आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

मार्स र वार्नरको कीर्तिमानी साझेदारीपछि पाकिस्तानले पायो ३ सय ६८ रनको लक्ष्य

बुधबार, ०८ कात्तिक २०८०, १८ : ०६
बुधबार, ०८ कात्तिक २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शुक्रबारको खेलमा अस्ट्रेलियन टोलीका ओपनर ब्याट्सम्यान डेभिड वार्नर र मिचेल मार्सले कीर्तिमान पाली खेलेपछि पाकिस्तानले जितका लागि तीन सय ६८ रनको लक्ष्य पाएको छ । 

बेंगलौरस्थित एम. चिन्नास्वामी स्टेडिमयमा खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ओभरमा नौ विकेट गुमाएर तीन सय ६७ रन बनाएको हो । वार्नर र मार्सले ओपनिङ विकेटका लागि कीर्तिमानी साझेदारी गरे ।

मार्स र वार्नरले ओपनिङ विकेटका लागि दुई सय ५९ रनको साझेदारी गरेका हुन् । अस्ट्रेलियाले एकदिवसीय विश्वकपमा ओपनिङ विकेटका लागि गरेको यो सबैभन्दा ठुलो साझेदारी हो । यसअघि अस्ट्रेलियाले विश्वकपमा ओपनिङ विकेटका लागि एक सय ८३ रनको साझेदारी गरेको थियो । 

सन् २०११ को विश्वकपमा क्यानडाविरुद्ध अस्ट्रेलियाका शेन वाट्सन र ब्राड ह्याडिनले ओपनिङ विकेटका लागि एक सय ८३ रनको साझेदारी गरेका थिए । त्यो खेलमा वाट्सनले ९४ र ह्याडिनले ८८ रन बनाएका थिए । संयोगले त्यो खेल पनि भारतको यही स्टेडियममा खेलिएको थियो । 

यसैगरी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले कुनै पनि विकेटका लागि गरेको यो दोस्रो ठुलो साझेदारी पनि हो । विश्वकपमा अस्ट्रेलियाको सबैभन्दा ठुलो सझेदारी दुई सय ६० रन हो । सन् २०१५ को विश्वकपमा अफगानिस्तानविरुद्ध अस्ट्रेलियाले दोस्रो विकेटका लागि दुई सय ६० रनको साझेदारी गरेको थियो । त्यतिबेला अस्ट्रेलियाका लागि ओपनर ब्याट्सम्यान डेभिड वार्नरले एक सय ७८ र तेस्रो नम्बरका ब्याट्सम्यान स्टिभन स्मिथले ९५ रन बनाएका थिए । 

विश्वकपको इतिहासमा ओपनिङ विकेटका लागि भएको सबैभन्दा ठुलो साझेदारी भने दुई सय ८२ रन हो । त्यो साझेदारी सन् २०११ को विश्वकपमा जिम्बाबेविरुद्ध श्रीलंकाली टोलीका ओपनर ब्याट्सम्यान उपुल थारंगा र तिरकरत्ने दिल्सानले गरेका थिए । त्यो खेलमा थारंगाले एक सय ३३ र दिल्सानले एक सय ४४ रन बनाएका थिए ।  

जारी विश्वकपको पाकिस्तानविरुद्धको खेलमा वार्नर र मार्स दुवैले शतकीय पाली खेले । वार्नरले एक सय ६३ रनको उत्कृष्ट पाली खेले । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल एक सय २४ बलको सामना गरी नौ छक्का र १४ चौका प्रहार गरेका थिए । एकदिवसीय क्रिकेटमा उनले २१औँ शतक प्रहार गरेका हुन् । 

मार्सले पनि टोलीका लागि एक सय २१ रनको योगदान गरे । उनले एक सय आठ बलको सामना गरी नौ छक्का र १० वटा चौका हिर्काएका थिए । उनले पहिलो विकेटका रूपमा पेभेलियन फर्किएका थिए । उनले एकदिवसीय क्रिकेटमा दोस्रो शतक प्रहार गरेका हुन् । 

तेस्रो नम्बरमा क्रिज समाल्न आएका ग्लेन म्याक्सवेल भने शून्य रनमै पेभेलियन फर्किए । स्टिभन स्मिथ पनि सात रनभन्दा अगाडि बढ्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान जोस इङ्लिसले १३ रन जोडे । मार्कस स्टोइनिसले २१ र मार्नस लाम्बुसेनले आठ रन बनाए ।

अस्ट्रेलियाले अतिरिक्त रूपमा २५ रन पाएको थियो । प्रारम्भमा पाकिस्तानी टोलीका बलरहरू खासै प्रभावकारी देखिएनन् । तर, दुवै ओपनर आउट भएपछि भने खेलमा पाकिस्तानी बलरहरू हाबी भएका थिए । साहिन शाह अफरिदीले पाँच विकेट लिए । ह्यारिस रउफले तीन विकेट हात पारे । उसमा मिरले एक विकेट लिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप