आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बहस

‘वैशाख वैशाखजस्तो रहेन, चैतमा सार्नुपर्‍यो’

सोमबार, १८ मङ्सिर २०८०, १३ : ४४
सोमबार, १८ मङ्सिर २०८०

पोखरा । दसैँ आउन १ महिना बाँकी छँदै गोरखाका केही गाउँमा दसैँ मनाइन्छ । अन्यत्र असोजमा दसैँ पर्दा गोरखाको छोप्राकमा भदौमै दसैँ मनाइन्छ । कात्तिकमा दसैँ परे छोप्राकमा असोजमै दसैँ मनाइन्छ ।

यहाँका सबै विद्यालय र गुठीमा सामूहिक रुपमा दसैँ मनाउने चलन छ । समयचक्रमा अहिलेको पात्रोभन्दा २४ दिन अघि सरेको उनीहरुको बुझाइ छ । छोप्राकका अगुवाहरुले २०६९ साल यता एक महिनाअघि दसैँ मनाउन थालेका हुन् । सामान्यतः २४ घण्टामा १ दिन हुन्छ । तर गणितीय हिसाब मिलाउँदा हरेक दिन ३.२७ सेकेण्ड कम हुन्छ । दिन हिसाब गर्दा ७२ वर्षमा १ दिन कम हुने अभियन्ता किशोर रेग्मी बताउँछन् ।

‘खसीबोका काट्ने, माइती मावली जाने र टीका थाप्ने भदौमै हो । अर्काे दसैँ यहाँ मनाइँदैन । जस्तो दसैँ अन्यत्र मानिन्छ, त्यस्तै रौनक यहाँ पनि हुन्छ । कुनै फरक छैन,’ उनले भने, ‘दसैँमात्रै होइन, सबै चाडबाड हामीले अन्यत्रभन्दा १ महिना अघि मनाउछौँ । सरकारले पनि यसलाई स्वीकार गरेको छ तर कार्यान्वयन गरेको छैन ।’

विक्रम सम्वतको सुरुआत हुँदा वैशाखको निर्धारण निकै अध्ययन र अनुसन्धानबाट गरिएको देखिन्छ । दिनरातको अवधि बराबर । सूर्य ठिक पूर्वबाट उदाउने । न जाडो, न गर्मी अर्थात् ठिक्कको मौसम । वर्षारम्भ हुने समय । तर आजभोलि माथिका कुनै पनि तथ्य अपवाद बाहेक वैशाख १ सँग मेल खाँदैन । सबै धर्ममा पात्रोअनुसार संस्कार चल्छ । विभिन्न ग्रहलाई हेरेर पात्रो बनाइन्छ । खगोल विज्ञानका अनुसार हरेक दिन साढे ३ सेकेण्ड समय घट्दै जान्छ । समय घट्दै जाँदा ७२ वर्षमा एक दिन कम हुन्छ । नेपालको पात्रो २ हजार वर्षसम्म एउटै छ । विज्ञान र परम्परालाई समेत हेरेर दसैँ एक महिना अघि सार्नुपर्ने अभियन्ताहरुको दाबी छ । नेपाल सरकारले २०६५ पुस १६ गतेको मन्त्रिपरिषद् बैठकबाट २०६६ सालको चैत महिना हटाउने निर्णय गरेको थियो । मौसम र महिना नमिलेको भन्दै नेपाली पात्रोबाट एक महिना अघि सार्नुपर्ने दबाब सरोकारवालाहरुले दिइरहेका छन् । सरकारले १५ वर्षअघि गरेको उक्त निर्णय अहिलेसम्म कार्यान्वयन भने भएको छैन । खासगरी खगोलशास्त्री र पर्व सुधार समितिले नेपालको पात्रो एक महिना ढिलो भएको तर्क गर्दै आएको छ ।

तिथिहरु एक महिना अघि सरेको भन्दै पर्व सुधारको अभियान चलेको हो । तर आजभोलि बाक्लै रुपमा यसबारे बहस हुन थालेको छ । हरेक २ हजार १ सय ५० वर्षमा ऋतु एक महिनाअघि सर्ने हुँदा ऐतिहासिक मितिबाहेक तिथि महिना दिन अघि सार्नुपर्ने त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कल्याण पन्तले बताए । पन्तले यही विषयमा लामो अनुसन्धान गरेका छन् ।

‘हामीले भन्दा पर्व भन्यौँ तर समय हो । अहिलेको वैशाख १ गते वैशाखजस्तो छैन । यो २४ दिन अघि सरेको छ । चैतको ६ वा ७ गते वैशाख सरेको छ,’ उनले भने, ‘जुनबेला वैशाख निर्धारण गर्‍यौँ, त्यतिबेला न जाडो न गर्मी थियो । दिनरात पनि बराबर हुन्थ्यो । अहिले वैशाख १ गते दिनरात बराबर हुँदै हुँदैन । ऋतु नै सरेको छ ।’

पन्तले जलवायु परिवर्तनका विषय पनि खगोलसँग जोडिएको बताए । ‘लालीगुराँस बसन्त ऋतुमा फूल्ने होइन ? अहिले लालीगुराँस फागुनमा फूल्छ । अनि जलवायु परिवर्तनका कारण फागुनमा लालीगुराँस फूल्यो भनिदियौँ । वास्तवमा त्यस्तो होइन,’ उनले अघि थपे, ‘फूल सही समयमा फूलेको छ । हाम्रो पात्रो मात्रै ढिलो भएको हो । हाम्रो पात्रो त्यही फूल अनुसार फेरिनुपर्छ ।’

यद्यपि जलवायु परिवर्तनको असर पनि केही रहेको उनको तर्क छ । आरु, गुराँस, काँस समयअघि नै फूल्न थालेका छन् । पानी पर्नुपर्ने समयमा खडेरी लाग्छ ।

अहिले नै मिति अघि नसारे आउँदो ११ हजार २ सय ७२ वर्षपछि पुस–माघमा वर्षा ऋतु र असार–साउनमा हिउँ पर्न थाल्ने उनको भनाइ छ । अहिले ऋतुमा परिवर्तन आएका कारण कुनै पनि महिनाका विशेषता एकापसमा नमिलेको पन्तको दाबी छ ।

पञ्चाङ्ग निर्णायक समितिका कारण पात्रो फेर्न समस्या भएको उनले सुनाए । ‘उहाँहरु समय विचलन भएको स्वीकार्नुहुन्छ । साउन र भदौमा पानी पर्ने भएर बर्खा ऋतु भनिएको हो । अहिले त असारमै घनघोर वर्षा हुन्छ । त्यो पनि स्वीकार्नुहुन्छ,’ पन्त भन्छन्, ‘हामीले भनेको चाहिँ असारलाई साउन भनिदिनुपर्‍यो भन्ने हो । अहिलेको पात्रो प्राकृतिक सूचक भएन भनेका हौँ । यो कुरा चाहिँ स्वीकार्नुहुन्न ।’

संस्कृत विश्वविद्यालयका प्राध्यापक श्रीराम बरालले समय सरेको भए पनि पात्रो फेर्ने कुरा सामान्य नभएको बताए । ‘छलफलबाट निष्कर्षमा पुग्नुपर्छ । पराधीन र परम्परावादी सोचबाट मुक्त भएर वस्तुवादी तथ्याङ्कलाई आधार मानेर पञ्चाङ्ग निर्माण गर्नुपर्छ,’ बरालले भने ।

सिद्धान्त गुरु तथा सह प्राध्यापक पूर्णभद्र वाग्ले पात्रोको सुधार आवश्यक भए पनि सर्वाङ्गीण पक्षलाई हेर्नुपर्ने बताउँछन् । ‘सुधार्नुपर्ने छ । तर यसको सर्वाङ्गीण पक्षलाई हेर्नुपर्छ,’ उनले भने, ‘सैद्धान्तिक छलफलका कुरा बाँकी छ । हाम्रा सिद्धान्तका गन्थलाई पाखा लगाउन मिल्दैन ।’

सिद्धान्त ज्योतिषको भाषामा गोल्छन्नीमा रवी देखिएको दिनमा दिनरात बराबर हुन्छ । अहिले चैत ६ गते र असोज ६ गते पर्छ । ‘गोल्छन्नी सरिरहेकै छ । पृथ्वीका दैनिक गतिमा दिनरातका कुरा हुन्छन् । वार्षिक गतिमा ऋतु परिवर्तन हुन्छ । ध्रुवीय गतिका कारण ढुनमुने गतिमा परिवर्तन आउँछ,’ वाग्ले भन्छन्, ‘गोल्छन्नी परिवर्तन भएको स्वीकार्न गाह्रो छैन । तर १ महिना हटाउँदा त चलिरहेको प्रणाली ध्वस्त हुन्छ । हामी यसलाई स्वीकार गर्ने पक्षमा छैनौँ ।’

उनले नेपालको पात्रो फेर्न भारतीय विज्ञहरुसँग पनि छलफल गर्नुपर्ने बताए । पश्चिमी मुलुकहरुमा ग्रह गतिकै कारण वर्ष पहिले नै समायोजन गरिसकेका छन् भने यूरोपमा पन्ध्रौँ शताब्दीको मध्यतिर इस्वी सम्वत सुधार गरिएको छ । बेलायत, जर्मनी, रसिया लगायत मुलुकले उतिबेलै पञ्चाङ्गमा सुधार गरिसकेका छन् । अंग्रेजी क्यालेण्डरमा हरेक वर्ष १५ मिनेटको दरले समय मिलान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप