कन्सर्टको बिचमा फ्यानले पैसा फ्याकेपछि भड्किए आतिफ असलम
शनिबार, १६ मङ्सिर २०८०, १४ : १२
काठमाडौँ । पाकिस्तानी गायक आतिफ असलमको एउटा भिडियो बाहिरिएको छ । भिडियोमा उनी कन्सर्टमा छन् । कन्सर्टमा उनी गीत गाइरहेका थिए । यति नै बेला एक फ्यानले उनीमाथि नोटको वर्षात् गरे ।
फ्यानको यो व्यवहार आतिफलाई फिटिक्कै मन परेन । गीत गाउँदा गाउँदै अडिए । ममाथि पैसा उडाउनु भन्दा कसैलाई दान गरिदिनु भन्दै उनले ती फ्यानलाई सम्झाए ‘तपाईं धनी हुनुहुन्छ । तर यसरी पैसा वर्षाउनु अपमानजनक हो । यो त पैसाकै अपमान भयो,’ भाइरल भिडियोमा उनले भनेका छन् ।
ती फ्यानलाई स्टेजमा आएर पैसा उठाउन भने । तर उनले मानेनन् । यही विवादमा केही बेर कन्सर्ट रोकियो । कन्सर्टहरूमा फ्यानहरूले पैसा वा सामान फ्याँक्नु नौलो कुरा होइन । सन् २०२३ मा एउटा कन्सर्टमा एक महिला फ्यानले पनि अमेरिकी गायिका टेलर स्विफ्टमाथि आफ्नो ब्रासलेट फ्याकेकी थिइन् ।