आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुपारी आयात—निर्यातमा चलखेल भएको हुनसक्ने सांसदहरुको आशंका

बुधबार, २० मङ्सिर २०८०, १७ : ०३
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । सांसदहरुले सुपारी आयात—निर्यातमा चलखेल गर्न खोजेको आशंका व्यक्त गरेका छन् । 

बुधवार बसेको प्रतिनिधि सभा अन्तरर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्ने अधिकांश सांसदहरुले विभिन्न चलखेल गरी सुपारी आयात—निर्यातको बाधा फुकाउने काममा समितिलाई अल्मल्याउने काम भइरहेको भन्दै आशंका व्यक्त गरेका हुन् । 

उनीहरुले नेपालमा  उत्पादन सुपारी आयात—निर्यात खोल्ने विषय समितिमा छलफल गर्न लगाएर बाहिर अर्कै चलखेल भइरहेको हुनसक्ने बताए । 

सांसदहरुले सरकारले सुपारी निर्यात—आयात सम्बन्धि कार्यविधि २०६८ नै सुपारी निर्यातको बाधक भएको भन्दै परिमार्जन गर्न आवश्यक रहेको बताए । उनीहरुले समितिमा सुपारी किसानको कुरा उठाए पनि वास्तविक किसानको कुरा नै नभएको बताए । 

सांसदहरुले अन्य कृषिजन्य वस्तुहरुको आयात निर्यात गर्न सरकारले विशेष निर्णय गर्न नपर्ने तर सुपारीमा छुटै विशेष निर्णण गर्नुपर्ने कारण माग गरे । सांसदहरुले सरकारले वास्तविक सुपारी किसानहरुको तथ्याङ्क यकिन गरी राख्न आवश्यक रहेको बताए ।

 उनीहरुले नेपालमा सुपारीको आयात निर्यातको विषयमा विभागका निर्देशकदेखि मन्त्रीको समेत जागिर जाने गरेको भन्दै विचौलियाहरुले समितिलाई पंगु बनाएर बाहिर चलखेल गरेको बताए । बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले सुपारी आयात निर्यातको विषयमा सचिवदेखि मन्त्रीको समेत जागिर जाने अवस्था रहेको बताए । उनले सुपारीको निर्यात सजिलै रुपमा खोल्न नहुने बताए । उनले सुपारी निर्यात खोल्न समितिलाई मोहरा बनाएर बाहिर अर्कै चलखेल भइरहेको दाबी गरे । 

सांसद श्रेष्ठले सबै क्षेत्रमा शतप्रतिशत सुपारी उत्पादन भएपनि १४ हजार मात्रै सुपारी उत्पादन हुने बताए । उनले समितिमा सुपारीको निर्यात खोल्न माग गर्दै उजुरी गर्नेहरु केही समय पहिला सुपारी निर्यात बन्द गर्नुपर्छ भन्दै आएको दाबी गरे । उनले सुपारी आयात निर्यात गर्नुपर्छ भन्ने विचौलियाहरु आवश्यकताअनुसार चल्ने बताए । 

नेकपा एमालेका सांसद लालप्रसाद साँवा लिम्बूले बारम्बार उद्योग समितिमा सुपारीको मात्रै छलफल किन गर्नुपर्ने ? भन्दै प्रश्न गरे । उनले पनि बाहिर सुपारीको अर्कै चलखेल भइरहेको भन्दै चलखेल फुकाउने काम समितिलाई दिएको बताए । 

समितिमा बोल्दै सांसद हेमराज राईले सरकारले नेपाली किसानले उत्पादन गरेको सुपारीलाई निर्यात गर्न सहजिकरण गर्न आवश्यक रहेको बताए । 

समिति बैठकमा सांसदहरुले सुपारी वास्तविक किसानको समस्या पहिचान गरी सरकारले समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनीहरुले सरकारले सुपारी आयात निर्यात गर्ने डिएनए परीक्षण लगायतका विषयमा आवश्यक प्रक्रियाको व्यवस्था गरी निर्यात गर्ने वातावरण बनाउनु जरुरी देखिएको बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप