आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाले किन गर्‍यो कोशी प्रदेश सरकारमा सहभागी नहुने निर्णय ?

बुधबार, २० मङ्सिर २०८०, १४ : ५१
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिइसकेको छ। तर, सो पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ । 

यससँगै सत्ता गठबन्धन दलहरुको बिचमा शंका उत्पन्न भएको छ । सरकार गठन गर्ने बेलामा सत्ता गठबन्धनबाट कुनै पनि समन्वय नभएको कारण सरकारमा सहभागी नहुने पार्टीको मंगलवार बसेको बैठकले स्पष्ट पारेको छ । 

केदार कार्की नेतृत्वको सरकारमा सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी, नेकपा (एस) सहभागी हुने तयारी भइरहेको बेला जसपाको यस्तो निर्णय बाहिरिएको हो । 

मंगलवारको बैठकमा सहभागी एक नेताका अनुसार एक त यो सरकारको पनि आयु लामो देखिँदैन । अर्को सत्ता गठबन्धनको बिचमा समन्वय पनि नभएकाले त्यस्तो सरकारमा जानुको कुनै औचित्य रहँदैन भन्ने बैठकको ठहर छ । 

गठबन्धन दलका कतिपय नेताले कोशी प्रदेशमा सहभागी हुनुपर्ने भनिरहेका छन् भने कतिपयले सहभागी हुनुहुँदैन भनिरहेका छन्, यस्तो अन्योलको बिचमा सरकारमा सहभागी हुनुको कुनै औचित्य नरहेको बैठकले निर्णय गरेको ती नेताले बताए । 

यस बिचमा केन्द्रमा पनि गठबन्धनसँग जसपाको राम्रो सम्बन्ध छैन । जसपाका अध्यक्ष उपेन्द्र यादव र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच दुरी बढेको छ । त्यसले पनि समन्वयको अभाव देखिएको ती नेताले बताए । 

कोशी प्रदेश नामकरणको विषयमा जसपा आन्दोलनमा छ । कोशी प्रदेशको नाम परिवर्तन गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेको कारणले पनि नैतिकताका कारण सरकारमा सहभागी नहुने जसपाका ती नेताले बताए । 

जसपा कोशी प्रदेश समितिका मुख्यसचिव घनश्याम कटवालले आफूहरू आन्दोलनमा भएको कारणले सरकारमा जाने उचित नलागेको नगएको बताए । आफूहरूले त्यहाँको आन्दोलनको नेतृत्व गरिरहेको हुनाले सरकारमा गए आन्दोलन कमजोर हुन्छ, त्यसैले नगएको बताउँदै उनले भने, ‘अर्को कुरा सत्ता गठबन्धनले जसपासँग कुनै समन्वय नै गरेको छैन ।’

एक त कोशी प्रदेशको सरकार गठबन्धनको सरकार नै होइन, एमाले र काँग्रेसका केही नेताहरूको सरकार हो । त्यस्तो सरकारमा गठबन्धनका कुनै पनि दल जानु हुँदैनथ्यो । यदि जाने निर्णय गर्दा पनि साझेदार दलसँग पनि समन्वय हुनुपर्थ्यो तर त्यस्तो नभएको उनले बताए । 

एमालेको विरुद्धमा सत्ता गठबन्धन बनेको हो । अनि, त्यसकै सहयोगमा बनेको सरकारमा त्यही गठबन्धनका दलहरू सरकारमा जान खोज्नु नैतिकताको खडेरी हो । त्यसैले, जसपा त्यस्तो सरकारमा सहभागी नहुने ती नेताले प्रस्ट्याए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप