आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

जीर्णोद्धारपछि व्यवस्थित र सुन्दर हुँदै मकवानपुरगढी

सोमबार, १० वैशाख २०८१, ११ : २७
सोमबार, १० वैशाख २०८१

मकवानपुर । मकवानपुरगढीको जीर्णोद्धार कार्य भइरहेको छ । भग्नावशेष मात्र बाँकी रहने अवस्थामा पुगेको ऐतिहासिक मकवानपुुरगढी जीर्णोद्धारसँगै पुराना आकृति अंकित संरचनाहरूलाई व्यवस्थित र सुन्दर बनाएको देखिन्छ ।

ऐतिहासिक महत्त्वको मकवानपुरगढी दरबार सामान्य मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएपछि पुरातत्त्व विभागले केही समय अघि जीर्णोद्धार सुरु गरेको थियो । पुरातत्त्वले मकवानपुरगढी दरबार परिसरमा रहेको श्री कृष्णको मन्दिरको पश्चिमतर्फ र पूर्वतर्फ रहेको दरबारको भग्नावशेष मर्मत गरेको थियो ।

makwanpur gadhi (1)

मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित उक्त गढी किल्लाभित्र रहेका दरबार, मन्दिर र पर्खालहरु भत्किएर जीर्ण बनेका थिए । पुरातत्त्वले मकवानपुरगढीको भत्किएका भागहरुलाई मर्मत गरी पुरानै आकृतिमा संरचनाहरु निर्माण गरेको छ । मन्दिरको पश्चिमतर्फ रहेको दरबार भत्किएर ढुंगाको थुप्रो झैँ बनेको थियो । तर, पुरातत्त्वले जीर्णोद्धार गरेसँगै सो दरबार पुरानै अवस्थामा देखिन थालेको छ । सो दरबारको काठका खाबो परिवर्तन गरिएको छ भने भत्किएका भित्ता मर्मत गरिएका छन् । आँखी झ्यालसहित भुइँ तलालाई चिटिक्क बनाइएको छ ।

makwanpur gadhi (2)

पुरातत्त्वले मन्दिरको पूर्वतर्फ रहेको मकवानपुरगढी दरबारको भग्नावशेष यथास्थितिमै जीर्णोद्धारसहित मर्मत तथा संरक्षण गर्ने योजना अनुरूप भत्किएका भित्ताहरूलाई मर्मत गरेको छ । दरबार प्रवेश र द्वारअगाडि रहेको काठको पुल चौडा पारिएको छ । दरबारको छाना र ढोका लगायतका संरचना भने हाल्न बाँकी छ ।

makwanpur gadhi (3)

जीर्णोद्धारसहित छाना परिवर्तनको योजना रहे पनि रकम अपुग हुँदा योजना अनुसार काम हुन सकेन । चालु आर्थिक वर्षमा सो दरबारको संरक्षणका लागि छाना परिवर्तन लगायत अन्य काम गर्ने योजना छ ।

पुरानै शैलीमा मर्मत तथा संरक्षणको लागि गत आर्थिक वर्षमा पुरातत्त्व विभागले १ करोड १८ लाख ४३ हजार रुपैयाँ खर्च गरेको थियो । पुरातत्त्वले उक्त काम ठेक्का मार्फत् गरेको थियो ।

makwanpur gadhi (4)

सेन वंशका ७ पुस्ताले शासन गरेको मकवानपुरगढी

नेपालमा ठुला–साना गरी करिब २०० गढी छन् । ती सबैका आ–आफ्नै महत्त्व छन् । त्यस हिसाबले पनि मकवानपुरगढीको महत्त्व फरक छ । मकवानपुरगढीमा अवस्थित दरबारमा प्रयोग गरिएका शिलाहरुले थप सौन्दर्यता प्रदान गरेको छ ।

makwanpur gadhi (5)

ऐतिहासिक, पुरातात्त्विक र सामरिक दृष्टिले पनि महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानुपर जिल्लाको सदरमुकाम हेटौंडाबाट करिब १७ किलोमिटर उत्तर–पूर्वमा पर्दछ । मकवानपुरगढीको आफ्नै छुट्टै इतिहास छ । आधुनिक नेपालको स्थापना हुनुपूर्व सेन वंशीय शासनको ऐतिहासिक बिरासतको जीवन्त इतिहास मकवानपुरगढीले बोकेको छ । परम्परागत तर उन्नत वास्तुकलाको प्रतिरुप मकवानपुरगढीले तत्कालीन समयको सामरिक महत्त्व तथा राज्यको सुरक्षात्मक उपाय झल्काएको छ ।

makwanpur gadhi (6)

इसं १२५८ तिरै राजा मुकुन्द सेनले गढी बनाउन लगाएका थिए । पछि मुकुन्द सेन द्वितीयका छोरा लोहाङ सेन मकवानपुरका राजा बने । मकवानपुरगढीलाई राजधानी बनाएर सेन वंशका सात पुस्ताले मकवानपुरमा शासन गरेका थिए । मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेन हुन् ।

सेन राजाहरुले १९७ वर्षसम्म आफ्नो राजधानी बनाएको मकवानपुरगढी वि.सं. १६२२ मा लुवाङ सेनले बनाएको मानिन्छ । उनलाई नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले पराजित गरेका थिए ।

makwanpur gadhi (7)

नेपाल एकीकरणमा मकवानपुर गढीको महत्त्वपूर्ण भूमिका देखिन्छ । नुवाकोट विजयपछि पृथ्वीनारायण शाहले मकवानपुरमा हमला गरेका थिए । पृथ्वीनारायणको फौजले २१ अगस्ट १७६२ मा गढीमा आक्रमण गरेको थियो । काठमाडौँका मल्ल राजाहरूलाई कमजोर पार्ने रणनीतिअनुसार उनको रोजाइमा मकवानपुर परेको थियो ।

१८१९ भदौ ९ मा पृथ्वीनारायण शाहको फौज विजयी भएपछि मकवानपुरका राजा दिगबन्धन सेन मन्त्री कनकसिंह बानियाँसहित भागेर बंगाल पुगेका थिए । सेन त्यहाँका नवाव मिरकासिमसँग सहयोग माग्न बंगाल पुगेका थिए ।

makwanpur gadhi (8)

दिगबन्धन सेनले मिरकासिमको सहयोगमा मकवानपुरगढी नियन्त्रणमा लिने उद्देश्य अनुसार पुनः आक्रमण गरे । दिगबन्धु सेनले मिरकासिमको सहयोगमा दुई हजार लडाकु र एक हजार बन्दोबस्तीसहित ३ हजार फौज लिएर गोर्खाको नियन्त्रणमा रहेको मकवानपुरगढीमा १८१९ माघ १० मा आक्रमण गरेका थिए ।

मकवानपुुरगढीमा उक्लिने क्रममा शिखरकटेरीमा राति १० घण्टासम्म भएको लडाइँमा नवावको फौज पराजित भयो । त्यो लडाइँमा सानो संख्यामा रहेको गोर्खाली फौजको नेतृत्त्व रामकृष्ण कुँवरले गरेका थिए । गोर्खाली फौजलाई स्थानीयले घरेलु हतियारसहित सघाएका थिए । उक्त लडाइँमा मिरकासिमका तर्फबाट लड्न आएका एक हजार ७०० सैनिक मारिएका थिए भने अन्य भागेका थिए । नवावको पराजित फौजबाट थुप्रै गोलीगठ्ठा र ११ थान तोप गोर्खाली सेनाले नियन्त्रणमा लिएको थियो ।

makwanpur gadhi (9)

दिगबन्धन सेनले तीन कारणले मकवानपुरगढीमा पुनः आक्रमण गरेका थिए । विशेष गरी उनी आफ्नो गुमेको राज्य फिर्ता लिन चाहन्थे भने मकवानपुरगढीमा अंग्रेजको पनि चासो जोडिएको थियो । भारतस्थित अंग्रेजहरूले गोर्खाली सैन्य अभियानलाई रोक्न चाहिरहेको बखत पृथ्वीनारायण शाहको मकवानपुर विजयले उपत्यकाका मल्ल राजाहरुसँग अंग्रेजको सम्बन्ध टुटाइदिएको थियो । उपत्यकाका मल्ल राजाहरु पनि मकवानपुरबाट गोर्खालीहरु लखेटिएको हेर्न चाहन्थे । त्यसरी मकवानपुर आक्रमणका लागि दिगबन्धन सेनलाई अंग्रेज र मल्ल राजाहरूको पनि सहयोग थियो ।

makwanpur gadhi (10)

गोर्खाली मकवानपुरगढी आक्रमणका क्रममा फौजले बंगाली फौजबाट लिएका गोली गठ्ठा र तोप २०३६ सालसम्म गढीमै थिए । २०३६ सालमा गढीबाट उठाएर हेटौंडास्थित सेनाको सुपारेटार व्यारेकमा ल्याइएका थिए ।

मकवानपुरगढी भित्र वंश गोपाल मन्दिर छ । मन्दिरभित्र कृष्णलाई फलामे साङ्लोले बाँधेर राखिएको छ । मन्दिरको केही तल एउटा गुफा छ । त्यही गुफाबाट कृष्ण ओहोरदोहोर गर्थे भन्ने मान्यता छ । त्यस समयमा चितवनमा तोरी खेती हुन्थ्यो । उनी त्यहाँसम्म पुगेर आउँथे । कृष्ण राति बाहिर जाने र बिहानमात्रै फर्कने गर्दा अनिष्ट आइपर्ला भनेर उनलाई गाउँलेले बाँधेर राखेको किम्बदन्ती रहेको छ ।

makwanpur gadhi (11)makwanpur gadhi (12)makwanpur gadhi (13)makwanpur gadhi (14)makwanpur gadhi (15)makwanpur gadhi (16)makwanpur gadhi (17)makwanpur gadhi (18)makwanpur gadhi (19)makwanpur gadhi (23)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप