गुटेरेसले सम्बोधन गर्ने संसद् बैठकको तयारी मंगलबार बिहान पूरा हुने
काठमाडौँ । संघीय संसद् सचिवालयले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने संसद् बैठकको तयारी तीव्र पारेको छ ।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार(भोलि) दिउँसो ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै छन् । यसको निम्ति संघीय संसद् सचिवालयले तयारी तीव्र पारेको हो ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सचिवालयका प्रवक्ता एकराम गिरीले तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । उनले मंगलबार बिहान १० बजेसम्ममा सम्पूर्ण व्यवस्थापकीय तयारी पूरा भइसक्ने जानकारी दिए ।
उनले सभामुखको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुने बताए । बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूचि रहेको उनले जानकारी दिए । गुटेरेसको सम्बोधन लगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने उनले बताए ।
प्रवक्ता गिरीले महासचिव गुटेरेसको सम्बोधनलाई संसद् बैठकमै तत्कालै अनुवाद गर्नसक्ने अवस्था नरहेको भन्दै वैकल्पिक व्यवस्था के गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल भइरहेको पनि जानकारी दिए ।
उनले महासचिव गुटेरेसको सम्बोधनको संघीय संसद् सचिवालयले नियमित बैठकहरुको जस्तै अभिलेख राख्ने स्पष्ट पारे ।