मधेस केन्द्रित दलले यसरी सदुपयोग गर्दैछन् चाडपर्वको बिदा
काठमाडौँ । मधेस केन्द्रित दलहरूले दसैँ, तिहार र छठ पर्वको मौका पारेर संगठन विस्तारमा जोड दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका दलले चाडपर्वको समयलाई सदुपयोग गर्दै तराई मधेसमा आफ्नो संगठन विस्तारको कामलाई तीव्रता दिएका छन् ।
पहाडी क्षेत्रमा चाडपर्वका अवसरमा मानिसहरू आ–आफ्नो घर–परिवारमै सीमित रहने गर्दछन् । तर तराई मधेसमा भने गाउँ–टोलस्तरमा मानिसहरूको चहलपहल अत्यधिक हुन्छ । विभिन्न भेला तथा सामूहिक कार्यक्रम भइरहेका हुन्छन् ।
तराई मधेसमा पर्व अनुसार ठाउँठाउँमा मूर्ति बनाएर मेला लगाएका हुन्छन् । विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिन्छ । जसले गर्दा मान्छेको भिडभाड र चहलपहल अत्यधिक हुने गर्दछ । यही परिस्थितिको फाइदा उठाउँदै राजनीतिक दलहरूले संगठन विस्तारमा ध्यान केन्द्रित गर्दछन् ।
जसपाले तीन महिने अभियान सञ्चालन गरेको छ, जो दसैँ, तिहार र छठसम्म जारी रहन्छ । त्यस्तै, जनमत पार्टीले चाडपर्वको मौका पारेर आफ्ना नेता तथा कार्यकर्तालाई परिचालन गरेको छ ।
जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले पनि चाडपर्वको अवसरमा दलहरूले गाउँगाउँ, टोलटोल र सहरहरूमा चियापान कार्यक्रम आयोजना गरी सामाजिक सम्बन्ध बढाउनका साथै संगठन विस्तारको काम गर्ने बताए ।
आफ्नो पार्टीले सञ्चालन गरेको तीन महिने अभियान कात्तिक मसान्तसम्म चल्ने बताउँदै उनले यो अभियानलाई चाडपर्वका अवसरमा झन् तीव्र बनाउने जानकारी दिए । ‘दसैँ–तिहारमा लामो बिदा हुन्छ, बाहिर रहेका पार्टीका कतिपय सदस्य चाडपर्व मनाउन आफ्नो घरमा आएका हुन्छन् । ती सबैसँग भेटघाट गरी अभियानलाई अझै तीव्र बनाउने योजना छ,’ उनले भने ।
चाडपर्वको बिदालाई आफ्नो पार्टीले मात्र नभएर सबै पार्टीले गर्ने गरेको सुमन बताउँछन् । उनी भन्छन्, ‘चाडपर्वमा गाउँघरतिर पार्टीहरूको आफ्नै चहलपहल हुन्छ, नेताहरूको भेटघाट पनि बाक्लिएको हुन्छ, जसले गर्दा संगठन निर्माणमा सहयोग पुग्ने गरेको छ ।’
जनमत पार्टीले जिल्लास्तरीय तथा वडास्तरीय चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिसकेको छ । उसले गाउँगाउँ, घरघर पुगेर भेटघाट कार्यक्रमलाई तीव्रता दिएको छ । आवश्यकता अनुसार कार्यक्रमहरू गर्ने, पार्टी प्रवेश गराउनेदेखि लिएर समितिहरू बनाउने योजना जनमतले बनाएको छ ।
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले चाडपर्वको यो लामो बिदालाई आफ्नो पार्टीले भरपुर सदुपयोग गर्ने योजना बनाएको बताए । असोज २७ गते जिल्लास्तरीय र २९ गते वडास्तरीय शुभकामना आदानप्रदान कार्यक्रम आफ्नो पार्टीले सम्पन्न गरिसकेको बताउँदै उनले अब गाउँगाउँ पुगेर भेटघाट गर्ने र आवश्यकता अनुसार कार्यक्रम गरी विभिन्न समिति बनाउने योजना रहेको बताए ।
तराई मधेसमा विभिन्न ठाउँमा मूर्ति बनाएर मेला आयोजना गरेका हुन्छन्, त्यस्ता मेला तथा कार्यक्रमहरुमा पार्टीका युवा तथा विद्यार्थी नेताहरूले सघाउने, त्यसलाई सफलतापूर्वक सम्पन्न गराउने र अवस्था अनुसार समितिहरू बनाउने उनको भनाइ छ ।
त्यस्तै लोसपाले पनि चाडपर्वको मौका पारेर आफ्ना नेता तथा कार्यकर्तालाई गाउँगाउँ पठाएको छ । चाडपर्वको अवसरमा कार्यक्रम गर्ने, भेटघाट गर्ने संगठनलाई सुदृढ गर्ने, समितिहरू बनाउने योजना लोसपाको छ ।
चाडपर्वमा बिदा मनाउन आआफ्नो घर पुगेको मौका पारेर दलका नेताहरूले संगठन विस्तार तथा सुदृढीकरणको काम गर्ने बताइएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलका अनुसार चाडपर्व भनेको एउटा उत्सव हो, यसमा पुराना इष्टमित्रहरूसँग भेटघाट हुन्छ, जसले आत्मीयता बढाइरहेको हुन्छ र स्वाभाविक रूपमा राजनीतिक दलले त्यसलाई मौकाका रूपमा लिएर संगठनका लागि सदुपयोग गर्ने गर्दछन् ।
उनले भने, ‘हाम्रा पार्टीका अध्यक्षजीले सबै नेतालाई आ–आफ्नो जिल्ला तथा गाउँमा गएर संगठनका काम गर्न निर्देशन नै दिनुभएको छ ।’
यो चाडपर्वलाई संगठन निर्माण र सुदृढीकरणका लागि प्रयोग गर्ने उनले प्रस्ट पारे । उनले भने, ‘त्यसबाहेक यसलाई कसरी भव्य र सभ्य तरिकाले मनाउने र आफ्नो रीतिरिवाजलाई बचाउने भन्ने दिशामा पनि काम गर्छौैं ।’
तराई मधेसमा नवरात्रि तथा दुर्गा पूजाको अवसरमा मन्दिरमा पूजापाठ तथा मेला लागेका हुन्छन् । त्यहाँ विभिन्न व्यक्तिसँग भेटघाट हुनका साथै सामाजिक तथा राजनीतिक कुराकानी हुन्छन् । त्यसको फाइदा दलहरूले लिइरहेका हुन्छन् ।
चाडपर्वका अवसरमा दलहरूले गाउँ गाउँमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी विभिन्न व्यक्तित्वहरूलाई निम्त्याउने गर्दछन् । त्यहाँ राजनीतिक कुराकानी गरेर संगठन निर्माणका कार्यक्रम पनि गर्दछन् ।
लोसपा नेपालका वरिष्ठ उपाध्यक्ष सोनलले भने, ‘राजनीतिक दलले शुभकामना आदानप्रदान एउटा सामाजिक भाइचाराका लागि पनि गरेका हुन्छन् तर त्यसमा संगठनका काम पनि भइरहेका हुन्छन् ।’