आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जीवन शैली

युनाइटेड सिमेन्टको मारमा धुनिबेंसीका जनता

के भन्छन् स्थानीय बासिन्दा र जनप्रतिनिधि ?
बुधबार, १२ वैशाख २०८१, ०६ : ०६
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । संघीय राजधानी काठमाडौँबाट करिब २१ किलोमिटर उत्तर–पश्चिममा एउटा सुन्दर बस्ती छ– जुगेडी । धादिङको धुनिबेंसी नगरपालिका–९ स्थित यो बस्तीका २०० घरपरिवार यतिखेर युनाइटेड सिमेन्ट उद्योगका कारण जोखिममा छन् ।

गत शनिबार पंक्तिकार जुगेडी पुग्दा उद्योग बन्द गरिएको अवस्थामा थियो । घरबस्ती सुनसान थियो । जुगेडी चोकदेखि झगडिया गाउँसम्म पुग्दा प्रायः घरका ढोका बन्द थिए । उद्योग नजिकै एक घरमा ३÷४ जना महिला पात गाँसेर बसेका थिए । सिमेन्ट उद्योगले पारेको प्रभाव सम्बन्धमा प्रश्न सोध्दा उनीहरुले खुलेर जवाफ दिन चाहेनन् ।

तीमध्ये एक महिलाले नाम उल्लेख नगर्ने सर्तमा भनिन्, ‘सिमेन्टको धुलो, धुँवा, आवाजले बस्न सक्ने अवस्था छैन । धुलो र धुवाँको कारण घाँटीमा समस्या आएको छ । जिउभरि डाबर आएको छ । बालानाली हुनै छाड्यो । स्थानीयको सहमतिबिना बस्तीको बिचमा उद्योग राखिएको छ । समस्या लिएर वडा, नगरपालिका, नेताहरूलाई पटकपटक ध्यानाकर्षण गराए पनि अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । उद्योगका कारण बस्ने अवस्था छैन ।’ 

चारैतिर पहाडको फेदीको घनाबस्तीमा राखिएको उद्योगबाट निस्कने धुलो, धुँवा र ध्वनि प्रदूषणका कारण जुगेडी, झगडिया गाउँ, ठुलो गाउँ, माझ गाउँ, पुछार गाउँ, पारी गाउँ, बगैंचा, जलदेवी, टायलघर लगायत धुनिबेंसीका साविक जीवनपुर, छत्रेदेउराली र नौबिसे गाविसका नागरिक प्रत्यक्ष प्रभावित भएका छन् ।

शरीरभरि डाबर आउने, चिलाउने, घाँटी दुख्ने, श्वासप्रश्वास बढ्ने, चिडचिडाहट हुने, रुघाखोकी लाग्ने जस्ता समस्याबाट पीडित हुनुपरेको स्थानीय गुनासो गर्छन् । उद्योगबाट निस्कने आवाजले सुत्न नसक्ने, सुत्ने कोठा, भान्साघर, पाउना कोठा धुलो र धुवाँका कारण दैनिक फोहोर भएको उनीहरूको दुखेसो छ ।

खेतबारीमा लगाएको बालीनाली, बिरुवामा उद्योगबाट निस्किएको विषादीयुक्त धुलो जमेकोले खेती नष्ट भएको छ । घरपालुवा जनावर, पन्छीहरू समेत बिरामी पर्न थालेका छन् । मानव स्वास्थ्यमा प्रतिकुल असर पर्दासमेत स्थानीय सरकार, सरोकारवाला निकाय रमिते बनेर बसेको स्थानीयको आरोप छ ।

सिमेन्टको धुलोले स्थानीय उत्पादन फलफूल, तरकारी खेतीमा ह्रास आउन थालेपछि उद्योगमाथि दबाब बढाउन रमा राईको नेतृत्वमा जुगेडी खाद्य अधिकार प्रभावित समूह बनाइएको छ ।

उक्त समूहले वातावरणीय प्रभाव मूल्याङ्कन मापदण्ड अनुसार उद्योग चलाउनुपर्ने, उद्योग आवतजावत गर्ने सडक बाटो ढलान÷पिच गर्नुपर्ने, प्रभावित क्षेत्रका जनताको स्वास्थ्यमा ध्यान दिनुपर्ने, रोजीरोटीको समस्या समाधानको व्यवस्था मिलाउनु पर्ने लगायतका माग राखी वडा कार्यालय र नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

यस विषयमा गत असारमा स्थानीय तह, प्रदेशका जनप्रतिनिधि, उद्योगका व्यवस्थापक, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिबिच छलफल भएको थियो । छलफलमा २ महिनाको भाका राखेर प्रदुषण नियन्त्रणमा सहयोग गर्ने उद्योग व्यवस्थापकले प्रतिवद्धता जनाएको थियो । तर अहिलेसम्म सुनुवाइ नभएको स्थानीय जनक राई बताउँछन् ।

‘प्राविधिक चेकजाँच गर्ने भनेर प्राविधक आए भनेको सुनेको छु । जनप्रतिनिधिहरू र व्यवस्थापकहरूबिच छलफल भएको छ । सुनुवाइ हुन्छ भनेका छन् तर समस्या ज्यूँका त्यूँ छ’, उनी भन्छन्, ‘विषादीयुक्त धुलो बालीनालीमा जमेर बस्दा उत्पादन हुन छाड्यो । स्वास्थ्यमा प्रतिकुल असर परेको छ । अहिलेसम्म कुनै सुधार आएको छैन ।’

वातावरणीय मापदण्ड, २०७५ मा उल्लेख भएअनुसार उद्योगबाट निस्किने कुल निलम्बित कणको मात्रा ५००(µG÷NM3) भन्दा कम हुनुपर्ने, नमुना संकलन बिन्दु सिमेन्ट उद्योगको पर्खाल रहेको ठाउँबाट हावाको बहाव रहेको दिशातर्फ उत्सर्जनको स्रोतबाट ३००–५०० मिटरसम्म हुनुपर्ने छ । साधारण अर्थमा चाप र तापक्रममा  प्रतिघनमिटर आयतनमा प्रतिकुलर म्याटरको माइक्रोग्राम परिणामलाई जनाउँछ ।

मापदण्ड अनुसार सिमेन्ट उद्योगले सीमाको अधीनमा रही परिसरभित्र निम्न व्यवस्था मिलाउनु पर्ने उल्लेख छ ।

(क) उपकरणहरुमा धुलो धारण प्रणाली (Dust Containment) तथा धुलो उन्मूलन- नियन्त्रण सम्बन्धी (Dust Suppression) प्रणाली जडान गर्नु पर्नेछ ।

(ख) हावालाई विस्थापन गर्ने पर्खालहरु (Wind Breaking Walls) निर्माण गर्नु पर्नेछ ।

(ग) उद्योगको क्षेत्रभित्र धातुले बनेको सडक (Metallic Road) निर्माण गर्नु पर्नेछ ।

(घ) उद्योग क्षेत्रभित्र नियमित रुपमा सरसफाइ गर्नु पर्नेछ र सतह पखाल्नु पर्नेछ ।

(ङ) उद्योग वरिपरि हरित पेटी (Green Belt) निर्माण गर्नु पर्नेछ ।

तर माथि उल्लेखित मापदण्ड बमोजिम वातावरण, सामाजिक प्रभाव मूल्याङ्कन नभएको र उद्योग स्थापनाअघि ‘एक घर एक रोजगारी’को आश्वासन दिए पनि पूरा नभएको स्थानीयको आरोप छ ।  

‘सिमेन्ट उद्योग खोल्नुअघि नेताहरूले एक घर एक रोजगारी हुन्छ । मापदण्ड अनुसार उद्योग खोलिन्छ भनेर आश्वासन दिए । तर अहिले न रोजगारी छ, न मापदण्ड अनुसार उद्योग खोलियो । जनतालाई झुक्याउने काम भयो’, स्थानीय अजय राईले भने, ‘उद्योगबाट स्थानीय मारमा पर्दासमेत नेता, मिडिया कोही आएनन् । उद्योगलाई देखाएर सबैको स्वार्थ छ लुकेको छ । कसरी विकास हुन्छ ?’ 

घाँटी खसखस गर्ने, आँखा पोल्ने, बान्ता हुने, ज्वरो आउने, रुघाखोकी लाग्ने, शरीर चिलाउने समस्याले आजित भएका स्थानीय बासिन्दा दीर्घरोगको सिकार बन्ने हो कि भन्ने त्रासमा छन् । स्थानीयमा समस्या देखिएपछि ५ घर परिवारलाई उपचारका लागि वीर अस्पताल लगिएको पुनम राई बताउँछिन् । तर अस्पतालले केही समस्या नदेखिएको भन्दै एलर्जीको सामान्य औषधि दिएर पठाएको उनले गुनासो पोखिन् । बिरामी निको नभएपछि फेरि बीएन्डबी अस्पताल गएकोमा १७ हजारको बिल आएको उनले बताइन् ।

‘घाँटी दुख्ने, बान्ता आउने, पेट दुख्ने समस्याले हामी पीडित भएका छौँ । उद्योगबाट निस्कने आवाजले रातभरि सुत्न सकिँदैन । धुलो, धुवाँका कारण बस्न सक्ने अवस्था छैन,’ उनले भनिन् ।

पुनम, उनकी जेठानीसहित गाउँका अन्य ५ जनालाई साउन २६ गते उपचारका लागि अस्पताल लगिएको थियो । डाक्टरसँग मिलेमतो गरी स्थानीय बासिन्दाको स्वास्थ्यमाथि उद्योग व्यवस्थापनले खेलवाड गरेको पुनमको आरोप छ । उपचारको क्रममा रगत, पिसाब, रक्तचाप, खकार सबै जाँच गराए पनि केही समस्या नदेखिएको भन्दै डाक्टरले फर्काएको उनले भनिन् ।

वीर अस्पतालमा जाँच गराएको एक महिनापछि पुनमले बीएन्डबी अस्पतालमा स्वास्थ्य उपचार गराएको बताइन् ।

‘वीर अस्पतालमा गराएको उपचारले मलाई निको भएन । बान्ता हुने, घाँटी दुख्ने, पेट दुख्ने समस्याका कारण बीएन्डबी अस्पताल भर्ना भएँ । एमआरआइसमेत गरायो । डाक्टरले पेटमा समस्या छ भने । १७ हजारको बिल आयो’, उनले गुनासो पोखिन् ।

अर्का एक स्थानीय सविना राई (नाम परिवर्तन)ले उद्योगीलाई नेताहरूको पूर्ण साथ र सहयोग रहेकाले समास्या समाधान हुन नसकेको बताइन् । नेता र उद्योग व्यवस्थापनको स्वार्थका कारण स्थानीय बासिन्दाबिच नै भाँजो हाल्ने काम भएको उनको आरोप छ । उनले उद्योगसँग नेताको स्वार्थ मिले मौन बस्ने र स्वार्थ नमिले जनता भिडाउने गरेकाले समस्या देखिएको बताइन् ।

जनताबाट व्यापक गुनासो आएको सम्बन्धमा धुनिबेंसी नगरपालिकाका वडाध्यक्ष माधवप्रसाद सिलवालले वातावरणीय प्रभाव स्याम्पलसहित प्रभावित क्षेत्रका जनताको स्वास्थ्य परीक्षण गराइएको बताएका छन् । सिलवालका अनुसार क्लिङ्कर बनाउँदा बढी प्रदुषण हुने हुँदा हाललाई बन्द गरिएको छ ।

सानो स्वरले बोल्दा कसैले वास्ता नगर्ने, ठुलो स्वरले बोल्दा दबाउनका लागि पुलिस बोलाउने गरेको उनको गुनासो छ । ‘सानो स्वर गरेमा उद्योगले सुन्दैन । ठुलो आवाजले बोल्यो भने उद्योगले पुलिस बोलाइहाल्छ । घाँससमेत काट्न दिँदैन । बारीमा लगाएको बालीनाली सिमेन्ट लपक्कै भएर खान नहुने अवस्था छ । नेताहरूलाई उद्योगले प्रभावमा पारेको छ । जनताको आवाज सुन्दैनन्,’ सविनाले भनिन् ।

आवतजावत गर्ने हेभी लोड भएका गाडीका कारण उद्योग आसपासका सडक बाटोसमेत बिग्रिएको, उद्योगले एक जना पनि स्थानीयलाई रोजगारी नदिएको उनको गुनासो छ ।

जनताबाट व्यापक गुनासो आएको सम्बन्धमा धुनिबेंसी नगरपालिकाका वडाध्यक्ष माधवप्रसाद सिलवालले वातावरणीय प्रभाव स्याम्पलसहित प्रभावित क्षेत्रका जनताको स्वास्थ्य परीक्षण गराइएको बताएका छन् । सिलवालका अनुसार क्लिङ्कर बनाउँदा बढी प्रदुषण हुने हुँदा हाललाई बन्द गरिएको छ ।

‘जनस्तरमा प्रदुषणबारे व्यापक गुनासो आएपछि हामीले उद्योगका व्यवस्थापकसँग गम्भीर छलफल ग¥यौँ । क्लिङ्करका कारण बढी प्रदुषण हुँदोरहेछ । हाललाई उद्योग बन्द गरिएको छ । उनीहरूले वर्षको दुई पटक वातावरणीय मूल्याङ्कन गर्दोरहेछन्’, सिलवालले भने, ‘उनीहरूले दिएको रिपोर्टलाई विश्वास गर्ने अवस्था छैन । यस विषयमा दसैँपछि विज्ञको टोलीसहित मनिटरिङ गर्छौं ।’

धुनिबेंसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले वातावरण र सामाजिक प्रभावको सम्बन्धमा स्थानीयबाट आएको समस्या समाधानका लागि आफू गम्भीर भएको बताए । तर अस्वस्थ भएर काठमाडौँमा उपचार गराइरहेकाले पछिल्लो अवस्थाबारे आफूलाई केही थाहा नभएको उनको भनाइ छ ।

‘उद्योगबाट निस्किएको धुलो, धुवाँ व्यवस्थापनका लागि म निकै गम्भीर छु । दसैँ वा तिहारपछि यसै विषयमा सबै पक्षसँग छलफल गर्नेछु’, उनले भने ।

बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री गंगानारायण  श्रेष्ठले स्थानीयको समस्याबारे मुख्यमन्त्रीसँग छलफल गर्ने आश्वासन दिएका छन् । कामको सिलसिलामा गत साता काठमाडौँ आएका उनले हेटौंडा फर्किए लगत्तै समस्या समाधानको उपाय खोजिने बताए ।

‘हामी पनि अहिले हेटौंडा सिमेन्ट उद्योग परिसरमै बसेका छौँ । त्यहाँ कुनै प्रदुषण भएको देखिएन । प्रदुषण नियन्त्रणका विषयमा अत्याधुनिक प्रविधि आएका छन्’, उनले भने, ‘धुनिबेंसीको समस्या समाधानबारे मुख्यमन्त्रीसँग छलफल गरेर कदम अगाडि बढाउँछु ।’

केएल दुगढ ग्रुपको लगानीमा २०७२ सालमा  प्लान्ट जडान गरेर सिमेन्ट उत्पादन सुरू गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे
लेखकबाट थप