आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पार्टीको सम्पर्कमा छैनन् जसपाका इस्तियाक राई

बुधबार, २० मङ्सिर २०८०, १८ : ४०
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राई करिब एक वर्षदेखि पार्टीको सम्पर्कमा छैनन् ।

२०७९ मा सम्पन्न आम चुनावपछि बसेको पार्टीको एउटा बैठकमा सहभागी भएपछि जिल्ला गएका नेता राई त्यसपछि पार्टीको सम्पर्कमा आएका छैनन् । त्यसपछि पार्टीका विभिन्न बैठक बसिसकेका छन् भने विधान अधिवेशनसमेत भइसकेको छ । तर उनी कुनै पनि बैठक तथा कार्यक्रममा सहभागी भएका छैनन् ।

बाँके–२ बाट प्रतिनिधि सभा चुनावमा परिजित भएपछि पार्टीप्रति उनको असन्तुष्टि छ । पार्टीले एमालेसँग गठबन्धन गरे पनि बाँकेमा त्यसलाई व्यवस्थित गर्न नसकेपछि आफू पराजित हुनु परेको भन्दै उनी असन्तुष्ट रहेका हुन् ।

आफूलाई पार्टीबाट पनि असहयोग भएको पनि उनको गुनासो छ । यिनै असन्तुष्टिका कारण उनले पार्टीसँग सम्पर्क तोडेका छन् ।

रातोपाटीसँग नेता राईले पार्टीको सम्पर्कमा नहुनुको कारण खुलाउँदै भने, ‘पार्टीसँग सम्पर्क गर्ने त्यस्तो अवस्था नै आएन, न पार्टीले मलाई सम्पर्क ग¥यो, न मैले पार्टीलाई सम्पर्क गरेँ ।’

आफ्नो घरायसी कामका लागि जिल्लामा व्यस्त भएका कारण पनि सम्पर्कमा नरहेको बताउँदै उनले जिल्लामा हुने पार्टीको कार्यक्रममा बोलाउँदा जाने गरेको बताए ।

झण्डै एक वर्षदेखि पार्टी सम्पर्कमा नरहँदा कारबाही होला नि भन्ने जिज्ञासामा उनले भने, ‘पार्टीले के गर्ला, त्यो पार्टीको काम हो, तर पार्टीको सम्पर्क तथा बैठकहरुमा जान आवश्यकता नभएका कारण नगएको हुँ ।’

पार्टीको विधानको धारा–८९ अनुसार ‘बिना उचित कारण वा बिना सूचना लगातार तीन पटकसम्म आफ्नो समितिको बैठकमा अनुपस्थित भएका वा एक वर्षसम्म आफ्नो जिम्मेवारीअनुरूप कार्य नगरेमा’ पद रिक्त हुने भनिएको छ ।

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको बैठकबारे नेता राईलाई नियमित जानकारी गइरहेको तर बैठकमा किन नआएको भन्नेबारे आफूलाई जानकारी नभएको बताए । पार्टीले प्रदेशका नेताहरुलाई सम्पर्क गर्दा नेता राई आफ्नो चुनाव क्षेत्रमा सक्रिय रहेको जानकारी प्राप्त भएको तर नेता राई पार्टीको केन्द्रीय बैठकहरुमा सहभागी नभइरहेको उनले बताए ।

लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेका कारण अब उनको बारेमा पार्टीले के निर्णय गर्छ भन्ने प्रश्नमा बस्नेतले त्यसको जानकारी अहिले आफूसँग नभएको प्रस्ट पारे ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप