आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
माओवादीको अभियान

'प्रचण्डपथ त्यागेपछि माओवादी विभाजन भयो'

हेडक्वार्टरमा अप्ठ्यारो पर्दा रुकुम- रोल्पा आउँथेँ, नयाँ ऊर्जा लिएर जान्थेँ : प्रचण्ड
शुक्रबार, १५ मङ्सिर २०८०, १५ : ४६
शुक्रबार, १५ मङ्सिर २०८०

सुर्खेत। बिहीबार माओवादीको आधार इलाका रुकुम पश्चिम पुगेका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले हिजोको माओवादी जनयुद्ध, पार्टी विभाजन र अबको समाजवादी क्रान्तिको विषयमा व्याख्या गरेका छन्।

'जनतासँग माओवादी विशेष रूपान्तरण अभियान' अन्तर्गत आफ्नो नेतृत्वमा रहेको बाँफिकाेट गाउँपालिका- ६ र ७ को विस्तारित बैठकलाई सकाएका उनले सोही पालिकामा आयोजित मग्मा सहिद स्मृति भेलाको उद्घाटन गरे । जहाँ उनले हिजो जनयुद्धको संघर्ष सम्झिए ।

करिब ३० मिनेट भन्दा बढी मन्तव्य राखेका उनले जनयुद्धपछि 'प्रचण्डपथ' छाडेपछि माओवादी विभाजन भएको कुरा बताए ।  विचार मुख्य कुरा हुने बताउँदै उनले हिजो प्रचण्डपथलाई आफैले रोकेको कुरा पनि उल्लेख गरे । रोकेपछि अझ एकताबद्ध होला भनेर आफूले प्रचण्डपथ रोकेको तर पार्टी विभाजन भएकोप्रति उनले दुःख व्यक्त पनि गरे ।

उनले भने, 'हिजो प्रचण्डपथले बाबुराम, किरणदेखि विप्लव सबैलाई समेटेको थियो । तर, प्रचण्डपथ छाडेपछि पार्टी विभाजनमा पुगेको हो । प्रचण्डपथ छाडेको दिनदेखि मियाे बिनाको दाइँ जस्तो भयो, सबै गोरुहरू जतातता जान मन छ त्यस्तै भयो । त्यसकारण फेरि एक पटक विचार केन्द्रित गर्नुछ ।'

आफूले प्रचण्डपथ रोकेपछि नै पार्टी फुटेको उनकाे भनाइ थियो । 'मैले प्रचण्डपथ रोकेपछि पार्टी फुट्यो, त्यो बेला धेरैलाई एकताबद्ध गर्छु भनेर त्यो रोकेको थिएँ, तर परिणाम माओवादी पार्टी नै फुट्यो,' उनले ती दिन सम्झिए, ' सायद त्यो गर्नु गल्ती थियो कि क्या हो भन्ने महसुस गरेको छु। आठौँ महाधिवेशनको प्रतिवेदनमा पनि त्यो कुरा भनेको छु।'

पार्टी विभाजनको असर सबैतिर परे पनि रुकुममा जनार्दनको कमान्डमा माओवादी विभाजन नभएको प्रति उनले धन्यवाद दिए । साथै रुकुमको विकासका लागि आफू अग्रसर भइरहेको र अझ बढी रहने पनि बताए।

प्रभाकर र मातृमा यादव जस्ता नेताहरूले विचार संश्लेषण गर्नुपर्ने कुरा भनिरहेको र आफूले पनि त्यो कुरा सोचिरहेको प्रचण्डको भनाइ छ।

हेडक्वार्टरमा अप्ठ्यारो पर्दा रुकुम,‌ रोल्पा आउँथेँ

प्रचण्डले रुकुम, रोल्पाबाट जनयुद्धकालमा भए, गरेका अनुभूति पनि सुनाए । अगाडि भने, 'हिजो जनयुद्धकालमा हेडक्वार्टरमा अप्ठ्यारो पर्‍यो भने, समस्या पैदा भयो भने म रुकुम आउने गर्थे, रोल्पा, जाजरकोट र सल्यान आउने गर्थेँ । त्यसमध्ये पनि रुकुम, रोल्पामा क्रान्तिको तयारीको बेलामा होस्, जनयुद्ध भरीदेखि अहिलेसम्म पनि अझ बढी आउने गरेको छु । जतिबेला यहाँ आउँछु, त्यसबाट नयाँ ऊर्जा लिएर हेडक्वार्टरमा जान्छु ।'

आज नयाँ परिस्थितिमा रुकुम आएर यहाँका पार्टीका साथी,‌ सहिद, बेपत्ता परिवार र क्रान्तिकारी जनसमुदायसँग भेट्दा नयाँ ऊर्जा पैदा भएको कुरा पनि‌ सुनाए । 

जनवादी क्रान्तिको कालमा, सामन्ती निरकुंशतन्त्रकाे लडाईंका क्रममा रुकुम, रोल्पावासीले लालकिल्लाकाे रूपमा भूमिका खेलेको, क्रान्तिको आधार क्षेत्रको रूपमा भूमिका खेलेको र नेतृत्वको रक्षाको भूमिका निभाएकाे कुरा पनि उनले सम्झिए ।

यद्यपि अहिले क्रान्ति बदलिएको छ । उनले भने, 'हाम्रो संविधानले पनि भनेको छ- समाजवाद उन्मुख हुने कुरा, हाम्रो पार्टीले समाजवादी क्रान्तिको तयारी गर्ने कुरा गरेको छ । म कर्णाली आउँदा भन्ने गरेको छु कि अबको केन्द्रीय आधार इलाकाको भूमिका कर्णाली प्रदेशले खेल्नुपर्छ ।' 

यो कुनै भावनाको कुरा नभई क्रान्ति र आवाश्यकताकाे कुरा रहेको उनले बताए । क्रान्ति, संस्कृति निर्माणको लागि कर्णालीले भूमिका खेल्नुपर्छ।

उनले माओवादीले पुनः एकताको सन्देश सहित विभाजित माओवादीलाई जोड्ने प्रयास गरिरहेको पनि बताए ।

विभाजन भएर एकतामा आउन बाँकी साथीहरू पनि आउने र समाजवादी क्रान्तिको अभियानमा जाने अठोटका साथ केन्द्रीय नेताहरू पनि गाउँ-गाउँमा केन्द्रित भएको कुरा पनि उल्लेख गरे ।

प्रचण्ड 'जनतासँग माओवादी विशेष रूपान्तरण अभियान'अन्तर्गत बाँफिकाेट- ६ र ७ वडाकाे जिम्मेवारीमा रहेका छन् ‌। उनले उक्त कार्यक्रम विहान गरिसकेका थिए ।‌ 

'हामीले यो गर्नुको पछाडि यो पार्टीलाई नयाँ तरिकाबाट अगाडि बढाउनका लागि हो, हामी कमजोर भए यो देश खतरामा पर्ने अवस्थामा छ,' उनले भने,' यो परिवर्तन खतरामा पर्ने देखिन्छ।' 

सरकारको नेतृत्वमा आइसकेपछि आफूले भ्रष्टाचार, सुशासनका विषयमा केही गर्ने प्रयास गरेको र त्यो नरोकिने पनि बताए ।  त्यसमा जनताको साथ आवश्यक रहेको पनि उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप