आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कृषि

कृषि औजारको प्रयोग बढ्दो, ट्याक्टर प्रयोग गर्नेको संख्या एक दशकमै दोब्बर

आइतबार, ०९ वैशाख २०८१, १२ : ५४
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । नेपालमा पछिल्लो समय कृषिमा यान्त्रिकरण बढ्दै गएको छ । कम जनशक्तिबाट धेरै र सहज तरिकाले कृषि कार्य गर्न सकिने भएकाले कृषियन्त्रको प्रयोग बढेको हो । ट्याक्टर, थ्रेसर, फलामे हलो, पावर ट्रिलर, स्यालो ट्युबवेल लगायत कृषि औजार तथा साधनको प्रयोग बढेको छ ।

एक दशक पहिला २२ प्रतिशत कृषक परिवारले प्रयोग गर्दै आएको ट्याक्टर पछिल्लो समय झण्डै दोब्बर पुगेको राष्ट्रिय कृषि गणना २०७८ मा उल्लेख छ । कृषि गणना अनुसार ४० प्रतिशत कृषकले ट्याक्टर प्रयोग गर्छन् ।

कृषि कार्यमा ट्याक्टर प्रयोग गर्ने कृषक परिवार संख्या १६ लाख ३९ हजार पुगेको छ । एक दशक अघि यो संख्या आठ लाख ४५ हजार थियो । १० वर्ष पहिला ३७ हजार संख्यामा रहेको ट्याक्टर पछिल्लो समय ५८ हजार पुगेको सरकारी तथ्याङ्क छ ।

एक दशक अघि २ प्रतिशत अर्थात् ७६ हजार कृषकले पावर ट्रिलर (मिनी ट्रिलर) प्रयोग गर्थे । पछिल्लो समय ११ प्रतिशत अर्थात् ४ लाख ७१ हजार परिवारले यसको प्रयोग गर्न थालेका छन् । देशभर १ लाख १८ हजार पावर ट्रिलर छन् ।

देशभर ११ लाख ७५ हजार कृषक परिवारले एक लाख १५ हजार थ्रेसर (बाली झाँट्ने औजार) प्रयोग गरेको सो तथ्याङ्कमा उल्लेख छ । राष्ट्रिय कृषि गणना २०६८ अनुसार आठ लाख तीन हजार कृषकले थ्रेसर प्रयोग गरेका थिए, जतिबेला ५२ हजार वटा थ्रेसर प्रयोगमा थियो ।

हालैको कृषि गणना अनुसार ६ लाख ९१ हजार कृषक परिवारले पम्पिङ सेट/मोटर प्रयोग गरेका छन् । यस्तै ११ लाख ५१ हजार कृषकले स्प्रेयर प्रयोग गरेको उल्लेख छ । कृषकसँग करिब चार लाख पम्पिङ सेट र सात लाख ७० हजार स्प्रेयर छ । यस अघिको कृषि गणनामा पाँच लाख ४८ हजार कृषक परिवारले पम्पिङ सेट र पाँच लाख ७४ हजारले स्प्रेयर प्रयोग गरेका थिए । सो समयमा कृषकसँग साढे एक लाख पम्पिङ सेट र दुई लाख ८२ हजार स्प्रेयर थियो ।

देशभरका ३० हजार कृषक परिवारले तीन हजार चार सय वटा दुध दुहुने मेसिन प्रयोग गरेको उल्लेख छ । नेपालभर ७ लाख ३ हजार कृषकले पाँच लाख १० हजार आधुनिक फलामे हलो प्रयोग गरेको पछिल्लो कृषि कृषि गणनामा उल्लेख छ । यसअघिको कृषि गणना अनुसार १० लाख ७३ हजार कृषकले आधुनिक फलामे हलो प्रयोग गरेका थिए ।

सातौँ कृषि गणना अनुसार नेपालमा ३९ लाख ९९ हजार परिवारले खेतीपाती गरेको पाइएको छ ।

k

स्रोतः राष्ट्रिय कृषि गणना २०७८ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू
लेखकबाट थप