आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

विश्वकपमा आज : चार वर्षपछि एकअर्कालाई चुनौती दिँदै न्युजिल्यान्ड र दक्षिण अफ्रिका

बुधबार, १२ वैशाख २०८१, ११ : २५
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकपमा बुधवार दुई परम्परागत शक्ति दक्षिण अफ्रिका र न्युजिल्यान्डबिच भिडन्त हुँदैछ । खेल पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको स्टेडियममा नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा निकै लामो इतिहास बोकेको यी दुई राष्ट्रबिच एक दिवसीय विश्वकपमा भने एउटा समानता देखिन्छ । अन्तर्राष्ट्रिय क्रिकेटमा गतिलो छाप छोड्न सफल यी दुवै राष्ट्रले हालसम्म एक दिवसीय विश्वकपको उपाधि भने चुम्न सकेका छैनन् । 

पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागिता जनाउँदै आएको न्युजिल्यान्ड दुईपटक फाइनलमासम्म पुगेर पनि उपाधिबाट चुकेको छ । सन् २०१५ को विश्वकपको फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई सात विकेटले हराएको थियो ।

त्यसलगत्तै सन् २०१९ को विश्वकपको फाइनलमा पनि न्युजिल्यान्डको टोली इङ्ल्यान्डसँग ‘बाउन्ड्री काउन्ट ब्याक’ नियमका आधारमा पराजित भएको थियो । यसको विपरीत सन् १९९२ देखि विश्वकप खेल्दै आएको दक्षिण अफ्रिका भने फाइनलसम्म पनि पुग्न सकेको छैन ।

जारी विश्वकपमा भने न्युजिल्यान्ड र दक्षिण अफ्रिका दुबैलाई उपाधिको प्रबल दाबेदारका रूपमा हेरिएको छ । यी दुवै टोलीको प्रदर्शन पनि जारी विश्वकपमा अब्बल देखिएको छ । ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा यी दुवै टोलीले हालसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

यी दुई राष्ट्रबिच पछिल्लो पटक सन् २०१९ को जुन १९ मा एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको थियो । त्यो खेलमा न्युजिल्यान्ड विजयी भएको थियो । न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई चार विकेटले पराजित गरेको थियो ।

००००

सन् २०११ को विश्वकपको झल्को दिने खेल

जारी विश्वकपमा हालसम्म आफूले खेलेको ६ मध्ये पाँच खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको दक्षिण अफ्रिका १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । आफूले खेलेका ६ वटै खेलमा विजयी भएको आयोजक भारत १२ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन रहे पनि भारतको भन्दा दक्षिण अफ्रिकाको नेट रन रेट निकै राम्रो छ । 

यसैगरी ६ मध्ये चार खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको न्युजिल्यान्ड आठ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । न्युजिल्यान्डको टोली आयोजक भारतसँग चार विकेटले र पाँच पटकको उपाधि विजेता अस्ट्रेलियासँग पाँच रनले पराजित भएको थियो ।

दक्षिण अफ्रिकाले भने एक खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी नेदरल्यान्ड्ससँग ३८ रनले पराजित भएको थियो । गर्मी ठाउँमा खेल्न अभ्यस्त दक्षिण अफ्रिकाले त्यो खेल निकै चिसो स्थानमा रहेको धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा खेलेको थियो । 

न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबिच बुधवार हुने खेललाई सन् २०११ को विश्वकपको क्वार्टरफाइनल खेलको पुनरावृत्तिका रूपमा पनि हेरिएको छ । त्यतिबेला खेलिएको क्वार्टरफाइनल खेलमा दक्षिण अफ्रिकालाई ४९ रनले हराउँदै न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको थियो । 

त्यसैले दक्षिण अफ्रिकाका लागि न्युजिल्यान्डसँग त्यो हारको बदला लिने यो उपयुक्त अवसर पनि हो । यसका अतिरिक्त न्युजिल्यान्ड र दक्षिण अफ्रिका दुवै बुधवारको खेलमा जित हात पार्दै सेमिफाइनलमा पुग्ने सम्भावनालाई थप बलियो बनाउने धुनमा पनि छन् । 

००००

एक दिवसीय तथ्याङ्कमा दक्षिण अफ्रिका बलियो

हालसम्म यी दुई राष्ट्रबिच खेलिएको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासलाई हेर्दा न्युजिल्यान्डभन्दा दक्षिण अफ्रिका निकै बलियो देखिन्छ । यी दुई राष्ट्रबिच हालसम्म ७१ वटा एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ ।

त्यसमध्ये ४१ खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई हराएको छ । न्युजिल्यान्डले भने हालसम्म २५ वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा मात्र दक्षिण अफ्रिकालाई हराउन सकेको छ । यी दुई राष्ट्रबिचको पाँचवटा खेल भने अनिर्णित रूपमा सकिएको छ । 

आफ्नो घरेलु मैदानमा खेलिएको १७ वटा एक दिवसीय खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई हारको स्वाद चखाएको छ । न्युजिल्यान्डले भने हालसम्म आफ्नो घरेलु मैदानमा खेलिएको १२ वटा खेलमा मात्र दक्षिण अफ्रिकालाई पराजित गरेको छ । 

यसैगरी दक्षिण अफ्रिकाले १२ वटा खेलमा न्युजिल्यान्डलाई उसैको घरेलु मैदानमा हराएको छ । न्युजिल्यान्डले दक्षिण अफ्रिकाको घरेलु मैदानमा पाँचवटा खेलमात्र जित्न सकेको छ । यसका अतिरिक्त ‘न्यूट्रल भेन्यू’ मा खेलिएको १२ खेलमा दक्षिण अफ्रिका र आठ खेलमा न्युजिल्यान्डले सफलता हात पारेका छन् । ००००

एक दिवसीय विश्वकपमा न्युजिल्यान्ड अगाडि

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको इतिहास गौरवशाली देखिए पनि एक दिवसीय विश्वकपमा भने दक्षिण अफ्रिकाभन्दा न्युजिल्यान्ड अगाडि देखिन्छ । यी दुई राष्ट्रबिच हालसम्म एक दिवसीय विश्वकपमा आठ खेल खेलिएको छ ।

आठमध्ये ६ खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराएको छ । विश्वकपमा खेलिएको दुई खेलमा भने दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई पराजयको स्वाद चखाएको छ । विश्वकपमा यी दुई राष्ट्रबिच सन् १९९२ मा पहिलो खेल खेलिएको थियो । त्यसमा न्युजिल्यान्ड सात विकेटले विजयी भएको थियो ।

त्यसपछि सन् १९९६ मा खेलिएको खेलमा दक्षिण अफ्रिका पाँच विकेटले विजयी भएको थियो । सन् १९९९ को विश्वकपमा दक्षिण अफ्रिका ७४ रनले विजयी भएको थियो भने २००३ को विश्वकपमा ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा न्युजिल्यान्ड नौ विकेटले विजयी भएको थियो ।

यसैगरी २००७ को विश्वकपमा न्युजिल्यान्ड पाँच विकेटले विजयी भएको थियो । सन् २०११ को विश्वकपमा पनि न्युजिल्यान्डले ४९ रनले सफलता हात पारेको थियो । सन् २०१५ को विश्वकपमा पनि न्युजिल्यान्ड ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा चार विकेटले विजयी भएको थियो । सन् २०१९ को विश्वकपमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई चार विकेटले हराएको थियो ।

००००

प्रारम्भमा तीव्र गतिका बलरलाई साथ दिने पिच

जारी विश्वकपमा दक्षिण अफ्रिका र न्युजिल्यान्डबिचको खेल बुधवार पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको स्टेडियममा हुँदैछ । यो स्टेडियमको पिच कालो माटोले तयार पारिएको छ । त्यसैले यहाँको पिचमा बल निकै ‘बाउन्स’ हुन्छ । 

यहाँको पिच तीव्र गतिका बलरहरूको लागि निकै उपयुक्त मानिन्छ । कालो माटोले बनाइएकाले बल बढी ‘बाउन्स’ हुने हुँदा खेलको प्रारम्भमा यो पिचमा ब्याट्सम्यानहरूलाई नयाँ बलको सामना गर्न निकै अप्ठ्यारो पर्ने गरेको छ । 

दोस्रो पालीमा भने यहाँको पिचले ब्याट्सम्यानलाई साथ दिने गरेको छ । यो स्टेडियममा हालसम्म खेलिएको खेलले पनि यही सन्देश दिएको छ । यो स्टेडियममा हालसम्म जारी विश्वकपको दुई वटा खेल खेलिसकिएको छ । ती दुवै खेलमा जवाफी ब्याटिङ गर्ने टोलीले जित हासिल गरेका छन् ।

भारत र बंगलादेशबिचको खेल यही स्टेडियममा खेलिएको थियो । त्यो खेलमा आयोजक भारतले बंगलादेशलाई सात विकेटले पराजित गरेको थियो । श्रीलंका र अफगानिस्तानबिचको खेल पनि यही स्टेडियममा खेलाइएको थियो । त्यो खेलमा अफगानिस्तानले पनि बलियो श्रीलंकालाई सात विकेटले नै हराएको थियो ।

त्यसैले यो स्टेडियममा टस जित्ने टोलीले पहिले बलिङ गर्ने निर्णय लिने गरेका छन् । दक्षिण अफ्रिका र न्युजिल्यान्डबिचको खेलका क्रममा वर्षाको सम्भावना भने नरहेको त्यहाँको मौसम विज्ञान विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप