आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वासको मत लिएलगत्तै कोशीका मुख्यमन्त्री कार्की काठमाडौँमा

बिहीबार, ०२ कात्तिक २०८०, १२ : ५९
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । कोशी प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै कोशीका मुख्यमन्त्री केदार कार्की काठमाडौँ आएका छन् । बुधबार कोशी प्रदेशसभा बैठकमा विश्वासको मत लिएलगत्तै सोही दिन साँझ कार्की काठमाडौँ आएका हुन् ।

काठमाडौँ ओर्लेपछि कार्कीे कांग्रेसका शीर्ष नेताहरुसँग भेटघाट र संवादमा जुटेका छन् । उनले बिहीबार नै कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालालाई भेटेर कोशीको अवस्थाबारे जानकारी गराइसकेका छन् । 

नयाँ समिकरणअनुसार मुख्यमन्त्री बनेका कार्की सरकार विस्तारबारे दबाबमा छन् । सुरुमै एमालेका एक मन्त्री नियुक्त गरेका कार्कीलाई केन्द्रीय सत्ता गठबन्धनले एमालेलाई सरकारमा सहभागी गराएकोमा रुचाएको छैन । बुधबार नै कोशी माओवादी संसदीय दलका नेता इन्द्र आङबोले एमाले सरकारबाट बाहिरिनुपर्ने भनेर दिएको अभिव्यक्तिबाटै पनि कोशीमा एमाले बाहेकको सरकार बनाउनुपर्छ भन्ने गठबन्धनको धारणा हो भन्ने बुझ्न सकिन्छ । 

एमाले कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले दसैँ अघि नै कोशी प्रदेश सरकार विस्तार गर्ने सहमति भएको बताए ।  ‘शुक्रबार मन्त्रिमण्डल विस्तार गरेर सफत समेत गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो’, एमाले नेता कार्कीले भने, ‘तर खै किन हो उहाँ (मुख्यमन्त्री) काठमाडौँ जानुभएछ ।’

संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार नियुक्त मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ८६ मत र विपक्षमा ५ मत परेको थियो ।  कार्कीलाई नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ सांसदले मत दिएका थिए । राप्रपाका १ सांसद भने मतदानमा अनुपस्थित रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप