आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बंगलादेशले भारतलाई दियो जितका लागि २५७ रनको लक्ष्य

मङ्गलबार, ०७ कात्तिक २०८०, १८ : २०
मङ्गलबार, ०७ कात्तिक २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको बिहीबारको खेलमा बंगलादेशले आयोजक राष्ट्र भारतलाई जितका लागि २५७ रनको लक्ष्य दिएको छ । पुणेमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको बंगलादेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ५६ रन बनायो ।

बंगलादेशले पालीको गतिलो सुरुआत गरेको थियो । तान्जिद हसन र लिट्टन दासले ओपनिङ विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । पहिलो विकेटका रुपमा पेभेलियन फर्किएका तान्जिद हसनले ५१ रन बनाए । 

प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका तान्जिद हसनले केवल ४३ बलको सामना गरी तीन छक्का र पाँच चौका हिर्काएका थिए । अर्का ओपनर लिट्टन दासले पनि टोलीका लागि ६६ रनको योगदान गरे । उनले ८२ बलमा सात चौका पनि हिर्काए । 

तेस्रो नम्बरका ब्याट्सम्यान नजमुल होसेन सान्तो आठ रन बनाउँदै पेभेलियन फर्किए भने मेहिदी हसन मिराज पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान मुसफिकर रहिमले ३८ रन बनाए । छैठौँ नम्बरमा क्रिज समाल्न आएका उनले ४६ बलको सामना गरी एक छक्का र एक चौका हिर्काए ।

मोहम्मद मोहमदुल्लाहले पनि टोलीको खातामा ४६ रनको योगदान गरे । सातौँ नम्बरमा ब्याटिङ गर्न आएका उनले ३६ बलको सामना गरी तीन छक्का र तीन चौका हिर्काए । नसुम अहमद १४ रन बनाउँदै आउट भए । 

भारतीय टोलीका बलर रविन्द्र जडेजा, मोहम्मद सिराज र जसप्रित बुमराहले दुई—दुई विकेट लिए । सार्दुल ठाकुर र कुलदिप यादबले पनि एक—एक विकेट हात पारे । जारी विश्वकपमा भारत र बंगलादेशले चौथो खेल खेलेका हुन् । 

भारतले हालसम्म खेलेको तीनवटै खेलमा जित हासिल गरेको छ । बंगलादेशले भने एक जित र दुई हारको नतिजा निकालेको छ । भारतका अतिरिक्त आफूले खेलेका सबै खेल जित्ने एकमात्र राष्ट्र न्युजिल्यान्डमात्र हो । न्युजिल्यान्डले खेलेको चारवटै खेलमा जित हासिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप