, बेसरी ठोक्नोस् भन्नुहुन्छ । परिस्थिति त्यस्तो छ । मिलाएर ठोकेन भने आफैँतिर उल्टिने खतरा छ । यो कुरा पनि तपाईहरुले बुझ्न जरुरी छ । बडो मिलाइमिलाइ गइएको छ अगाडि’, उनले भने ।

यस्तै, प्रचण्डले कोशीको राजनीतिमा तीब्र चलखेल भएको भन्दै असन्तुष्टि व्यक्त गरे । कांग्रेस र एमालेभित्र देखिएको अन्तरविरोधमा खेलेर राजनीति सदुपयोग गर्न सकिने आशयको विचार उनले व्यक्त गरे ।

‘कोशीमा देखिहाल्नुभयो– दुई वटा गठबन्धन बन्यो । हाम्रो एउटा गठबन्धन, एमाले र कांग्रेसकै असन्तुष्ट पक्षको अर्को गठबन्धन । लाजमर्दो । यसलाई के गर्ने भनेर धेरै मेहनत गरियो, दुई दिनसम्म छलफल भएपश्चात अन्ततः देउवाजी, म र शेखरजी बसेर गठबन्धनलाई कमजोर पार्न दिइने छैनौँ भनेर कमिटमेन्टमा हस्ताक्षर ग¥यौँ’, एउटा चिर्कटोमा भएको हस्ताक्षरलाई लिएर उनले भने, ‘यति भएपछि अब ढुक्क भयो, एमालेले गरेको चलखेल त्यहीँ रोकियो भन्ठानेको त हिजो फेरि अर्को चलखेल भयो । विश्वासको मत लिनुअघि कांग्रेसको एकमात्र मन्त्री बनाउने भनेका थियौँ । फेरि एमालेको मन्त्री छिराइहालेछन् ।’

के होला सरकारको भविष्य ?

प्रचण्डले कोशीको राजनीति करेक्सन गर्न आफूहरु लागेको भन्दै ५ वर्ष यही गठबन्धनले निरन्तरता पाउने जिकिर गरेका छन् । उनले सरकार ढाल्न विभिन्न चलखेल गरे पनि त्यो सम्भव नभएको दाबी गरे ।

‘अहिले सरकार ढाल्न विभिन्न चलखेल भएका छन् । देशको विभिन्न ठाउँमा सांस्कृतिक तथा धार्मिक विद्वेष फैलाउने काम भइरहेको छ’, उनले  भने, ‘कोशीमा पनि चलखेल देखियो । यही गठबन्धन पाँच वर्ष टिक्छ । जसले गठबन्धन भत्काउने प्रयास गर्छ, उही अप्ठ्यारोमा पर्छ ।’

यसअघि पनि प्रचण्डका विवादास्पद अभिव्यक्ति नआएका होइन् । तेस्रो पटक प्रधानमन्त्री भएपश्चात आफ्नै विचारोत्तेजित भाषणका कारण सरकार पटक पटक संकटमा फसेको छ । बोलीकै कारण गठबन्धनका केही दल र विपक्षी दलहरूले उनको राजीनामा समेत मागेका थिए ।

यद्यपि सरकार परिवर्तनमा कांग्रेस संस्थापन पक्षको अरुचिका कारण अहिलेसम्म प्रचण्ड सरकार टिकिरहेको छ । वर्तमान सरकार बोक्नु पनि कांग्रेसका लागि बाध्यताजस्तै बनेको देखिन्छ । निर्वाचनपछि एकाएक संघ र प्रदेश सबैतिर सरकारबाट बाहिरिएको कांग्रेस बल्लतल्ल सत्तामा फर्किएको छ भने ऊ फेरि सत्ता गुमाउने पक्षमा देखिएको छैन । प्रचण्ड सरकार ढलेपछि संविधानको धारा ३ अन्तर्गत कांग्रेसकै नेतृत्वमा सरकार बन्ने अवसर हुँदाहुँदै पनि कांग्रेसका सभापति देउवा आश्वस्त हुन सकेका छैनन् । कांग्रेसले समर्थन फिर्ता लिए पनि कम्युनिस्टहरू मिलेर आफूलाई एक्ल्याउने डर देउवालाई देखिन्छ ।

विपक्षी एमाले जसरी भए पनि सरकार ढाल्ने पक्षमा उभिएको छ । प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य बनाउन एमालेले यसअघि विभिन्न रणनीति बनाएको थियो । तर सफल हुन सकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड सरकारको विकल्पमा कांग्रेससँग सहकार्य गर्न विभिन्न च्यानलबाट गरिएका छलफलले मूर्तरूप लिन सकेको छैन । गठबन्धन फुटाउने एमालेको पछिल्लो रणनीतिका रूपमा कोशीको सत्ता समीकरणलाई हेरिएको छ । शेखर समूहको विद्रोहबाट झस्किएका देउवा–प्रचण्डले गठबन्धन सरकार जोगाउन हतारमा चिर्कटोमा हस्ताक्षर गरेका थिए । सोही निर्णय बमोजिम कांग्रेसका विद्रोही मुख्यमन्त्री केदार कार्कीलाई विपक्षी एमालेसहित गठबन्धन दलहरूले समेत विश्वासको मत दिने निर्णय गरेका छन् ।

कोशीको राजनीतिक घटनाक्रमले केन्द्रीय गठबन्धनमा केही असर नपर्ने गठबन्धनका नेताहरूले स्पष्ट पारेका छन् । पूर्वप्रधानमन्त्री एवं समाजवादी मोर्चाका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन भत्काउन विभिन्न चलखेल भइरहे पनि गठबन्धन पाँच वर्ष टिक्ने जिकिर गरेका छन् ।

‘यो गठबन्धन ५ वर्षको लागि हामीले बनाएका छौँ, यसलाई भत्काउने अनेक कोसिस भइरहेका छन् । ती कुनै कोसिस सफल हुनेवाला छैनन् । यो गठबन्धनको सरकार एकताबद्ध भएर नै अघि बढ्नेछ’, नेपालले भने ।

तर अहिलेको सरकार एमालेको कारण नभइ आफ्नै कारणले ढल्ने पूर्वमन्त्री एवं एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जिकिर गरे । ‘सरकारले राम्रो काम गर्न सकेको छैन । सत्ता गठबन्धन भित्रै प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर तीब्र असन्तुष्टि छ । यो सरकारलाई एमालेले ढाल्नै पर्दैन । आफैँ ढल्छ’, उनले भने ।

'शीर्ष नेताहरूको नियन्त्रणमा दलका नेता तथा कार्यकर्ता नरहेको सन्देश गयो'

प्राध्यापक बरालका अनुसार कोशीको विद्रोहले शीर्ष नेताहरूको नियन्त्रणमा दलका नेता तथा कार्यकर्ता नरहेको सन्देश दिएको छ । ‘कोशीको विद्रोहको साथसाथै यो पटक नयाँ कुरा भएको छ । माथिबाट हाँकेर मात्रै हाकिँदैन रहेछ । ओलीजीले प्रदेशको धेरै ठाउँमा सर्वसम्मत बनाउन खोजे सकेनन् । मानिस विस्तारै विद्रोही हुँदै गएको देखियो । तर यसैबाट सम्पूर्ण परिवर्तन हुन्छ भन्न सकिँदैन’, बरालले भने ।

प्रचण्डले चाहेर पनि केही गर्ने क्षमता नभएको टिप्पणीसमेत बरालले गरे । विस्तारै जनतामा निराशा बढ्दै जाने र सरकार संकटमा फस्ने उनको बुझाइ छ । ‘प्रचण्डले चाहेर पनि केही गर्न सक्दैनन् । बहुमत नभइ केही हुँदैन । उनको क्षमता ह्रास हुँदै जान्छ । विस्तारै अप्रिय बढ्दै जान्छ । त्यसैलाई बाहना बनाएर कांग्रेसले २÷४ महिनापछि एमालेसँग मिलेर सरकार बनाउने सम्भावना छ’, उनले भने ।

उनले एमालेलाई सधैँभरि सत्ता राजनीतिबाट बाहिर राखेर राजनीतिक निकास ननिस्कने बताए । एमाले सत्ताबिना छटपट भइरहेको अवस्थामा सत्ता बाहिर राख्दा समस्या देखिने, अर्कोतिर देउवालाई पनि पार्टीभित्रबाट नै तीब्र दबाब भएकाले थेग्न नसक्ने अवस्था रहेको बरालले प्रतिक्रिया दिए । कांग्रेसभित्र देउवाको नेतृत्व पनि बिस्तारै कमजोर हुन थालेको र यसले समग्रमा राम्रो परिणाम आउने उनको बुझाइ छ ।

संसदमा ३२ सिटमा खुम्चिएका प्रचण्डले दुई ठूला दल कांग्रेस र एमालेलाई जिल्याउँदै २०७९ पुस ११ गते आफ्नै नेतृत्वमा सरकार बनाएका थिए । त्यतिबेला एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड तीन महिना नपुग्दै देउवा नेतृत्वको गठबन्धनमा फर्किएर सरकार जोगाएका थिए । वर्तमान सरकार गठन भएको कात्तिक ११ गते १० महिना पूरा हुँदैछ । माओवादी केन्द्रका ३२, नेपाली कांग्रेसका ८७, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जनता समाजवादी पार्टी (जसपा) नेपालका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका ४, नागरिक उन्मुक्ति पार्टीका ४, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र एक सांसदले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए । तीमध्ये रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसको छ । कांग्रेसभित्र संस्थापन इतरमा २५ जना सांसद छन् ।

केन्द्रीय समिति र संसदीय दलमा देउवा बहुमतमा भएकाले विद्रोह हुने सम्भावना देखिँदैन । यद्यपि संविधानको धारा ७६ को उपधारा ५ मा जाने अवस्था आएमा कोशीको नियति संघमा पनि दोहोरिन सक्ने विश्लेषकहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे
लेखकबाट थप