आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
त्रिकोणात्मक टी-२० शृंखला

नेपालको लगातार तेस्रो जित, हङकङ ७९ रनले पराजित

बिहीबार, ०९ कात्तिक २०८०, १४ : ३७
बिहीबार, ०९ कात्तिक २०८०

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । नेपालले शनिवार खेलिएको आफ्नो तेस्रो खेलमा हङकङलाई ७९ रनले हराएको हो । टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय १३ रनको विशाल योगफल तयार पारेको थियो । 

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा ठुलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली हङकङले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३४ रनमात्र बनाउन सक्यो । जारी प्रतियोगितामा नेपालको यो तेस्रो जित हो भने हङकङको दोस्रो हार । 

यसअघि नेपालले आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गरेको थियो । त्यसपछि नेपालले आफ्नो दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । निकट भविष्यमा आयोजना हुने टी—२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा त्रिकोणात्मक शृंखला खेलिएको हो । 

हङकङविरुद्धको खेलपछि टी—२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालका कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी विश्व कीर्तिमानी ब्याट्सम्यान बनेका छन् । हङकङविरुद्धको खेलमा कुशल र दीपेन्द्रले पाँचौँ विकेटका लागि एक सय ४५ रनको साझेदारी गरेका थिए । यो टी—२० क्रिकेटमा पाँचौँ विकेटका लागि सबैभन्दा ठुलो साझेदारी हो । 

यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौँ विकेटका लागि न्युजिल्यान्डमा मार्क च्याम्पम्यान र जेम्स निसामले एक सय २१ रनको साझेदारी गरेका थिए । सन् २०२३ को अप्रिल २४ तारिखमा खेलिएको पाकिस्तानविरुद्धको खेलमा मार्क र जेम्सले पाँचौँ विकेटका लागि अविजित एक सय २१ रनको साझेदारी गरेका थिए । त्यो खेलमा मार्कले अविजित एक सय चार र जेम्सले अविजित ४५ रन बनाएका थिए । 

मुलपानीमा शनिवार विशाल विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको हङकङका ब्याट्सम्यानहरु सुरुदेखि नै नेपाली बलरको दबाबमा परेका थिए । हङकङले आफ्ना दुबै ओपनर ब्याट्सम्यानलाई सस्तैमा गुमाएको थियो । ओपनर मार्टिन कोएट्जी शून्य रनमै पेभेलियन फर्किए भने अर्का ओपनर निजाकत खान पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । निजाकत टोलीका कप्तान पनि हुन् । 

त्यसपछि तेस्रो नम्बरमा क्रिज समाल्न आएका अन्सी राथले टोलीको खातामा ४५ रन थपे । उनले ४२ बलको सामना गरी ६ चौका हिर्काएका थिए । चौथो नम्बरका ब्याट्सम्यान बाबर हायातले पनि टोलीको खातामा २० रन थपे । उनले १५ बलमा तीन चौका हिर्काए ।

यसैगरी हङकङका पाँचौँ नम्बरका ब्याट्सम्यान ईजाज खानले टोलीका लागि २५ रनको योगदान गरेका थिए । हङकङका अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

नेपाली टोलीका बलर करण केसीले दुई विकेट लिए । उनले पहिलो ओभरको दोस्रो बलमै हङकङका मार्टिनलाई बोल्ड गरेका थिए । सोमपाल कामीले पनि दुई विकेट लिए । ललित राजवंशीले पनि दुई विकेट हात पारे । दीपेन्द्रसिंह ऐरी र प्रतिश जीसीले एक—एक विकेट लिए । 

त्यसअघि टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो । नेपालको पहिलो विकेटका रूपमा ओपनर कुशल भुर्तेल दुई रन बनाउँदै पेभेलियन फर्किएका थिए । दोस्रो ओभरको पहिलो बलमा उनी आउट हुँदा नेपालले नौ रन बनाएको थियो । कुशललाई हङकङका बलर हारुन हर्सदले एलबीडब्लूको धरापमा पारेका थिए ।

नेपालले दोस्रो विकेटका रूपमा सोमपाल कामीलाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका सोमपाल १२ बलमा एक चौकाको मद्दतले आठ रन बनाउँदै आउट भएका थिए । उनलाई हङकङका बलर इजाज खानले बाबर हायातद्वारा क्याच गराएका थिए । सोमपाल आउट हुँदा नेपालले ४.१ ओभरमा २६ रन बनाएको थियो । 

यसैगरी नेपालले तेस्रो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ १३ बलमा चार चौकाको मद्दतले २० रन बनाउँदै पेभेलियन फर्किएका थिए । हङकङका बलर आयुष शुक्लाले आफ्नै बलिङमा आफैले उनको क्याच लिएका थिए । आसिफ आउट हुँदा नेपालले ६ ओभरमा ४० रन बनाएको थियो ।  

नेपालले चौथो विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । रोहित १६ बलमा एक चौकाको मद्दतले ११ रन बनाउँदै आउट भएका थिए । उनलाई हङकङका बलर मोहम्मद घाजनफरले बोल्ड गरेका थिए । रोहित आउट हुँदा नेपालले ८.१ ओभरमा ५५ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप