आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

कोहली नायक बन्दा न्युजिल्याण्डको अपराजित यात्रामा पूर्णविराम

शुक्रबार, १० कात्तिक २०८०, २२ : २०
शुक्रबार, १० कात्तिक २०८०

धर्मशाला । एकदिवसीय विश्वकपमा भारतले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । विश्वकपमा भारतले न्युजिल्याण्डलाई २० वर्षपछि पराजित गर्न सफल भएको हो । पछिल्लो पटक भारतले सन् २००३ को विश्वकपमा न्युजिल्याण्डलाई हराएको थियो ।

भारतको जीतमा फेरि एक पटक विराट कोहली नायक बने । उनले सर्वाधिक ९५ रनको योगदान दिए । उनी सचिन तेन्दुलकरको एकदिवसीयमा सर्वाधिक ४९ शतकको कीर्तिमानबाट मात्र ५ रनले चुके । उनले १०४ बलमा ८ चौका र २ छक्का हिर्काए । रवीन्द्र जडेजाले नटआउट ३९ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्याए ।

न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान रोहित शर्मा र शुभमन गिलले टोलीलाई राम्रो सुरुवात दिलाए । लोकी फर्गुसनको बलमा बोल्ड हुन अघि रोहितले ४० बलमा ४६ रन बनाए । उनले यसक्रममा ४ चौका र ४ छक्का हिर्काए । गिल पनि फर्गुसनकै शिकार बने । उनले २६ रन बनाए ।

श्रेयर ऐयरले ३३ तथा केएल राहुलले पनि क्रमशः ३३ रन र २७ रन बनाउँदै महत्त्वपूर्ण योगदान दिए । न्युजिल्याण्डका लागि फर्गुसनले २ तथा ट्रेन्ट बोल्ट, म्याट हेनरी र मिचेल स्यान्टनरले १–१ विकेट लिए ।

यसअघि मोहम्मद शामीले घातक बलिङ गर्दै ५ विकेट लिएपछि न्युजिल्याण्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो । शामीले १० ओभरमा ५४ रन खर्चेर ५ विकेट लिए भने कूलदीप यादवले २ तथा जसप्रित बुमराह र मोहम्मद सिराजले १–१ विकेट लिए ।

न्युजिल्याण्डका लागि डेरल मिचेलले सर्वाधिक १ सय ३० रन बनाए भने रचिन रवीन्द्रले ७५ रनको योगदान दिए । ग्लेन फिलिप्सले २३ रन बनाउँदा विल यङले १७ रन बनाए । अन्य ब्याट्सम्यानले खासै ठुलो योगदान दिन सकेनन् ।

प्रतियोगितामा लगातार पाँचौ जीत हासिल गर्दै भारत अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । उता हालसम्म अपराजित रहेको न्युजिल्याण्डले पहिलो हारको स्वाद चाख्न बाध्य बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप