आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
व्यापारमा मन्दी

दसैँमा पनि उत्साहित छैनन् वीरेन्द्रनगरका व्यापारी

‘पहिला दसैँमा खाजा खानेसमेत फुर्सद हुन्थेन, अहिले ग्राहक कतिबेला आउँछन् भनेर कुर्नुपर्ने अवस्था छ’
बुधबार, ०८ कात्तिक २०८०, १२ : ४६
बुधबार, ०८ कात्तिक २०८०

सुर्खेत । वीरेन्द्रनगरको वीरेन्द्र चोककी भगवती सापकोटालाई दसैँको बेला भ्याइ नभ्याइ हुन्थ्यो । उनको पसलमा जुत्ता, चप्पलदेखि कपडा किन्नेहरुको भिड थामिनसक्नुको हुन्थ्यो । तर, यो पटकको दसैँमा भने खासै व्यापार हुन सकेन ।

‘अघिल्लो दसैँको बेलामा खाजा खानसमेत फुर्सद हुन्थेन,’ सापकोटाले रातोपाटीसँग भनिन्, ‘अहिले त केही व्यापार छैन । चाडबाडमा त दैनिक २०–३० हजारसम्मको व्यापार होस् न, यो पटक त्यस्तो केही छैन ।’

गत वर्षको तुलनामा यो पटक व्यापारमा करिब ३०–४० प्रतिशतले गिरावट आएको उनको भनाइ छ । उनीमात्र होइन, प्रदेश राजधानी वीरेन्द्रनगरका अधिकांश व्यापारी यो पटकको दसैँमा उत्साहित छैनन् ।

कस्मेटिक पसल, भाँडा पसल, पूजाका सामान बिक्री गर्नेदेखि ठेला व्यापारीहरु समेत विगतका दसैँको तुलनामा व्यापार घटेको बताउँछन् ।

गणेश चोक नजिकै रहेको कस्मेटिक पसलका सञ्चालक ज्वाला खान पोखरेल विगतको तुलनामा ५० प्रतिशतले व्यापारमा कमी आएको दाबी गर्छिन् । उनले यही ठाउँमा कस्मेटिक पसल गरेको ३ वर्ष भयो । ‘हुन त ग्राहकसँग पनि पैसा नभएर होला, विगतजस्तो भिडभाड नै छैन,’ उनले भनिन्, ‘दसैँ सुरु हुने दिनदेखि पसलहरु भरिभराउ हुन्थे, बजार निकै व्यस्त हुन्थ्यो । अहिले त्यस्तो केही छैन । फाट्टफुट्ट मात्रै ग्राहक आउँछन् ।’

दसैँ भन्ने बित्तिकै पूजाआजासँग पनि जोडिन्छ । तर, पूजाआजाका सामान बेच्ने व्यापारी पनि दसैँमा व्यापार नभएपछि चिन्तित छन् ।

IMG_20231018_165759_994

व्यवसायी बेञ्जु थापाले व्यापार गर्न थालेको वर्षौं भइसक्यो । तर, यो पटकको जस्तो कमजोर व्यापार यसअघि कहिल्यै नभएको उनको भनाइ छ ।

अन्य समयभन्दा दसैँ–तिहार व्यापारका दृष्टिकोणले मुख्य सिजन हो । तर, यो पटक पूरै सुक्खा रहेको थापा बताउँछिन् । ‘मेरो अनुमानमा ३० प्रतिशतले व्यापारमा कमी आएको छ,’ उनले भनिन्, ‘जमरा राख्ने दिनदेखि निकै भिडभाड हुन्थ्यो, यो पटक ग्राहक कतिबेला आउँछन् भनेर बाटो कुर्नुपर्ने बाध्यता छ ।’

केही कपडा पसलमा भने मान्छेको भिड लाग्ने गरेको देखिन्छ । तर, त्यो पनि अघिल्ला दसैँको तुलनामा निकै कम रहेको वीरेन्द्रनगरका व्यवसायी बताउँछन् ।

कपडा व्यवसायी मुना सिद्दिकी विगतजस्तो व्यापार नभको बताउँछिन् । यो दसैँमा व्यापार सन्तोषजनक मात्रै रहेको उनको भनाइ छ ।

वीरेन्द्रनगरका अधिकांश पसल सञ्चालकहरु दसैँजस्तो पर्वमा समेत उत्साहित छैनन् ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल विगतभन्दा यो पटक व्यापार व्यवसायमा ठुलो मात्रामा गिरावट आएको बताउँछन् । उनका अनुसार अटो मोबाइल र निर्माण सामग्री विक्री वितरणमा ८० प्रतिशत गिरावट आएको छ । अन्य व्यवसायमा ६० देखि ४० प्रतिशतसम्म गिरावट आएको उनको भनाइ छ ।

‘व्यवसायीहरु उत्साहित छैनन्,’ उनले भने, ‘राष्ट्र बैंकले नै देशमा डलर सञ्चिती सकियो भनेर आर्थिक मन्दी ल्यायो ।’ बैंकहरुलाई छाडा रुपमा छोड्नुकै कारण व्यापार, व्यवसायमा असर परेको कँडेलको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप