आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष दश समाचार

शुक्रबार, १४ वैशाख २०८१, २० : ३३
शुक्रबार, १४ वैशाख २०८१

आज २०८० कार्तिक १२ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा संयुक्त राष्ट्रसंघका महासचिव राजनीतिक भेटवार्तामा व्यस्त, व्यापार घाटा २ प्रतिशतले बढ्यो, टी–२० विश्वकप क्वालिफायरका लागि ८ टोली भिड्दै, मुगु हत्याकाण्ड अनुसन्धानका लागि डीआईजी नै घटनास्थलमा, एनआरएनएको बैंक खाता रोक्का गर्न मागसहित निवेदन, राष्ट्रसंघका महासचिवले सम्बोधन गर्ने भएपछि सिँगारियो संसद भवन, माओवादी केन्द्रको विशेष रुपान्तरण अभियानको म्याद थपियो, बैंकिङ कसुर सम्बन्धी विधेयक संसदमा लगायत छन् ।

१. संयुक्त राष्ट्रसंघका महासचिव राजनीतिक भेटवार्तामा व्यस्त
नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस राजनीतिक भेटवार्तामा व्यस्त देखिए । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग भेटवार्ता गरेका छन् । 

२. व्यापार घाटा २ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा व्यापार घाटा दुई प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । साउनदेखि असोजसम्मको अवधिमा व्यापार घाटा २.१५ प्रतिशतले बढेको हो ।

३. टी–२० विश्वकप क्वालिफायरका लागि ८ टोली भिड्दै
सन् २०२४ मा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्ने लक्ष्यसहित एसियाली क्षेत्रका आठ वटा राष्ट्र सोमबारदेखि नेपालमा प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी टी–२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट दुई वटा राष्ट्र आगामी टी–२० विश्वकपमा छनोट हुनेछन् । 

४. मुगु हत्याकाण्ड अनुसन्धानका लागि डीआईजी नै घटनास्थलमा
मुगुमा तीन सन्तानसहित आमाको सामूहिक हत्या भएको विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । शनिबार बिहानदेखि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको हो । शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीय छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो । 

५. एनआरएनएको बैंक खाता रोक्का गर्न मागसहित निवेदन
गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिकताका लागि प्रयास गरिरहेका अध्यक्ष आरके शर्माले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएका छन् । ११ औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोक दाहाल र सुनिल साहमार्फत शर्माले विभिन्न बैंकमा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिएका हुन् ।

६. राष्ट्रसंघका महासचिवले सम्बोधन गर्ने भएपछि सिँगारियो संसद भवन
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम निश्चित भएपछि संघीय संसद भवनलाई ध्वजापताकाले सिँगारिएको छ । नयाँ बानेश्वरमा रहेको संसद भवन परिसरका बगैँचामा सरसफाइ गरिएको छ ।  

७. माओवादी केन्द्रको विशेष रुपान्तरण अभियानको म्याद थपियो
माओवादी केन्द्रले जनतासँग विशेष रूपान्तरण अभियानको म्याद थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको अनौपचारिक पदाधिकारी बैठकले म्याद थप गर्ने निर्णय गरेको हो । बैठकले अहिलेसम्म भएका कामको समीक्षा गर्दै अभियानको क्रममा दसैँ, तिहार जस्ता ठुलो चाडपर्वले अवरोध पुर्याएकाले एक महिना समय थप गरेको सचिव गणेश साहले जानकारी दिए ।

८. बैंकिङ कसुर सम्बन्धी विधेयक संसदमा
सरकारले बैंकिङ कसुर सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० संघीय संसद्मा पेस गरेका हुन् ।

९. भारती मानन्धरले फेरि सुरु गरिन् अनशन
भारती मानन्धरले दसैँ सकिएसँगै पुनः रिले अनसन शुरु गरेकी छन् । श्रीमानको हत्यामा संलग्न रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले अनसन सुरु गरेकी हुन् ।

१०. पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा अख्तियारको छापा
निर्माणकै चरणमा रहेको र एक वर्ष अघिदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । निर्माणमा कमसल काम गरेको उजुरी परेपछि अख्तियारको प्राविधिकसहित उच्चस्तरीय टोली पोखरा आएर अनुसन्धान गरेर फर्किएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप