आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विवाद समाधान नहुँदै जसपा पर्साको जिल्ला भेला सम्पन्न

बुधबार, २० मङ्सिर २०८०, १९ : २६
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को पर्सा जिल्ला समितिमा देखिएको विवाद समाधानका लागि कार्यदल गठन गरे पनि सो जिल्लामा गुटगत भेलाहरु भई नै रहेका छन् ।

असोज १० गते जसपा जिल्ला समितिको एउटा समूहले बहुमत सदस्यको बैठकले भन्दै जिल्ला अध्यक्ष रामनरेश यादवलाई हटाएर बहुदरमाइ नगरपालिकाका मेयर सिंहासन साह तेलीलाई अध्यक्ष बनाएको थियो । 

तर, त्यसलाई रामनरेश यादव पक्षले स्विकारेन । दुवै समूहबीच विवाद देखेपछि मधेस प्रदेश समितिले प्रदेशका अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा छानबिनका लागि कार्यदल गठन गरेको थियो ।

कार्यदल गठन गरेपनि जिल्लामा दुवै समूहले आआफ्ना गतिविधि गर्दैछन् । हालै अध्यक्ष भएका सिंहासन साह तेलीले आज बुधवार जिल्ला अगुवा कार्यकर्ता भेला गरेका थिए ।

जिल्ला अध्यक्ष सिंहासन साह तेलीको अध्यक्षतामा आयोजित अगुवा कार्यकर्ता भेलाको प्रमुख अतिथि जसपाका केन्द्रीय सदस्य एवं सांसद प्रदीप यादव थिए । उनले पार्टी केही अवसरवादी व्यक्तिको स्वार्थपूर्तिमा रहेको भन्दै गलत गतिविधिलाई निरुत्साहित गर्दै पार्टी संगठन विस्तार गर्न पार्टीपंक्तिलाई निर्देशन दिए ।

कार्यक्रममा मधेस प्रदेश समितिका अध्यक्ष एवं कार्यदलका संयोजक रामबाबु यादवले भने, ‘कार्यदल गठन गरेपनि काम सुरु नभएका कारण विवाद यथावत् छ । कार्यदलले कार्य छानबिन थालनी गरेपछि त्यस विषयमा छलफल गर्नेछ ।’ 

चाडपर्व तथा पार्टीका अन्य कार्यमा व्यस्त भएको कारण पर्साको विवाद बारेमा ध्यान नगएको हो, अब चाँडै नै त्यहाँ गएर छानबिन गरिने उनले बताए ।

रामनरेश यादव चार वर्षसम्म पार्टीको जिल्ला अध्यक्ष हुँदा अधिवेशन गराउन नसकेको, उनी अध्यक्ष भएर आएपछि जिल्लामा पार्टी कमजोर भएको, जिल्लाका नेताहरुले पार्टी छाडेर अन्य पार्टीमा प्रवेश गर्दै गरेको कारण देखाउँदै उनलाई हटाएइको थियो । 

बुधवारको कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ला समन्वय समितिका सभापति निरन्जन सर्राफ, पार्टीका केन्द्रीय सदस्य जनार्दन यादव, संघीय परिषद् सदस्य शिवजी सोनी,  केन्द्रीय सदस्य मोहन चौधरी, पूर्व प्रदेशसभा सदस्य भिमा यादवलगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप