आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

पोखरालाई कुरूप बनाउने बिजुलीका तार भूमिगत गरिँदै

सोमबार, १० वैशाख २०८१, ०९ : ५६
सोमबार, १० वैशाख २०८१

पोखरा । २०७५ सालमा पोखरा ४ नम्बर वडाले वडा तहको योजना छनोट गर्दा बिजुलीका तारलाई अण्डरग्राउण्ड गर्ने योजना माग्यो । महानगरपालिकाले पैसा दिएन तर अण्डरग्राउण्ड गर्ने योजना महानगरले पनि नीति तथा कार्यक्रममा राख्यो । 

अघिल्लो वर्षको नीति तथा कार्यक्रम बनाउँदा महानगरले म्याद नै तोकेर तार अण्डरग्राण्ड योजना अघि सार्‍यो । २ वर्षभित्रमा टेलिफोन र अन्य तार हटाएर भूमिगत रूपमा अप्टिकल फाइवर जडान गर्ने, बिजुलीका तार भूमिगत गरिसक्ने नीति ल्याएको साढे २ वर्ष बितिसक्यो । तर काम अघि बढेन । 

अहिले नेपाल विद्युत् प्राधिकरणले नेपालका दुई सहरमा विद्युतीय तार अण्डरग्राउण्ड गर्ने परियोजना चलायो । सहर विकाससँगै पोखराको सुन्दरतामा आँच ल्याएको बिजुलीका तारलाई भूमिगत गर्न थालिएको छ । २०७८ माघमा सम्झौता भएकोमा बल्ल ३० प्रतिशत काम पूरा भएको छ ।

पोखरा-१० को कुँडहर क्षेत्रबाट तार भूमिगत आयोजना सुरु गरिएको योजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले जानकारी दिए । वडाले गरेको अध्ययन अनुसार प्रतिकिलोमिटर तार भूमिगत गर्न करिब १ करोड हाराहारीमा खर्च लाग्ने अनुमान गरिएको तत्कालीन वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले बताए । 

प्राधिकरणले तार भूमिगत गर्न भारतीय कम्पनी टाटा प्रोजेक्ट्सलाई जिम्मा दिएको हो । परियोजना अन्तर्गत कुँडहरदेखि जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्रबैंक चोक, लेकसाइड, सभागृह चोक, न्यूरोड, चिप्लेढुंगा लगायतका क्षेत्रका तार भूमिगत गरिनेछ । 

विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिछ्याइने सुवेदीले बताए । पहिलो चरणमा २६ किलोमिटर क्षेत्रमा भूमिगत गरिने छ । ‘भूमिगत प्रणाली बढी क्षमतायुक्त र भरपर्दो हुन्छ । तर महँगो चाहिँ पर्छ,’ उनले भने, ‘अब भूमिगत प्रणालीमा नगई हुन्न ।’ 

सम्झौता अनुसार तार भूमिगत गर्ने काम आगामी जनवरीसम्ममा सक्नु पर्छ । तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा १ अर्ब ३० करोड खर्च हुने बताइएको छ । केही क्षेत्र थप गर्न लागिएको अझै लागत बढ्ने सुवेदीको भनाई छ । सरकारले पोखरा र भरतपुरमा तार बिछ्याउन २ अर्ब ५० करोड ३३ लाखमा निर्माण कम्पनीसँग सम्झौता गरेको हो । पोखरामा कहिलेकाहीँ विद्युत्का पोलमै आगो लाग्ने र त्यसले सडकमा हिँड्ने यात्रुलाई समेत क्षति गर्ने गरेको छ । केही वर्षअघि बिजुलीको तार झरेर करेन्ट लाग्दा सडकमा हिँडिरहेका यात्रुलाई गम्भीर घाइते बनाएको थियो । 

तार भूमिगत योजना सुन्दरतासँगै सुरक्षासँग पनि जोडिएको मेयर धनराज आचार्यले बताए । ‘सहरको प्रमुख चुनौती बन्दै गएको छ पोलमा टाँगिएका तार । गुजुल्टाहरू हेर्दा सहर कुरूप बनिरहेको छ,’ उनले भने, ‘कुरूपता मात्रै होइन, असुरक्षा पनि बढेको छ । महानगरपालिकाले प्राधिकरणसँगको समन्वयमा निरन्तर यसको व्यवस्थापन गर्छ । सबै तारलाई भूमिगत गर्ने योजना हाम्रो छ ।’ पहिलो चरणको काम सकिँदा पोखराको मुख्य क्षेत्र सफा हुने उनले बताए । ‘लेकसाइड र मिनी रिङरोड क्लियर हुन्छ । अहिले नै तालचोक देखि बेगनास तालको निर्माणाधीन सडकमा पनि यो काम गर्ने भनेर लागेका छौँ,’ उनले थपे, ‘बिस्तारै भूमिगत प्रणालीबाटै विस्तार गर्ने हो ।’ यद्यपि केबुल, इन्टरनेट लगायत कम्पनीसँग प्रभावकारी समन्वय हुन नसकेको मेयर आचार्यले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप