आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

रोमाञ्चक खेलमा दक्षिण अफ्रिका १ विकेटले विजयी

शनिबार, १६ मङ्सिर २०८०, २२ : ५४
शनिबार, १६ मङ्सिर २०८०

चेन्नई । आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई निकै रोमाञ्चक खेलमा १ विकेटले पराजित गरेको छ । पाकिस्तानले प्रस्तुत गरेको २ सय ७१ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६ बल अगावै ९ विकेटको क्षतिमा पछ्यायो ।

निकै दबाबबिच केशव महाराज र ताब्रियास शाम्सीले आफ्नो विकेट जोगाउँदै दक्षिण अफ्रिकालाई जीतसम्म डोर्‍याएका हुन् । टोलीका लागि एइडेन मारक्रमले सर्वाधिक ९१ रन रन बनाए । उनले ९३ बल खेल्दै ७ चौका र ३ छक्का हिर्काए । त्यस्तै, डेभिड मिलरले २९ रन तथा कप्तान तेम्बा बाभुमाले २८ रनको योगदान दिए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ३ तथा ह्यारिस राउफ, मोहम्मद वसिम र उस्मा मिरले २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाएर २ सय ७० रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजम र साउद सकिलले अर्धशतकीय पाली खेले । कप्तान बाबरले ६५ बलमा ४ चौका र १ छक्का हिर्काउँदै ५० रन बनाएर तब्रायाज शाम्सीको बलमा आउट भए । शकिलले ५२ बलमा ५२ रन बनाए । उनले ७ चौका हिर्काए ।

पाकिस्तानका अन्य ब्याट्सम्यानले राम्रो सुरुवात गरे पनि त्यसलाई ठुलो स्कोरमा परिणत गर्न सकेनन् । शादाब खानले ४३ रन तथा मोहम्मद रिजवानले ३१ रन बनाउँदा मोहम्मद नवाजले २४ रनको योगदान दिए । उस्मा मिरले भने ब्याटिङ नै गरेनन् । दक्षिण अफ्रिकाका लागि शाम्सीले ४ विकेट लिए भने मार्को यानसेनले ३ तथा जेराल्ड कोटजीले २ विकेट लिए ।

पाकिस्तानको यो प्रतियोगितामा लगातार चौथो हार हो । पराजयपछि पाकिस्तानको सेमिफाइनलको यात्रा कठिन बनेको छ । उता ६ खेलबाट पाँचमा जीत हासिल गर्दै दक्षिण अफ्रिका अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दक्षिण अफ्रिका र एक खेल कम खेलेको भारतको समान अंक भए पनि नेट रन रेटको आधारमा दक्षिण अफ्रिका एक स्थानमाथि उक्लेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप