आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट

टी-२० विश्वकप छनोटमा नेपालको सुखद सुरुआत, सिंगापुरलाई आठ विकेटले हरायो

मङ्गलबार, १९ मङ्सिर २०८०, १२ : ०८
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । अर्को वर्ष आयोजना हुने टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपालले सुखद सुरुआत गरेको छ । नेपालले सोमबार खेलिएको आफ्नो पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले हरायो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.३ ओभरमा दुई विकेट गुमाएर एक सय ४७ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।

नेपालले पालीको गतिलो सुरुआत गरेको थियो । कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेलले टोलीका लागि ७४ रनको योगदान गरे । उनले केवल ४८ बलको सामना गरी दुई छक्का र आठ चौका हिर्काए । उनले २६ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । उनले दुई छकका र ६ चौकाको मद्दतले अर्धसतक पुरा गरेका हुन् । 

नेपालको पहिलो विकेटका रूपमा आसिफ शेख पेभेलियन फर्किएका थिए । उनले टोलीका लागि २७ रनको योगदान गरेका थिए । उनले केवल २६ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । उनलाई सिंगापुरका बलर अक्षय पुरीले बोल्ड गरेका थिए । विकेटकिपर ब्याट्सम्यान आसिफ आउट हुँदा नेपाललाई जितका ६६ बल ६२ रन आवश्यक थियो । 

त्यसपछि कुशल भुर्तेल र कप्तान रोहित पौडेलले नेपालको पाली समालेका थिए । उनीहरूले उत्कृष्ट साझेदारी गर्दै टोलीको स्कोरलाई एक सय ४१ रनसम्म पुर्‍याएका थिए । कप्तान रोहितले टोलीका लागि ३५ रनको योगदान गरे । 

आक्रामक रूपमा प्रस्तुत भएका रोहितले २४ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काए । कुशल मल्लले पनि अविजित ६ रन बनाए । उनले एक बलमा एक छक्का प्रहार गरे । नेपालले अतिरिक्त रूपमा पाँच रन पायो । नेपालले आफ्नो दोस्रो खेल मंगलबार मलेसियासँग खेल्नेछ ।

त्यसअघि सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । सिंगापुरका लागि ओपनर ब्याट्सम्यान रोहन रंगराजनले सर्वाधिक ४५ रनको योगदान गरेका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान मनप्रित सिंहले पनि २४ रनको योगदान गरे । 

आर्यवीर चौधरीले टोलीको खातामा ३७ रन थपे । नवौँ विकेटका रूपमा पेभेलियन फर्किनुअघि उनले २६ बलमा पाँच चौका पनि हिर्काएका थिए । उनलाई अविनाष बोहराले करण केसीद्वारा क्याच गराएका थिए । सिंगापुरका अक्षय पुरी १३ र कालिमुथु रमेश एक रनमा अविजित रहे । अक्षयले आठ बलमा एक छक्का र एक चौका पनि हिर्काएका थिए ।

नेपाली टोलीका बलर अविनाष बोहराले तीन विकेट लिए । उनले चार ओभरमा एक मेडनसहित ४३ रन खर्चिए । करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले पनि दुई—दुई विकेट हात पारे । सन्दीपले चार ओभरमा १८ र करणले चार ओभरमा ३६ रन खर्चिए । गुल्सनले चार ओभरमा २१ रन खर्चिए । 

सिंगापुरको पहिलो विकेट नेपाल बलर करण केसीले लिएका थिए । उनले पहिलो ओभरको दोस्रो बलमा सिंगापुरका ओपनर ब्याट्सम्यान अरित्रा दत्तलाई बोल्ड गरेका थिए । सिंगापुरको कप्तानसमेत रहेका दत्त खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए ।  

सिंगापुरको दोस्रो विकेट नेपालका अनुभवी स्पिनर सन्दीप लामिछानेले लिएका थिए । उनले सिंगापुरका तेस्रो नम्बरका ब्याट्सम्यान सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । सुरेन्द्रन आउट हुँदा सिंगापुरले ६.५ ओभरमा दुई विकेट गुमाएर ५२ रन बनाएको छ । 

यसैगरी सिंगापुरको तेस्रो विकेट गुल्सन झाले लिएका थिए । गुल्सनले क्रिजमा जमिसकेका सिंगापुरका ओपनर ब्याट्सम्यान रोहन रंगराजनलाई ४६ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । गुल्सनले रोहनलाई सन्दीप जोरामार्फत क्याच गराएका हुन् । 

प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका रोहनले ३० बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका थिए । रोहन आउट हुँदा सिंगापुरको टोलीले ७.१ ओभरमा तीन विकेट गुमाएर ५३ रन बनाएको थियो । 

सिंगापुरको चौथो विकेट पनि गुल्सन झाले लिएका थिए । गुल्सनले सिंगापुरका अमत्र्या कौललाई शून्य रनमै पेभेलियन फर्काएका थिए । कौलको क्यान पनि गुल्सन आफैले लिएका थिए । गुल्सनले लिएको यो दोस्रो विकेट थियो । कौल आउट हुँदा सिंगापुरले ७.५ ओभरमा चार विकेट गुमाएर ५४ रन बनाएको थियो ।

यसैगरी सिंगापुरको पाँचौँ विकेट सन्दीप लामिछानेले लिएका थिए । सन्दीपले सिंगापुरका जनक प्रकाशलाई सात रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । जनकले सात बलको सामना गरी एक चौका पनि हिर्काएका थिए । सन्दीपले लिएको यो दोस्रो विकेट थियो । जनक आउट हुँदा सिंगापुर १०.२ ओभरमा पाँच विकेट गुमाएर ७० रन बनाएको थियो ।

सिंगापुरको छैटौँ विकेट करण केसीले लिएका थिए । उनले सिंगापुरका ब्याट्सम्यान मनप्रित सिंहलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । मनप्रितले पेभेलियन फर्किनुअघि २६ बलको सामना गरी तीन चौकाको मद्दतले २४ रन बनाएका थिए । करणले लिएको यो दोस्रो विकेट थियो । मनप्रित आउट हुँदा सिंगापुरले १६.३ ओभरमा ६ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो ।

सिंगापुरको सातौँ विकेट अविनाष बोहराले लिएका थिए । उनले सिंगापुरका ब्याट्सम्यान थिलिपन ओमाइदुराईलाई एक रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । अविनाषले उनलाई सन्दीप जोरामार्फत क्याच गराएका थिए । उनी आउट हुँदा सिंगापुरले १७.२ ओभरमा एक सय २४ रन बनाएको थियो । 

त्यसलगत्तै सिंगापुरकोअ आठौँ विकेट पनि अविनाष बोहराले नै लिएका थिए । उनले सिंगापुरका अनन्थ कृष्णलाई शून्य रनमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा सिंगापुरले १७.४ ओभरमा एक सय २४ रन बनाएको थियो । 

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान बनाउने छन् । टी—२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । 

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालसहित संयुक्त अरब इमिरेट्स (यूएई), हङ्कङ, ओमान, बहराइन, कुवेत, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गर्दैछन् । 

प्रतियोगिताको समूह ‘ए’ मा आयोजक राष्ट्र नेपाल, मलेसिया, ओमान र सिंगापुर रहेका छन् । समूह ‘बी’ मा भने बहराइन, हङ्कङ, कुवेत र यूएई रहेका छन् । प्रारम्भिक चरणमा आफ्नो समूहमा रहेका चारवटै टोलीले एकअर्कासँग एक—एक खेल खेल्नेछन् । 

त्यसपछि दुवै समूहबाट तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइन चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको दुवै सेमिफाइनल खेल कात्तिक १७ गते खेलिने छ । सेमिफाइनल खेलमा सफलता हात पार्दै फाइनलमा पुग्ने दुवै टोली सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपका लागि छनोट हुनेछन् । प्रतियोगिताको फाइनल खेल कात्तिक १९ गते कीर्तिपुर क्रिकेट मैदानमा खेलाइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप