आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘जवान भारतीयहरूले हप्ताको ७० घण्टा काम गर्नुपर्छ’

सोमबार, १८ मङ्सिर २०८०, १५ : २५
सोमबार, १८ मङ्सिर २०८०

नयाँ दिल्ली । तपाई हप्तामा ७० घण्टासम्म अफिसको काम गर्न सक्नु हुन्छ ? भारतीय व्यापारी एन. आर. नारायण मूर्तिले हालै मात्र जवान भारतीहरूले हरेक हप्ता ७० घण्टा काम गर्नु पर्ने अभिव्यक्ति दिएका छन् । भारतको आर्थिक सम्भावना पूरा भएको हेर्न चाहने हो भने युवा वर्गले हप्तामा ७० घण्टा काम गर्नैपर्ने उनले जोड दिएका थिए ।

भारतको उत्पादनशीलता विश्वमा सबैभन्दा कम भएको भन्दै उनले कार्य संस्कृतिमा परिवर्तन ल्याउने जिम्मा युवाहरूको भएको बताए । भारतको ६६ प्रतिशत जनसंख्या ३५ वर्षभन्दा कम उमेरको भएको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आकडाले देखाएको छ । कार्य संस्कृति फेरेर उच्च दृढ इच्छा, अनुशासित र परिश्रमी बनाउनु पर्ने मूर्तिको भनाई थियो । आईएलओका अनुसार भारतीयहरू हप्तामा औसत ४७ दशमलव ७ घण्टा काम गर्छन् । यो विश्वमै सबैभन्दा धेरै मध्येमा पर्दछ ।

साप्ताहिक कार्य अवधिको आधारमा भारत विश्वमा सातौँ स्थानमा छ । भारतको भन्दा धेरै कार्य समय भएका देशहरू कतार, कङ्गो, लेसोथो, भुटान, गाम्बिया र संयुक्त अरब इमिरेट्स हुन् । मूर्तिको पछिल्लो अभिव्यक्तिले सामाजिक सञ्जाललाई तरङ्गित बनाएको छ । कयौँले उनको यो विचारको आलोचना गरेका छन् । मूर्तिले सन् १९८१ मा इन्फोसिस स्थापना गरेका थिए । अमेरिकी आर्थिक पत्रिका फोब्र्सका अनुसार मूर्तिको नेटवर्थ ४ अर्ब ३० करोड डलर रहेको छ । मूर्ति भारतीय मूलका बेलायती प्रधानमन्त्री ऋषि सुनाकका ससुरा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप