आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

प्रचण्डले किन रोजे बाँफिकोट गाउँपालिकाको दुई वडा ?

सहिदको सपना नभुल्न प्रचण्डलाई सुझाव
शनिबार, १६ मङ्सिर २०८०, १५ : २१
शनिबार, १६ मङ्सिर २०८०

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत बिहीबार रुकुम(पश्चिम)को बाँफिकोट गाउँपालिकास्थित ६ र ७ वडामा पुगे ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान ९ बजे रुकुम पुगेका उनी दिउँसो ३ बजेसम्म विभिन्न कार्यक्रममा सहभागी भए । गाउँपालिका प्रवेश लगत्तै उनी ६ र ७ वडाको संयुक्त बैठकमा सहभागी भए । त्यसपछि सहिद परिवार समाज, घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको संयुक्त बैठकमा उनी सहभागी भए । माओवादीको आधार इलाका रहेको रुकुम आएर सहिद, बेपत्ता, घाइते तथा अपाङ्गता भएका परिवारलाई भेट्न पाउँदा खुसी लागेको उनले बताएका थिए ।

‘गाउँमै आएर भेट्न पाउँदा खुसी लागेको छ । सहिदहरूको बलिदान नभएको भए, बेपत्ता तथा घाइते योद्धाहरूको योगदान नभएको भए देश यहाँसम्म आइपुग्न सम्भव थिएन । तसर्थ, यो परिवर्तनको हकदार तपाईहरू हुनुहुन्छ’, उनले भनेका थिए ।  

फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरिएको भन्दै उनले यो जनयुद्ध, सहिद, बेपत्ता भएकाहरु र घाइतेहरूप्रति उच्च सम्मान भएको बताएका थिए ।  

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विधेयक सदनमा पुगेको र यो विधेयक टुङ्गिएपछि जनयुद्धको परिपुरण, सम्मान, परिचयपत्र लगायतका काम सम्पन्न हुने, सहिद पार्क, स्तम्भ बनाउने उनको प्रतिवद्धता थियो । ‘सहिद परिवार, बेपत्ता योद्धा र अपाङ्ग व्यक्तिहरूको समस्या दीर्घकालीन रूपमा समाधान हुने, मासिक भत्ता लगायतका कामहरू व्यवस्थित भएको र बाँकी काम पनि सम्पन्न गरिनेछ,’ उनले भने ।

देशमा राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि शान्ति प्रक्रियाका बाँकी काम टुङ्गाउनुपर्नेमा सरकार लागिपरेको उनको भनाइ थियो ।

कार्यक्रममा घाइते योद्धा, सहिद परिवार र बेपत्ता योद्धा परिवारका प्रतिनिधिहरूले व्यवस्था परिवर्तका लागि रुकुमेली जनताको ठूलो त्याग र तपस्या रहेकाले सहिदको सपना नभुल्न प्रधानमन्त्रीलाई सुझाएका थिए । केही प्रतिनिधिले पार्टी नेतृत्वको कार्यशैली र जीवनशैलीमाथि प्रश्न उठाएका थिए । जवाफमा प्रचण्डले यसपटक पार्टीका सबै नेता जनताको घरदैलोमा जानैपर्ने निर्णय गरेकाले पार्टी रूपान्तरणको महत्त्वपूर्ण आधार भएको उनले जिकिर गरेका थिए ।

‘यो पार्टी रूपान्तरणको महत्त्वपूर्ण आधार हो । फिल्डमै पुगेर पार्टी र जनताको अवस्था बुझ्न म पनि तपाईंहरू माझ आएको छु’, उनले भनेका थिए ।

अन्तक्र्रिया कार्यक्रम सकिएपछि प्रधानमन्त्री प्रचण्ड अगुवा कार्यकर्ताहरूको प्रशिक्षणमा सहभागी भए । सो कार्यक्रममा सहभागी हुन जिल्लाभरबाट अगुवा कार्यकर्ता भेला भएका थिए । प्रशिक्षण कार्यक्रममा झण्डै दुई घण्टा बिताएका उनी त्यसपछि सहिद मेला उद्घाटन कार्यक्रममा सहभागी भएका थिए । उक्त कार्यक्रमलाई सम्बोधन गरेपछि उनी काठमाडौँ फर्किएका थिए ।

प्रचण्डले किन रोजे बाँफिकोटको ६ र ७ वडा ?

साउन २१ गते राजधानीको कमलादीमा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले तीन महिने विशेष रूपान्तरण अभियानको क्रममा आफू ७ प्रदेशको ७ वडामा जाने प्रतिवद्धता जनाएका थिए ।

387561756_6882493151809967_4351880841878719609_n

साथै उनले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि ७ प्रदेशको ७ वडामा जाने बताएका थिए । पूर्वनिर्णय अनुसार भदौ १६ गते ७५३ पालिकाका ६ हजार ७४३ वडामा एकसाथ अभियानको उद्घाटन गरे पश्चात काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित घट्टेडाँडाका स्थानीयसँग अन्तक्र्रिया गरेका थिए । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ उपत्यकाभर नराम्रो हार व्यहोरेको माओवादी चन्द्रागिरि–२ मा प्यानलै विजयी भएको थियो ।

वडास्तरको कार्यक्रममा प्रत्यक्ष सहभागी भएको यो उनको दोस्रो कार्यक्रम हो । १० वटा जिल्ला रहेको कार्णली प्रदेशमा जनयुद्धमा रोल्पापछि सबैभन्दा बढी सहिद भएको जिल्ला रुकुम हो । नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार रुकुममा मात्रै ५८४ जना सहिद भएका थिए । तीमध्ये बाँफिकोटका ६ र ७ सहिदको वडाका रुपमा परिचित छ । रवि गाउँमा मात्रै ११ जना सहिद भएको रुकुम(पश्चिम)का इन्चार्ज गगन खड्काले जानकारी दिए ।

उनले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उक्त वडा रोज्नुको पहिलो आधार सहिदको बलिदानी भएको तर्क पेस गरे । दोस्रो, रुकुम(पश्चिम) जनयुद्धको आधार इलाका भएको र व्यवस्था परिवर्तनमा त्यहाँका जनताको ठुलो योगदान भएकाले प्रचण्ड बाँफिकोट आएको उनको दाबी छ ।

माओवादी जिल्ला संयोजक रहेका गोविन्द अर्थात् सचिन रोकाले सहिद मेलालाई उद्घाटन गर्न प्रचण्ड रुकुम(पश्चिम) आएको जिकिर गरे । त्यस्तै ७ प्रदेशको ७ वडामा जाने प्रचण्डको पूर्वघोषित कार्यक्रम अनुसार उनी रुकुम आएको रोकाको भनाइ छ ।

‘उहाँले तीन महिने विशेष रूपान्तरण अभियान अन्तर्गत ७ प्रदेशको ७ वडामा जाने प्रतिवद्धता जनाउनु भएको थियो, पूर्वघोषित कार्यक्रम अन्तर्गत नै उहाँ यहाँ आउनुभएको हो’, उनले  भने, ‘अर्को सहिद मेला उद्घाटनका लागि हाम्रो आग्रह स्वीकार गरेर आउनुभएको हो । सोही अनुसार प्रधानमन्त्रीज्यू जिल्लाको विभिन्न कार्यक्रममा सहभागी हुनु भएको हो ।’

रुकुम(पश्चिम) उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माको जिल्ला भएकाले  उनकै विशेष आग्रहमा प्रचण्ड त्यहाँ गएका थिए । यद्यपि सिङ्गो कर्णाली माओवादीको आधार क्षेत्रका रुपमा लिइन्छ । पुरानो राज्यसत्ता परिवर्तनका लागि रोल्पा लगायत सिङ्गो कर्णालीको भूमिका अतुलनीय रहेको जिकिर गर्दै प्रचण्डले फेरि शक्ति आर्जनका लागि आफू कर्णाली आएको दाबी गरेका छन् ।

‘फेरि अर्को क्रान्तिको सुरूवात, समाजवादी आन्दोलनको सुरूवातका लागि पनि अभियान हो । फेरि जनतालाई जागृत र संगठित गर्नुपर्छ । समाजवादी आन्दोलनको नेतृत्व हामीले बाहेक अरूले गर्न सक्दैन । तसर्थ, हामीले नै यसको नेतृत्त्व गर्नुपर्छ,’ उनले भनेका थिए, ‘हामीले जनतासँग सुदृढ सम्बन्ध गाँस्नु पर्छ, रूकुम जिल्लामा उदाहरणीय काम भएका छन् । यसले देशभरिको पार्टीलाई ऊर्जा दिएको छ । यसलाई बचाउँदै थप उपलब्धि हासिल गर्न लाग्नुपर्दछ ।’

६ वटा पालिका रहेको सो जिल्लामा आठबीसकोट, चौरजहारी र मुसीकोट नगरपालिकाका साथै बाँफिकोट, त्रिवेणी र सानीभेरी गाउँपालिका छन् । तीमध्ये गएको स्थानीय तह निर्वाचन अन्तर्गत बाँफिकोट गाउँपालिकामा अध्यक्षसहित दुई वडाध्यक्ष कांग्रेसले जितेको थियो । उपाध्यक्षसहित ८ वडाध्यक्ष माओवादी केन्द्र विजयी भएको थियो । माओवादीको आन्तरिक विवादका कारण अध्यक्ष र दुई वडाध्यक्ष पराजित भएको इन्चार्ज खड्काको निष्कर्ष छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे
लेखकबाट थप