आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

निराशाजनक प्रदर्शनका कारण आलोचना खेपिरहेका पाकिस्तान र बंगलादेशको भिडन्त आज

सोमबार, १७ वैशाख २०८१, ११ : २२
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा मंगलबारदेखि सातौँ चरणको खेल सुरु हुँदैछ । सातौँ चरणको पहिलो खेलमा मंगलबार दुई टेस्ट राष्ट्र पाकिस्तान र बंगलादेश भिड्दै छन् । उक्त खेल कोलकातास्थित इडेन गार्डेन स्टेडियममा नेपाली समय अनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । 

जारी विश्वकपमा यी दुवै टोलीको प्रदर्शन अत्यन्तै निराशाजनक देखिएको छ । दुवै टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना निकै कम छ । पाकिस्तानले हालसम्म खेलिएको ६ मध्ये चार खेलमा हार भोगेको छ । दुई खेलमा मात्र जित हात पारेको पाकिस्तान चार अङ्कसहित तालिकाको सातौँ स्थानमा आसीन छ ।

बंगलादेशले भने यसअघि खेलिएको ६ मध्ये एक खेलमा मात्र जित हासिल गरेको छ । बाँकी पाँच खेलमा बंगलादेशले पराजय ब्यहोरेको छ । बंगलादेशी टोली दुई अङ्कसहित तालिकाको नवौँ स्थानमा आसीन छ । 

बंगलादेशको आँखा च्याम्पियन्स ट्रफीमा 

यसअघिको खेलमा निराशाजनक प्रदर्शनपछि जारी विश्वकप उपाधिभन्दा पनि बंगलादेशको ध्यान सन् २०२५ मा आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफीमा बढी केन्द्रित हुनेछ । जारी विश्वकपमा अङ्क तालिकाको माथिल्लो सात स्थानमा रहने टोलीले सन् २०२५ को च्याम्पियन्स ट्रफी खेल्न पाउने प्रावधान छ । 

आठ राष्ट्र सम्मिलित सन् २०२५ को च्याम्पियन्स ट्रफीमा पाकिस्तानले भने आयोजकका रूपमा स्वतः सहभागिता जनाउने अवसर पाउने छ । त्यसैले जारी विश्वकपको सेमिफाइनलमा पुग्ने अवस्थामा नरहेका सबै राष्ट्रको ध्यान अब आईसीसी च्याम्पियन्स ट्रफीमै केन्द्रित हुनेछ ।

जारी विश्वकपमा हालसम्म पाकिस्तानी टोलीले नेदरल्यान्ड्स र श्रीलंकालाई मात्र हराउन सकेको छ । चिर प्रतिद्वन्द्वी भारत, पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया, बलियो दक्षिण अफ्रिका र तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानसँग भने पाकिस्तानी टोलीले नमिठो पराजय भोगेको छ ।

यसैगरी बंगलादेशले हालसम्म अफगानिस्तानलाई मात्र हराउन सकेको छ । बंगलादेशको टोली साबिक विजेता इङ्ल्यान्ड, साबिक उपविजेता न्युजिल्यान्ड, पूर्वविजेता भारत, लयमा देखिएको दक्षिण अफ्रिका र तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी नेदरल्यान्ड्ससँग भने पराजित भएको छ ।

तथ्याङ्कमा पाकिस्तान बलियो

यसअघि यी दुई राष्ट्रबिच खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको तथ्याङ्कले बंगलादेशभन्दा पाकिस्तानलाई निकै बलियो देखाउँछ । हालसम्म यी दुई राष्ट्रबिच ३८ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ ।

त्यसमध्ये ३३ वटा एकदिवसीय खेलमा पाकिस्तानले बंगलादेशलाई हराएको छ । पाँचवटा खेलमा भने बंगलादेशले पाकिस्तानलाई पराजित गरेको छ । पाकिस्तानले १२ वटा खेल घरेलु मैदानमा जितेको छ भने बंगलादेशले घरेलु मैदानमा खेलिएको तीनवटा खेलमा सफलता हात पारेको छ ।

यसैगरी पाकिस्तानले बंगलादेशको घरेलु मैदानमा १४ वटा खेल जितेको छ । बंगलादेशी टोलीले भने हालसम्म पाकिस्तानलाई उसको घरेलु मैदानमा हराउन सकेको छैन । ‘न्युट्रल भेन्यू’ मा पाकिस्तानले सात र बंगलादेशले दुई खेल जितेका छन् । 

आईसीसी एकदिवसीय विश्वकपमा भने हालसम्म यी राष्ट्रबिच दुईवटा खेलमात्र खेलिएको छ । त्यसमध्ये एक खेलमा पाकिस्तान र एक खेलमा बंगलादेश विजयी भएका छन् । सन् १९९९ मा खेलिएको विश्वकपमा बंगलादेशले पाकिस्तानलाई ६२ रनले हराएको थियो । सन् २०१९ को विश्वकपमा खेलिएको खेलमा भने पाकिस्तानले बंगलादेशलाई ९४ रनले हराएको थियो ।

इडेन गार्डेनमा टस महत्त्वपूर्ण

आजको खेल कोलकातास्थित ऐतिहासिलक इडेन गार्डेन स्टेडियममा खेलिने छ । यो विश्वकपमा इडेन गार्डेनमा खेलाउन लागिएको यो दोस्रो खेल हो ।

बंगलादेशले भने यो विश्वकपमा इडेन गार्डेन स्टेडियममा दोस्रो खेल खेल्न लागेको हो । यसअघि नेदरल्यान्ड्स र बंगलादेशबिचको खेल पनि यही स्टेडियममा खेलिएको थियो । उक्त खेलमा नेदरल्यान्ड्सले बंगलादेशलाई ८७ रनले हराएको थियो । 

इडेन गार्डेन स्टेडियममा हालसम्म खेलिएको खेललाई हेर्दा टसको महत्त्वपूर्ण भूमिका रहँदै आएको देखिन्छ । यहाँको पिचमा टस जित्ने टोलीले पहिले ब्याटिङ गर्ने निर्णय लिनु उपयुक्त हुन्छ । किनभने हालसम्म यो रंगशालामा खेलिएको पछिल्लो ३६ खेलको नतिजालाई हेर्दा पहिले ब्याटिङ गर्ने टोलीले २१ खेल जितेको पाइन्छ ।

यसका अतिरिक्त जवाफी ब्याटिङ गर्ने टोलीले यो स्टेडियममा १४ खेल जितेको छ । यो स्टेडियममा खेलिएको पछिल्लो सात खेलको नतिजालाई हेर्दा जवाफी ब्याटिङ गर्ने टोलीले एक खेलमात्र जित्न सकेको छ । इडेन गार्डेनको पिच खासगरी ब्याट्सम्यानका लागि उपयुक्त मानिन्छ ।

यो स्टेडियममा पहिले ब्याटिङ गर्ने टोलीले औसतमा दुई सय ४१ रन र दोस्रो ब्याटिङ गर्ने टोलीले औसतमा दुई सय एक रन बनाएको तथ्याङ्कले देखाउँछ । पाकिस्तान र बंगलादेशबिचको खेलका क्रममा वर्षाको सम्भावना भने देखिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप