आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अपराध

जसको घरमा दसैँ दशा बनेर आयो...

सात वर्षीय बालिकाको बलात्कार पछि हत्या, शोकमा डुब्यो आम्चोकको बोयङ
शुक्रबार, १० कात्तिक २०८०, १२ : २८
शुक्रबार, १० कात्तिक २०८०

विराटनगर । दसैँ भित्रिसकेको थियो । बुबा, आमा उत्साहका साथ दसैँ मनाउने तयारीमा थिए । साथमा ७ वर्षकी छोरी पनि दसैँको उमङ्गमा थिइन् । स्वाभाविक हिसाबले दसैँमा धेरै खुसी हुने उमेर समूहमा रहेकी ती बालिकाका लागि भने दसैँ दशा भएर आयो । 

छिमेकी आफूभन्दा निक्कै धेरै उमेरका युवाले उनलाई जबरजस्ती करणी गरेर हत्या गर्‍यो । यो घटना भोजपुर आम्चोक गाउँपालिका वडा नम्बर ६ मा पर्ने बोयङको घटना हो । सधैँझैँ कार्तिक २ गते दिउँसैदेखि २१ वर्षीय दीप लिम्बू (छिमेकी) बालिकाको घरमा आए । ती बालिकासँग रमाए खेले । 

तर, उनैसँग खेलिरहेकी सात वर्षे बालिका भने बेपत्ता भइन् । सम्साँझै बेपत्ता भएपछि छोरीको खोजीमा बुबा देवचन्द्र राईसहित स्थानीय जनप्रतिनिधि लागे । साँझ ८ बजेसम्म पनि बालिका भेटिइनन् । प्रहरीमा खबर पुग्यो । बिहानैदेखि प्रहरीले खोजी सुरु गर्‍यो । 

‘२ गते बेलुका सभा ६ बजेतिर बच्चा हरायो । ८ बजेसम्म परिवारले खोजी भयो । ३ गते बिहान स्थानीयले प्रहरीलाई जानकारी दिए । प्रहरीले बच्चा टाढा नगएको अनुमान गर्दै वरिपरि खोजी कार्य गर्‍यो । तर, भेटिएन । बच्चा अन्तिममा कोसँग थियो भन्ने खोजी हुँदा दीप राईले बच्चालाई लिएर गएको भन्ने कुरा खुल्न आयो,’ भोजपुरका प्रहरी प्रमुख प्रहरी भोजपुरका प्रहरी नायव उपरीक्षक सुदिपराज पाठकले भने । 

प्रहरीले उसैलाई ३ गते बिहान ११ बजे नियन्त्रणमा लियो । प्रहरीले उसलाई सोधखोज गर्दा थाहा नभएको बयान दियो । ‘म बच्चासँग फ्रिफायर मात्रै खेलेको हुँ, त्यसपछि म घर आएँ बालिकाबारे थाहा छैन भन्ने बयान दियो,’ पाठकले भने । 

तर, शङ्का उसैमाथि थियो । त्यो दिन उसले मदिरापान गरेको थियो । श्रीमती १९ दिनको सुत्केरी थिइन् । यसले शंकालाई थप बल मिल्यो । प्रहरीले थप अनुसन्धान गर्दै जाँदा उसको ढाडमा कोतरेको आलो घाउ भेटियो । आफूलाई घाँस काट्न जाँदा घाउ भएको उसले प्रहरीलाई बयान दियो । तर, गाउँलेले भने ३ गते राती साढे १० बजेतिर उसलाई छोड्न दबाब दिए । प्रहरीले मानेन र थप अनुसन्धान गर्ने बतायो । अन्ततः उसले ४ गते बिहान १ बजेतिर जबरजस्ती करणी गरेर बालिकालाई मारेको बयान दियो । 

त्यसपछि प्रहरीले बालिकाको शवको खोजीमा लाग्यो । ‘बालिकाको शव घरबाट झन्डै ३ किलोमिटर टाढाको गुफामा मारेर फालेको अवस्थामा फेला पर्‍यो,’ पाठकले भने, ‘गुफाभित्र पानी थियो । पानीमा बच्चा फालिएको अवस्था थियो । पहिले जङ्गलमा बलात्कार गरेर मारेर त्यहाँ फालेको रहेछ ।’ प्रहरीले पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरमा राखिएको छ । बालिकाको शव पोस्टमार्टमको तयारी भइरहेको छ ।

प्रहरीका अनुसार बालिकाको परिवारमा उनका बुबा, आमा र उनकी बहिनी छिन् । उक्त घटनास्थल भोजपुर सदरमुकामबाट पैदल जाँदा ५ घण्टाभन्दा बढी लाग्छ । पीडित परिवारको घरमा आजै नागरिक उड्डयन तथा पर्यटनमन्त्री सुदन किराँती पुगे । उनले समवेदना व्यक्त गरे । दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । उनले समवेदना व्यक्त गर्दै २० हजार रुपैयाँ सहयोग पनि गरेका छन् । ‘क्रूर घटना भयो । ७ वर्षको बालिकालाई बलात्कार पछि हत्या गरिदियो । गाउँ नै शोकाकुल छ । मैले केही सहयोग पनि गरेँ,’ किराँतीले भने, ‘हृदय विदारक घटना सान्त्वना दिन गएको हामी रोएर फर्कियौँ ।’

किराँतीका प्रेस सल्लाहकार समेत रहेका राजन समिपले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सात वर्षकी बालिका जसको बलात्कार पछि हत्या भएको थियो । यो समाज किन यति धेरै अमानवीय बन्दै गइरहेको छ ? नानीको आत्माले शान्ति पाओस् परिवारजनमा गहिरो समवेदना । यस्ता घटनाका दोषीलाई सम्झिन नसक्ने गरी राज्यले हदैसम्मको कारबाही गर्ने ऐन बनाउन जरुरी छ ।’।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप