आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चुनाव हार्ने पक्षबाट एनआरएनए कार्यालयमा अवरोध भयो : बद्री केसी

बुधबार, २० मङ्सिर २०८०, १५ : ५०
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले चुनाव हार्ने पक्षबाट कार्यालयमा निरन्तर अवरोध भएको आरोप लगाएका छन् । जसका कारण बालुवाटारस्थित कार्यालयमा असहज अवस्था सिर्जना भएको उनले बताए ।

चुनाव हार्ने पक्षले कर्मचारीलाई अनावश्यक तनाव दिने, अवरोध गर्ने जस्ता गतिविधिले कर्मचारी मानसिक तनावमा रहेको उनले बताए । जसका कारण सोमबारदेखि सबै कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाइएको बताइएको छ । अवस्था सामान्य नहुँदासम्म कर्मचारी कार्यालय गएर कार्यसम्पादन नगर्ने बताइएको छ । 

एनआरएनएभित्रको विवादका बीच मंगलबार कार्यालयमा हातपातको अवस्था नै सिर्जना भएको थियो । अध्यक्ष केसीका अनुसार एमाले नेता महेश बस्नेतसहितका युवासंघका नेता कार्यकर्ता बधाई दिनका लागि कार्यालयमा पुगेका थिए । ‘बधाई दिन आउँदाखेरी साथीहरुले अवरोध गरेछन्, भिडियो खिचेछन्’, केसीले भने, ‘त्यही बीचमा सायद भिडियो नखिच्नुस् भन्दा कुनै एक जना पत्रकार भनिएको हो कि पत्रकार भनिएका साथीले जबरजस्ती गरेपछि अवरोध गरेको मात्रै हो । अरु केही भएको छैन ।’

उनले आफू कार्यक्रमस्थलमा रहँदासम्म कसैमाथि कुटपिट नभएको दाबी गर्दै त्यसपछि भएको विषय भने आफूलाई थाहा नभएको बताए । 

उनले हार स्वीकार नगर्नेहरुले कार्यालयमा आएर अवरोध गर्नु गलत भएको भन्दै हार स्वीकार गर्नुको विकल्प नभएको प्रतिक्रिया दिए । ‘कार्यालयमा आउन मान्छेलाई अवरोध गर्ने, हारेर पनि विभिन्न ठाउँमा आधिकारिक मै हो भनेर जाने जस्ता कुराहरु अवाञ्छनीय कुरा हुन्’, उनले भने, ‘प्रजातान्त्रिक पद्धतिमा हार स्वीकार गर्नुपर्छ र अर्को पटकका लागि तयारी गर्दा राम्रो हुन्छ ।’

११ औँ महाधिवेशनपछि एनआरएनएमा विवाद हुँदा असहज अवस्था बन्दै गएको छ।  सोही क्रममा मंगलबार हातपातसहित तनावको अवस्था बनेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप