आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

कोशी प्रदेश सरकार बिस्तार : निर्णायक भनिएको कांग्रेस–एमालेको छलफल बिना निष्कर्ष टुंगियो

मङ्गलबार, १९ मङ्सिर २०८०, १८ : १६
मङ्गलबार, १९ मङ्सिर २०८०

विराटनगर । सरकार विस्तारको मुख्य विषयलाई लिएर कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र एमालेबीच सोमबार भएको छलफल बिना निष्कर्ष सकिएको छ । एमाले नेताहरुले भने छलफल सकारात्मक भएको र मंगलबार पुनः बस्ने बताएका छन् । 

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमवार दिउँसो एमाले संसदीय दलका उपनेता तथा मन्त्री रामबहादुर मगर, प्रमुख सचेतक रेवतीमरण भण्डारीलगायतसँग मुख्यमन्त्री कार्कीले छलफल गरेका थिए । 

छलफलमा सरकार विस्तार, प्रतिस्थापन विधेयक ल्याउने र सदन सञ्चालनबारे कुराकानी भएको थियो । छलफलबाट आजै कुनै निष्कर्ष नआएको र मंगलबार निष्कर्ष आउने एमाले कोशी प्रदेश संसदीय दलका नेता रेवतीरमण भण्डारीले बताए । 

छलफल सकारात्मक भएको र मन्त्रिमण्डल विस्तार गरेपछि मात्रै बजेट पास गर्ने सहमति भएको प्रमुख सचेतक भण्डारीले जनाए । 

‘हामीले भोलि नै मन्त्रीमण्डल विस्तार गरौँ भनेर मुख्यमन्त्रीलाई भन्यौ,’ भण्डारीले भने, ‘उहाँले काँग्रेस संसदीय दलको नेतासँग पनि छलफल गर्छु भन्नुभयो ।’

सरकारका प्रवक्तासमेत रहेका विनाविभागीय मन्त्री शमशेर राईले भने चाँडै मन्त्रीमण्डल विस्तार गर्ने सहमति भएको बताए । उनले प्रदेशमा सहमतिको सरकार बन्ने सम्भावना रहेको भन्दै गठबन्धन बाहेकको सरकार नबन्ने स्पष्ट पनि पारे । काँग्रेसले गठबन्धन तथा एमालेसँग छलफल गर्ने जिम्मा संसदीय दलका नेता उद्धव थापालाई दिएको जनाएको छ । 

गत असोज २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री भएका कार्कीमाथि मन्त्रिपरिषद् विस्तार गर्न एमालेको तीव्र दबाब छ ।

यद्यपि कार्कीले विभिन्न कारण देखाउँदै एमालेको उक्त दबाब पन्छाउँदै आएका छन् । यसअघि सरकारका प्रवक्ता तथा मन्त्री शम्शेर राईले आजको छलफलले कुनै न कुनै निष्कर्ष निकाल्ने दाबी गरेका थिए । 

नेपाली कांग्रेसका नेता शेखर कोइराला निकट कार्की आफूसहित ८ सांसदको विद्रोहबाट एमालेको समर्थनमा मुख्यमन्त्री बनेका भएपनि सत्तारुढ गठबन्धनले पनि स्वीकार गरेको छ । 

प्रदेशससभाबाट राप्रपाबाहेक सबै दलबाट विश्वासको मत पाएका कार्कीले सरकार विस्तारमा एमालेलाई सामेल गराउने कि गठबन्धनलाई भन्ने निर्णय अझै सार्वजनिक गरिसकेका छैनन् । एमालेले भने उक्त विषयको टुंगो आजकै बैठकले लगाउने विश्वास व्यक्त गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप