आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतको टिभी बजारबाट बाहिरिँदै वनप्लस र रियलमी

शनिबार, ११ कात्तिक २०८०, १७ : २०
शनिबार, ११ कात्तिक २०८०

नयाँ दिल्ली । चिनियाँ कम्पनीहरू वनप्लस र रियलमीले भारतमा रहेको आफ्नो टिभी व्यवसाय बन्द गर्दैछन् । कम्पनीले भारतमा आफ्नो उत्पादनलाई बन्द गर्ने र टिभी बेच्न पनि छाड्न लागेको भन्दै सोमबार टाइम्स अफ इन्डियाले एउटा समाचार छापेको छ । टिभी व्यवसाय बन्द गरेपछि भारतमा आ–आफ्नो स्मार्टफोन व्यवसायलाई भने दुबै कम्पनीले निरन्तरता दिन स्रोतहरूलाई उद्धृत गर्दै समाचारमा भनिएको छ ।

भारतले चिनियाँ कम्पनीहरुमाथि दबाब बढाइरहेकै समयमा यो खबर आएको छ । अर्काे चिनियाँ कम्पनी साओमीले भने भारतमा आफ्नो टिभी व्यवसायलाई निरन्तरता दिँदैछ । पछिल्लो समय भारतको टिभी बजारमा प्रतिस्पर्धा चर्किएको छ । हालैका वर्षमा नेट्फ्लिक्स, एमाजन प्राइम, डिज्नी हटस्टार लगायत स्ट्रिमिङ सेवाहरु बढ्दै गर्दा भारतको टिभी बजारमा स्मार्ट टिभीको हिस्सा बढ्दै गइरहेको छ । वनप्लस र रियलमीले पनि भारतमा स्मार्ट टिभी बेच्न विक्री च्यानलमा लगानी गरेका थिए ।

भारतको टिभी बजारमा एलजी, सामसङ, सोनी र पानासोनिक जस्ता पुराना खेलाडीको साथसाथै साओमी, टीसीएल जस्ता चिनियाँ ब्रान्डको दबदबा छ । केही भारतीय ब्रान्डहरूको पनि उपस्थिति देखिन थालेको छ । भारतमा टिभी बजारमा सुदृढ वृद्धि देखिरहकै समयमा वनप्लस र रियलमी बाहिरिन थालेका छन् ।

यो वर्षको पहिलो ६ महीनामा भारतको स्मार्ट टिभी बजार गएको वर्षको  सोही अवधिको तुलनामा ८ प्रतिशतले बढेको बजार अनुसन्धानकर्ता संस्था इन्टरनेशनल डेटा कर्पोरेशन (आईडीसी)को एउटा रिपोर्टले देखाएको छ । सो अवधिमा भारतमा ४५ लाख थान स्मार्ट टिभी बिकेका थिए । सन् २०२२ भर भने भारतमा ९८ लाख थान स्मार्ट टिभी किनबेच भएको थियो । अघिल्लो वर्षको तुलनामा विक्रीको यो आकार ७ प्रतिशत धेरै हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप