आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

देवी स्थानमा जमरा चढाएपछि नागाबाबाले तोडे समाधि

आइतबार, १२ कात्तिक २०८०, ११ : ०४
आइतबार, १२ कात्तिक २०८०

रौतहट । रौतहटको कटहरिया बजार स्थित बौधिमाताको मन्दिर छेउमा घटस्थापनाको अवसर पारेर निराहार बसेका समाधि बसेका नागा बाबाको जिउमाथि  उम्रेको जमरा देवी स्थानमा चाढाएपछि उनले समाधि तोडेका छन्। विधिवत् रूपमा ब्राह्मणद्वारा पूजा गरेर गत असोज २८ गते दिउँसो नागाबाबा कटहरिया स्थित मन्दिर छेउमा खनिएको खाडलमा समाधि बसेका थिए। 

बाबा सोही दिनदेखि पानीसमेत नखाएर त्यही खाडलमा निराहार बसेका  थिए। उक्त अवधिमा नागाबाबा शौच समेत गरेका छैनन्। उनको जिउमाथि माटो हालेर त्यसमाथि राखिएको जौ  जमराको रूपमा उम्रिसकेको छ। त्यहाँ उम्रेको जमरा आज देवी स्थानमा चढेपछि उनले समाधि तोडेका छन्। 

स्थानीय समाजसेवी छोटेलाल मिश्र, रामबाबु जैसवाल, गौरीशंकर यादवले संयुक्त रूपमा नरिवल पानी र दूध ख्वाएर समाधि स्थल खाडल बाट बाहिर निकालेका छन्। 

बाबा सुतेको खाडल माथि काठको फ्लैकहरु राखेर त्यसमाथि माटो हालेर राखिएको जौ अहिले जमराको रूप लिएको छ। लगातार १० दिनसम्म निराहार एक ठाउँमा सुनिरहनु निकै कठिन तपस्या भएको स्थानीयहरूले बताएका छन्। बाबा बसेको स्थानमा उनको अवस्था २४ औँ घण्टा रेखदेख गर्न स्थानीयले प्रेमलाल ठाकुर सहित दुई जना मानिसको जिम्मा दिएका छन्। 

नागाबाबा समाधि बसेर जिउमाथि जमरा उमारेको यो २५ औँ पटक भएको उनले बताएका छन्। यस अघि रौतहटको सुकदेव चौक, गरुडा, शिवनगर, सर्लाहीको बरहथवा, भगवतिपुर, बलुवा मन्नपुर, बारा र पर्सा जिल्लाको  विभिन्न ठाउँका साथै भारतको ज्वालामाई मन्दिर, काटरामाई मन्दिरमा दुर्गा पूजाको अवसर पारेर समाधि बसी सफलता पूर्वक जिउमाथि जमरा उमारी सकेको बाबाले जानकारी दिएका छन्। समाधि बसेपछि बौधिमाई मन्दिरको प्राङ्गणमा बाबालाई हेर्न आउने भक्तजनहरूको भिड समेत बढेको छ । 

नागाबाबा नामले चिनिने ४५ वर्षीय नरेश राय यादवको जन्म रौतहटको माधव नारायण ३ दीपही गाउँमा भएको थियो। १० वर्षको उमेर देखिनै घर छोडेर साधु बनेको तथा पछिल्लो एक दशक देखि काठमाडौँ स्थित पशुपति मन्दिर छेउमा बस्दै आएको बताएका छन्। यसरी समाधि बसेर जमरा उमार्न कम्तीमा  १० दिन अघि देखि अन्न नखाएको, चिया, पानी गाँजा खाने गरेको तथा दुई दिन अघिदेखि केही पनि नखाएर निराहार बस्दै आएको बाबाले जानकारी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप