आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गण्डकीमा चाडपर्व सुरक्षा योजना : सबै जिल्लामा ‘क्यूआरटी’

मङ्गलबार, ०७ कात्तिक २०८०, २० : ०३
मङ्गलबार, ०७ कात्तिक २०८०

पोखरा । गण्डकी प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना निर्माण गरेको छ । दसैँ, तिहार, छठ र ल्होसारसम्मका लागि ५ हजार ८८३ प्रहरीलाई विशेष रुपमा खटाइने प्रदेश प्रहरी कार्यालयका एसपी विनोद शर्माले जानकारी दिए ।

उनका अनुसार दसैँमा ७८१ जना प्रहरीलाई बिदा दिइएको छ । ‘अनिवार्य बाहेक अरुलाई बिदा दिएका छैनौँ । बढीभन्दा बढी प्रहरीलाई जनसेवामा खटाएका छौँ,’ शर्माले भने ।

प्रदेशभरि हाल ६ हजार ६ सय ६४ जना प्रहरी कार्यरत छन् । चाडपर्वलाई लक्षित गरेर १ हजार २९२ ठाउँमा प्रहरी खटाइएको र सहरको तुलनामा ग्रामीण क्षेत्रमा बढी प्रहरी परिचालन भएको शर्माले बताए ।

ग्रामीण सडकमा क्षमताभन्दा बढी यात्री राखेर गाडी चलाउन सक्ने सम्भावनालाई हेरेर छड्के गस्ती खटाएको पनि उनले जानकारी दिए । ‘ग्रामीण रुटमा स्टेसनमा मान्छे चढाउँदैनन् । प्रहरीको आँखा छल्न चौकी र प्रहरी बस्ने ठाउँमा झारेर पर पठाउँछन् । प्रहरी बस्ने ठाउँ कटेपछि चढाएर लैजान्छन्,’ उनले भने, ‘प्रहरीभन्दा ४ सय गुना बाठा हुन्छन् गाडीका चालकहरु । यस्तोमा पनि हामी झुक्याएर चेकजाँच गर्न लागेका छौँ ।’

समवेदनशील ठाउँहरुमा प्रोफेसनल स्टाण्डर्ड युनिट खटाउने प्रहरीले जनाएको छ । ४८ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको तथा भाडादर निरीक्षणका लागि ४१ वटा टोली खटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लोकमार्गको सवारी आवागमनलाई सहज बनाउन ५१ ठाउँमा नियमित चेकजाँच गरिएको छ भने राजमार्गमा हुने लुटपाटबाट जोगाउन सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ । ‘बसमा सिभिल पुलिस हुन्छ । कसैले शंकास्पद हर्कत गर्यो भने निगरानी बढाउने र गल्ती गरेको भेटिए च्याप्पै समातेर कारबाही गर्छौं,’ शर्माले भने, ‘पोखराबाट विभिन्न जिल्लामा छुट्ने बसहरुमा त्यस्ता प्रहरी हुन्छन् ।’

सवारी साधनको गति चेकजाँच गर्न छुट्टै २८ ठाउँमा प्रहरीको टोली खटिएका छन् । प्राकृतिक र मानवीय कारणले राजमार्ग अवरुद्ध भए तत्काल खोल्नका लागि १२ वटा ‘क्यूआरटी’ (क्वीक रेस्पोन्स टीम) खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप