आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी—२० विश्वकप छनोट

समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान सेमिफाइनलमा

बुधबार, २० मङ्सिर २०८०, १६ : १९
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ । जारी छनोट प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो । 

जितसँगै समूहगत चरणको अन्तिम खेलअगावै नेपाल र ओमान प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । ओमानले पनि जारी प्रतियोगितामा लगातार दुई जित हासिल गरिसकेको छ । ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रनले हराएको थियो ।

दोस्रो खेलमा मंगलबार ओमानले सिंगापुरलाई २२ रनले हराएको थियो । समूहगत चरणको अन्तिम खेलमा बिहीबार नेपालले ओमानको र मलेसियाले सिंगापुरको सामना गर्नेछन् । त्यो खेलपछि समूह विजेताको टुंगो लाग्नेछ ।

मंगलबारको खेलमा कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १८ ओभरमा चार विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको हो ।

नेपालको जितमा कुशल मल्लले ६५ रनको योगदान गरे । उनले केवल ३४ बलको सामना गरी सात छक्का र दुई चौका हिर्काए । उनलाई मलेसियन बलर मुहम्मद आमिरले आफ्नो बलमा आफैले क्याच लिएर पेभेलियन फर्काएका थिए ।

त्यसअघि ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ शेखले टोलीका लागि ४९ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेलले टोलीका लागि ४३ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान आसिफले पनि टोलीको खातामा ३२ रन थपेका थिए । 

सन्दीप जोराले अविजित १८ रन र विवेक यादवले अविजित दुई रन बनाए । जोराले १६ बलमा दुई चौका पनि प्रहार गरे । अनुभवी अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरी घाइते भएका कारण बिवेकले टोलीमा स्थान पाएका हुन् । दीपेन्द्र सोमबार सिंगापुरविरुद्धको खेलअघि घाइते भएका थिए । 

नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । उनी ४३ रन बनाउँदै पेभेलियन फर्किएका थिए । आक्रामक रुपमा प्रस्तुत भएका कुशल भुर्तेलले केवल २५ बलको सामना गरी चार छक्का र चार चौका हिर्काएका थिए । 

उनलाई मलेसियाका बलर पवनदिप सिंहले मुनिन्दीमार्फत क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले ५.२ ओभरमा ४९ रन बनाएको थियो । यसअघि सिंगापुरविरुद्ध सोमबार खेलिएको पहिलो खेलमा पनि कुशल भुर्तेलले ४८ बलमा ७४ रन बनाएका थिए ।  

नेपालले दोस्रो विकेटका रुपमा आसिफ शेखलाई गुमाएको थियो । उनी ३२ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले २३ बलको सामना गरी दुई छक्का र एक चौका पनि हिर्काएका थिए । विकेटकिपर ब्याट्सम्यान आसिफलाई मलेसियाका बलर मुहम्मद आमिरले आफ्नै बलमा आफेले क्याच गरेका थिए । उनी आउट हुँदा नेपालले ११.४ ओभरमा एक सय १६ रन बनाएको थियो । 

नेपालले तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । उनी दुई रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका थिए । उनलाई मलेसियाका बलर मुहम्मद आमिरले विजय उन्नीद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १३.४ ओभरमा एक सय ३३ रन बनाएको थियो ।

त्यसअघि टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाका लागि ओपनर ब्याट्सम्यान सैयद अजिजले ६८ रनको योगदान गरेका थिए । अर्का ओपनर जुबैदी जुल्किफले २४ रन बनाएका थिए । मलेसियाले अतिरिक्त रुपमा १६ रन पाएको थियो । 

नेपाली टोलीका बलर अविनाष बोहराले चार विकेट लिएका थिए । उनले चार ओभर बलिङ गर्दै केवल २७ रन खर्चिएका थिए । स्पिनर सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले पनि एक—एक विकेट हात पारेका थिए ।

मलेसियाको पहिलो विकेट नेपाली टोलीका बलर अविनाष बोहराले लिएका थिए । उनले मलेसियाका ओपनर ब्याट्सम्यान जुबैदी जुल्किफीलाई कुशल मल्लद्वारा क्याच गराएका थिए । जुबैदीले १६ बलको सामना गरी तीन चौकाको मद्दतले २४ रन बनाएका थिए । उनी आउट हुँदा मलेसियाले ५.५ ओभरमा ५८ रन बनाएको थियो ।

मलेसियाको दोस्रो विकेटका रुपमा कप्तान अहमद फाइज पेभेलियन फर्किएका थिए । रनआउट भई पेभेलियन फर्किनुअघि उनले चार बलको सामना गरी तीन रन बनाएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनी आउट हुँदा मलेसियाले सात ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाएको थियो । 

करण केसीले बल विकेटकिपर आसिफ शेखलाई दिएका थिए । त्यसपछि आसिफले मलेसियाका कप्तानलाई रनआउट गराएका थिए । पालीको गतिलो सुरुआत गरेको मलेसियाले त्यसपछि लगातार दुई विकेट गुमाएको थियो । 

मलेसियाको तेस्रो विकेट नेपाली टोलीका स्पिनर सन्दीप लामिछानेले लिएका थिए । उनले मलेसियाका चौथो नम्बरका ब्याट्सम्यान विरनदिप सिंहलाई चार रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । सिंह आउट हुँदा मलेसियाले १०.१ ओभरमा तीन विकेट गुमाएर ८५ रन बनाएको थियो ।

मलेसियाको चौथो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । उनले मलेसियाका पाँचौँ नम्बरका ब्याट्सम्यान सरविन मुनिन्डीलाई १३ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । रोहित आफैले उनको क्याच लिएका थिए । सरविनले १२ बलमा दुई चौका पनि हिर्काएका थिए । उनी आउट हुँदा मलेसियाले १४ ओभरमा एक सय १९ रन बनाएको थियो ।

मलेसियाको पाँचौँ विकेट गुल्सन झाले लिएका थिए । उनले क्रिजमा जमिसकेका मलेसियाका ओपनर ब्याट्सम्यान सैयद अजिजलाई पेभेलियन फर्काएका थिए । गुल्सनले सैयद अजिजलाई कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । 

सैयद अजिजले पेभेलियन फर्किनुअघि अर्धसतकीय पाली खेलेका थिए । उनले ६८ रन बनाएका थिए । उनले आक्रामक ब्याटिङ गर्दै ४९ बलको सामना गरी दुई छक्का र आठवटा चौका हिर्काएका थिए । उनी आउट हुँदा मलेसियाले १४.४ ओभरमा एक सय २५ रन बनाएको थियो ।

मलेसियाले छैठौँ विकेटका रुपमा अइनुल हाफिजलाई तीन रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । उनी रनआउट हुँदै पेभेलियन फर्किएका थिए । मलेसियाको सातौँ विकेट भने अविनाष बोहराले लिएका थिए । उनले मलेसियाका ब्याट्सम्यान मुहम्मद अमिरलाई आठ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । 

उनी आउट हुँदा मलेसियाले १७.२ ओभरमा एक सय ४१ रन बनाएको थियो । अविनाषले लिएको यो दोस्रो विकेट थियो । मलेसियाको आठौँ विकेट अविनाष बोहराले लिएका थिए । उनले मलेसियाका स्याजरुल इद्रुसलाई सात रनको व्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । 

मलेसियाले नवौँ विकेटका रुपमा फित्री सामलाई गुमाएको थियो । उनी तीन बलमा एक छक्काको मद्दतले ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई अविनाष बोहराले बोल्ड गरेका थिए । अविनाषको यौ चौथो विकेट थियो । मलेसियाका विजय उन्नी भने १३ रनमा अविजित रहेका थिए ।

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपाल र मलेसिया दुबैको यो दोस्रो खेल हो । यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो । मलेसिया भने आफ्नो पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।

आठ राष्ट्रको सहभागिता रहेको यो छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान पक्का गर्नेछन् । सन् २०२४ को टी—२० विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप