आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषदमा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीको ‘ब्रिफिङ’

बिहीबार, ०२ कात्तिक २०८०, १३ : ४१
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गरेका छन् । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गराइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

चीनमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई गएराति सामान्य प्रकारको हृदयाघात भएको थियो । प्रधानमन्त्री प्रचण्डले उनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कजेजमा उपचार भइरहेको जानकारी गराएको मन्त्री शर्माले बताइन् । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको मन्त्री शर्माले जानकारी दिइन् । 

“प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे चीनका लागि नेपाली राजदूतसँग जानकारी लिइराखेका छन् । उपचारका क्रममा केही दिन उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा नै रहने जानकारी आएको छ”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री शर्माले भनिन् ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय मानवअधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बैठकमा नेपाल र इजिप्टबीचको युवा तथा खेलकुदसम्बन्धी समझदारीपत्र स्वीकृत गरी सो समझदारी पत्रमा समकक्षी मिलाइ हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालय तथा नेपाल र कतारबीच हुने सञ्चारसम्बन्धी समझदारी स्वीकृति गर्ने र उक्त समझदारी पत्रमा समकक्षी मिलाइ हस्ताक्षर गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अख्तियारी दिइएको मन्त्री शर्माले जानकारी दिइन् ।

बैठकले नजिकिएको चाडपर्व दसैँ, तिहार, नेपाल संवत्, छठलगायत राष्ट्रिय पर्वका अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप