आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कथा

हुँदा खानेको दसैँ

शनिबार, ०८ वैशाख २०८१, ११ : २६
शनिबार, ०८ वैशाख २०८१

घडी टिकटिक टिकटिक बजिरह्यो । हुन त अचेल अलार्मले भन्दा पहिले नै जिम्मेवारीले उठाउन थालिसकेको छ तर पनि मानिस प्रविधिको दास भनेझैँ अलार्म लगाइहाल्ने बानी । उठेर छतमा गएँ र तल गल्लीतिर नजर लगाएँ । सहर त साँच्चै सुनसान भइसकेछ । 

एकाध मानिस कुदिरहेका थिए। सहर, रहरै रहरको सहर, जहाँ सपनाहरु धितो राखेर हिँड्न बाध्य छन् मानिसहरु । साइकल चलाउनेलाई पाखे भन्ने सहरिया धनाढ्य व्यक्तिहरु पनि व्यायाम गर्न साइकल नै चढेर हिँडेको देख्दा फुस्रे हाँसो छुटेर आयो । यस्तै यस्तै कल्पनामा एकछिन डुबुल्की मार्दा मार्दै ६ बजिसकेछ ।

‘आमा, म एकछिन विद्यालय पुगेर आउँछु है’ भन्दै घरबाट निस्किएँ । 

ओहो, हिजो आज चिसो बढेछ। फटाफट हिँड्दै कलंकी चोकसम्म आइपुगेँ। घर जानेको लर्को देखेर अचम्मित भएँ। गाउँ त गाउँ नै हो नि।  उसै पनि सहरमा घरहरु नजिक छन् तर मन टाढा अनि गाउँंघरमा घरहरु टाढा टाढा तर मन नजिक हुन्छ भनेर सुन्दै आइएकै हो । गाउँको माया नलाग्ने थियो भने सहरै शुन्य पारेर किन मानिसहरु गाउँ जान्थे होलान् र? 

एक्कासि आवाज आयो ‘ओ दिदी, पोखरा पोखरा, यता आउनुस्’ फेरि अर्कोतिरबाट आवाज आयो, ‘पूर्व पूर्व, एक सिट मात्र बाँकी ।’ 

अरे यार, झोला बोकेर चोकमा उभिन पनि नहुने भएछ । हुन त म पनि यात्री नै थिएँ तर काठमाडौ भित्रकै । म बोलेँ, ‘म कतै जाने होइन दाजु ।’

चियाको पारखी म छेवैको चिया पसले बाजेलाई एउटा चियाका लागि अनुरोध गरेँ । टुसुक्क बेन्चमा बसेँ र गन्तव्यतिर लागिरहेका अनगिन्ती यात्रीहरु नियाल्न थालें ।

हुन त जिन्दगी आफैमा एउटा यात्रा हो । अन्तिम गन्तव्य मृत्यु नै हो, यो जान्दा जान्दै पनि परिस्थिति र आवश्यकताले सिर्जित गन्तव्यमा पुग्नैपर्ने कसैलाई रहर त कसैलाई बाध्यता ।

बहिनी अलि उता सर्नु त । एक दाजु मुस्कुराउँदै मसिनो स्वरले बोल्नुभो। म थोरै सरेँ। चिया हातमा लिएर पिउन थालेँ।

दाजु एक्लै भुन्भुनाइरहनु भो। दसैँ हो कि दशा हामी गरिबलाई, नआए नि हुने। म बोले, ‘के भो दाजु?’

दाजु बोल्न लाग्नु भयो, बिहानै तीन बजेदेखि आएको छु। भारी भेटाइएन । गाउँ जानेको लर्कोले यता आफ्नो हातमुख जोर्न हम्मे हम्मे पर्ने भो गाँठे। यति खेरसम्म पन्ध्र सय, दुई हजार कमाइसक्थेँ । आज के भो के भो ?’

म बोले, ‘भर्खर त साढे छ हुँदैछ दाजु । बाहिरका गाडीहरु बल्ल थानकोट बाट छिर्दै होलान् ।’

आफूले लगाएको पुरानो क्याप निकालेर लामो सास फेर्दै उनले भने, ‘जता नि राजनीति बहिनी । भारी पाउनसमेत चाप्लुसी गर्नुपर्ने। टैट, के जमाना आयो आयो । गुटबन्दी त्यस्तै। मलाई पनि साथमा लिनु भन्दा हुँदैन अरे ।’

म छक्क परेँ । उहाँ बोल्दै जानुभयो। मलाई सुनाउनु भएको त होइन। सायद नियमित चिया खाने पसल भएकाले उहाँ आफ्नो दुःखेसो चिया पसले बाजेसँग बाँड्दै हुनुहुन्थ्यो ।

हे भौमान्, दुःख नभएका मानिस कोही छैनन् क्यार । आफूलाई आफ्नै समस्या ठूलो लाग्ने म, उहाँको वार्तालापले म त धेरै सुखी रहेछु भन्ने निष्कर्ष निकाल्न पुगेछु ।

चियावाला बाजे बोल्नुभयो, ‘श्यामलाई भनेनौ? उसले चालक र सहचालक प्रायः चिनेको छ । काम पाइहाल्थ्यौ त ?’

उनी ननस्टप शैलीमा बोल्न थाले, के को पाउनु हो बाजे ? हानथाप छ । आफै गरौँ, आफैँ खाउँ यही त हो। आजको कमाइले छोरोलाई नयाँ लुगा किन्दिनुछ । आज लुगा लैजान सकिएन भने भरे बसिखान दिन्न होला केटोले ।

कोठाभाडा पनि तीन महिना भयो, तिर्न नसकेको । गेट भित्र छिर्न पाएको छैन, कौसीबाटै घरबेटी बा नयाँ नोट कहिले पाउने भन्न थाल्छन् । चामल, दाल, औषधि पानी गर्दै नसकिने भो । बचत फिटिक्कै छैन, विरक्त लागेर आउँछ । गाउँबाट फोन बजेको बज्यै छ । घर कहिले आउने भनेर ? यता हालत खराब छ । रित्तै गाउँ जाने कुरो नि भएन । जान आउन आधा लाख नबै हुन्न । बिजोग भो बाजे । 

गाउँतिर सोच्दा हुन्, सहरमा मस्तले बसेको छ, गाउँको के याद आउँथ्यो होला र ? तर भोगाइ आफैलाई मात्रै थाहा छ, हो । १० वर्षे काठमाडौ बसाइँ, उपलब्धि शुन्य । व्यापार गर्यो घाटा, निर्माणका काम पनि हुनै छाडे । बल्लतल्ल काम पाइन्छ, ठेकेदारले ज्याला दिने बेला फनफनी घुमाउने । फोन गर्यो, ब्यालेन्स मात्र सत्यानास । 

काम गर्न के को लाज हो र ? भारी बोकेरै भए नि गुजारा त गर्नै पर्यो । ४ वर्ष भयो यही नाम्लोलाई दोस्त बनाको। दोस्ती पनि यस्तो गज्जब भो कि नमरुन्जेल नछोड्ने भो यसले। 

म उनको हाउभाउ हेर्दै थिएँ र उनका कुरा सुन्दै पनि । एक्कासी नाम्लोले आफ्नै हातमा प्याट्ट हाने । अनि फेरि गनगनमा लागे ।

मुग्लान नलागी केही होला जस्तो लागेन । नाम्लो लियो, गाडी आएपछि कुदेर गयो । उता अर्कैले काम लिइसकेको हुन्छ । इमान्दारिता नै अभिशाप बने झैँ लाग्छ । खोइ के जिन्दगी पाइयो पाइयो ? न पढ्न सकियो न कमाउन सकियो, केही न केही । उसै जिन्दगी जाने भो। सन्तान पढाउन पनि नसकिएला जस्तो छ हौ बाजे। 

चियाको चुस्की लिँदै भरिया आफ्ना दुःखेसो एक तमासले व्यक्त गर्दै थिए ।  उता चिया पसले बाजे धमाधम चिया बेच्न व्यस्त देखिनुहुन्थ्यो। उहाँले सोध्नुभयो, ‘अँ साँच्चै, श्रीमतीको अवस्था कस्तो छ त ठुले ? बच्चो त ठिक छ नि ?’

दाजु बोले, अवस्था त ठिकै छ हौ बाजे। मेरै गरिबीका कारणले भने सिध्याउँछ कि जस्तो लाग्छ । एक महिने सुत्केरी । केही मीठो खान पाएकी छैनन् । दाल भात तरकारी जुटाउनै मुश्किल । हप्तादिन भयो, मासु खान पाइनँ भन्दै थिइन् तर क्यार्नु अवस्था नाजुक छ । काम पाउन नै हम्मे हम्मे छ । 

यसो काम आउँदा भन्नु है भन्यो साथीभाइलाई, आफै टप्काइ सक्ने। दुश्मनलाई माफ गर्न सजिलो साथी बनेर पछाडिबाट छुरा प्रहार गर्नेलाई भने माफी दिन नसकिने रहेछ । परेको बेला सहयोग गरेका साथीहरु, आफैले काम लगाइदिएकाहरु अहिले काम आउँदा वास्ता गर्दैनन् । पर्दा प्रयोग गरे, स्वार्थ सकियो अब हामीलाई के सम्झिन्थे र ? दिक्कै लागेर आउँछ हो बाजे । कुराकानी जति गरे नि नसकिने । ल त बाजे, बसहरु धमाधम आउन थाल्यो । म लागेँ, पछि आउँला । कतै केही काम आयो भने फोन गर्नु ।

....

मेरो पनि चिया लगभग सकिसकेको थियो। बाल्यकाल आफ्नो पनि त्यस्तै अभाव र समस्यामा बितेको भएर पनि दाजुको कुराहरुले विगतलाई मानसपटलमा ताजा गराइरहेको थियो। 

कुरा गर्दै जाँदाको त्यो मलिन अनुहार, चाउरिएका गाला अनि जिम्मेवारीको त्यो ठूलो बोझको पीडा स्पष्ट झल्किरहेको थियो ती दाजुको। लखर लखर काँधमा नाम्लो बोकेर सडकतिर लम्किए । 

बाहिर हाँस्दै हिँडेका ती आम मानिस भित्रका दर्दनाक कथाहरु भोग्नेलाई मात्रै थाहा हुने रहेछ । झट्ट हेर्दा मुस्कुराउँदै आएका ती दाजैका हरेक शब्दले समाजको एक वर्गको यथार्थ चित्रण गरेको थियो । हुँदा खाने र हुने खानेको दसैँ कहाँ एउटै हुन्छ र ? सोच्दै म पनि आफ्नो गन्तव्यतिर लाग्न भनेर उठेँ ।

हो रहेछ, जसले लेखेर वा भनेर व्यक्त गर्छन् कथा बन्दो रहेछ, नभए व्यथा । उहाँजस्तै कति मानिसहरु होलान्, जसको दसैँ यस्तै अभाव र तनावबिच सकियो होला ।

कथाकार शिक्षिका हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रविना महर्जन
रविना महर्जन
लेखकबाट थप