आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बन्दीपुरमा बाख्रा नश्ल सुधार कार्यक्रम

शुक्रबार, १५ मङ्सिर २०८०, ०८ : ३७
शुक्रबार, १५ मङ्सिर २०८०

तनहुँ । बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले अगुवा कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथामिकता दिएको छ । 

बाख्रामा नश्ल सुधारबाट हालसम्म ५४ जिल्लामा उन्नत बोर बाख्रा निर्यात गरिसकिएको उक्त कार्यक्रमले जनाएको छ । शुद्ध जातका बोर पाठापाठी उत्पादन र स्थानीय खरी जातका बाख्रामा बोर क्रस गराएर वर्णशङ्कर जातको बाख्रा उत्पादन गर्दै आइएको छ । 

तनहुँ, कास्की, गोरखा, लमजुङ, चितवनलगायत विभिन्न जिल्लामा बोर बाख्रा निर्यात गर्दै आएको कार्यक्रमका संयोजक राजु कँडेलले जानकारी दिए ।

 विसं २०७१ मा ५० वटा माउ र सात वटा बोका अष्टे«लियाबाट ल्याएर बाख्राको नश्ल सुधार कार्यमा अनुसन्धान गरिएको उहाँले बताउनुभयो । अगुवा बाख्रा उत्पादक कृषकलाई पशु उक्त कार्यालयको सिफारिसमा सुपथ मूल्यमा बोर, खरी र सानेन प्रजातिका बाख्राको पाठापाठी उपलब्ध गराउँदै आइएको छ । 

कार्यक्रमअन्तर्गत हाल अनुसन्धानको लागि बोर, सानन, खरी, सिन्हाल, बारबारी, जमुनापारीलगायत करिब पाँच सय बाख्रा छन् । कृषकको मागअनुरुप विभिन्न जिल्लामा बोरका बोका बिक्री गर्ने गरिएको छ । 
  दूध र चीजका लागि सानन बाख्रा 

त्यसैगरी सानन जातको बाख्रा ३२ जिल्लामा निर्यात र करिब २२ जिल्लामा व्यावसायिकरुपमा पाल्न सुरु गरिएको छ । दूध र चिजका लागि सानन जातका बाख्राको माग अत्यधिक बढेको कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले जानकारी दिए ।

बाख्राको दूधमा ल्याक्टोजिन नहुने र रोग प्रतिरोधी हुने भएकाले क्यान्सरका बिरामीका लागि पनि उत्तम हुने उहाँले बताउनुभयो । बाख्राको दूधबाट बनेको चिज बाहिर सहरमा प्रतिकिलो रु तीन हजार पर्ने भए पनि कार्यक्रमले प्रतिकिलो रु एक हजारमा बिक्री गर्दै आएको छ । 

विगत पाँच वर्ष अघि अमेरिकी डेरी गोटका अध्यक्ष डेनिल लेनिईले चिज बनाउने उद्योग खोली व्यावसायिक बाख्रापालन कृषकलाई सीप हस्तान्तरणसमेत गरेका थिए ।

पोखराको लेकसाइड र काठमाडौँका सहरमा चिजको माग भइरहेको छ । अधिकृत आचार्यले भने, “याक र गाईबस्तुको दूधबाट बनेको चिजको तुलनामा बाख्राको दूधबाट बनेको चिज गुणस्तरीय र मिठो हुन्छ ।”

पछिल्लो समय सानन बाख्राको दूध र चिज प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ । सानन बाख्राले एक पटकमा चार लिटरसम्म दूध दिन्छ । उक्त कार्यालयमा अहिले दैनिक बयालिस लिटर दूध उत्पादन हुँदै आएकोले चिज बनाउने गरिएको छ । 

उक्त दूध सङ्कलन गरी चिज बनाएर पोखरा र काठमाडौँका सहरमा बिक्रीका लागि पठाउने गरिएको संयोजक कँडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप