आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युरोपियन लिग खेलिसकेका डियाग्ने धनगढी एफसीमा अनुबन्धित

आइतबार, १७ मङ्सिर २०८०, १० : ३४
आइतबार, १७ मङ्सिर २०८०

काठमाडौँ । युरोपियन लिगहरू खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्व रक्षक फलू डियाग्नेलाई  दोस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल)का लागि धनगढी एफसीले विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।

‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साबिक उपविजेता धनगढी एफसीले एक विज्ञप्ति जारी गर्दै दोस्रो विदेशी खेलाडीका रूपमा सेनेगल डियाग्नेलाई अनुबन्धित गरिएको जनाएको हो । यसअघि धनगढी एफसीले नेपाली फुटबलमा सफल देखिएका विदेशी खेलाडी ओलाआले अफिजलाई अनुबन्ध गरिसकेको छ  । 

यूरोपको विभिन्न चर्चित क्लबहरूबाट खेलिसकेका ३४ वर्षीय डियाग्नेले गत वर्ष चेन्नाईन एफसीबाट भारतको पहिलो श्रेणीको लिग इन्डियन सुपर लिग समेत खेलेका थिए । सन् २०१६ मा केप भर्ड विरुद्धको खेलमा सेनेगल राष्ट्रिय टिमका लागि डेब्यु गरेका डियाग्नेले ४ क्याप जितेका छन् । उनले खेलेको खेलहरुमा सेनेगल अपराजित रहेको थियो । 

फ्रान्सको लिग वान क्लब एफसी मेट्जबाट व्यवसायिक जीवन सुरु गरेका फलू डियाग्नेले जेर्मन बुण्डेसलिगा क्लब फ़्राइवर्गबाट युरोपा लिग समेत खेलिसकेका छन् । त्यस्तै उनले जर्मनकै अर्को प्रतिष्ठित क्लब वेडर ब्रमनबाट बुण्डेसलिगा र स्टेड रेन्नैसबाट फ्रेन्च लिग खेलेका थिए । फलाउसँग टर्किश र भारतीय फुटबलको पहिलो श्रेणीको समेत अनुभव रहेको छ । एनएसएल आवद्ध विदेशी खेलाडीमध्ये हालसम्म उनी प्रतिष्ठित लिग खेल्ने सबैभन्दा अनुभवी खेलाडी समेत हुन् ।

धनगढीसँग आवद्ध हुन पाउँदा खुसी व्यक्त गर्दै डियाग्नेले भारतमा यसअघि खेलिसकेकाले यस क्षेत्रको फुटबलबारे जानकार रहेको र आफ्नो सम्पूर्ण अनुभव नेपालमा पोख्ने प्रतिबद्धता व्यक्त गरे । 

'विदेशी खेलाडी धनगढी एफसीमा सम्झौता गर्न पाउँदा एकदमै खुसी छु । पहिलो सिजनको उपविजेता टोलीमा सम्झौता गर्न पाउँदा निकै हर्षित छु। अघिल्लो सिजन भारतमा खेलेको हुनाले नेपालको फुटबलको बारेमा थोरै भए पनि जानकार छु । आफ्नो तर्फबाट सक्दो मिहिनेत गर्दै टोलीलाई एकस्थान माथि पुर्याउन भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु । अवसरका लागि टोली सम्पूर्ण टोली व्यवस्थापकलाई धन्यवाद ज्ञापन गर्दछु,' सम्झौतामा डियाग्नेले भने ।

धनगढी एफसीका अध्यक्ष सुवास शाहीले युरोपियन लिगको अनुभव भएका खेलाडीलाई नेपालमा भित्र्याउन पाउँदा खुसी व्यक्त गर्दै उनको अनुभवले नेपाली खेलाडीलाई समेत सिक्ने अवसर हुने बताए ।

'धनगढी एफसीमा यस सिजन विदेशी खेलाडी फलू डियाग्नेलाई सम्झौता गर्दा हामी एकदमै उत्साहित छौँ । ठुलो युरोपियन लिगको अनुभव भएका खेलाडी नेपाल आउँदा यसले नेपाली फुटबलको विकाशमा टेवा पुग्ने विश्वास गरेको छु । धनगढी एफसीलाई गत सिजनमा तपाईहरु सम्पूर्णले देखाएको माया र सद्भावप्रति आभार व्यक्त गर्दैछौं । यस सिजनमा पनि यहाँहरूको अपार मायाको अपेक्षा राखेका छौँ,' शाहीले भने । 

नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मङ्सिर ८ देखि पौष २१ गतेसम्म काठमाडौँको दशरथ रङ्गशालामा हुँदै छ । 

एनएसएलको यस सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका प्रतिभावान मिडफिल्डर आशिष चौधरी रहेका छन् ।  आशिषले शहीद स्मारक लिग ‘ए’ डिभिजन लिगमा चर्च ब्याइज यूनाइटेडबाट खेल्दै टोलीलाई लिगको बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यस्तै अक्सनबाट धनगढी एफसीले साइमन लिम्बु, निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिश रत्न छुन्जु र रामचन्द्र वाजीलाईं अनुबन्ध गरिसकेको छ ।

प्रशिक्षकमा भने धनगढी एफसीले युगोलकिशोर राईंलाई निरन्तरता दिएको छ । धनगढी एफसीको ब्रान्ड एम्बास्डरमा कलाकार तथा चर्चित टिकटकर पवी साँकी रहेकी छिन् । धनगढी एफसीले आफ्नो पहिलो खेल आगामी नोभेम्बर २६ तारिखमा वीरगन्ज यूनाइटेडसँग खेल्ने तालिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप