आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तिहारका लागि विद्यालयमा फूल उत्पादन

बिहीबार, १३ वैशाख २०८१, ०८ : ४०
बिहीबार, १३ वैशाख २०८१

धुलिखेल । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटेका छन् । उनीहरुले विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका छन् । 

‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत फूल खेती गरिएको हो । विद्यालय संयोजक एवं जनक बहुमुखी क्याम्पसका प्रमुख हरिहर अधिकारीका अनुसार रु ३० हजार लगानीमा एक हजार पाँच सय बोट सयपत्री रोपिएको छ । अहिले फूल फुलेर ढकमक्क भएको छ । 

“करिब दुई रोपनी जग्गामा फूल खेती गरेका छौँ”, उनले भने, “रु एक लाख ५० हजार आम्दानी हुने  अनुमान छ ।” विद्यालय परिसर पनि आकर्षक देखिने र आम्दानी पनि लिन सकिने भएकाले व्यावसायिकरुपमा फूल खेती गरिएको उनले बताए । त्यसबाट प्राप्त रकमको ३५ प्रतिशत विद्यार्थीलाई प्रदान गरिने छ भने बाँकी रकम विद्यार्थी कल्याण कोषमा राखिने छ । 

विद्यालयले पहिलो पटक फूल खेती गरेको हो । आगामी वर्षदेखि फूल खेती विस्तार गरिने संयोजक अधिकारीको भनाइ छ । दसैँ तिहार बिदाका कारण रेखदेख गर्न कामदार राखेको उनले बताए । विद्यालयले विद्यार्थीलाई दैनिक दुई घण्टा उपार्जनको काममा अनिवार्य काम गर्नुपर्ने विद्यालयले नियम बनाएको छ ।

त्यसरी काम गरेबापत छात्राबासमा बस्ने विद्यार्थीका लागि खाने र बस्ने निःशुल्क व्यवस्था गरिएको संयोजक अधिकारीले बताए । 

“उत्पादन गरेको फूल बिक्रीको टुङ्गो लागिसकेको छ”, उनले भने । विद्यालयमा पाँच वर्षदेखि पशु विज्ञान विषयमा पठनपाठन गरिँदै आएको छ । विगत दुई वर्षदेखि ‘पढ्दै कमाउँदै’ कार्यक्रमसमेत लागू गरिएको छ ।

कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई यसमा संलग्न गरिएको छ । विद्यालयले सुरु गरेको तरकारी खेतीदेखि धान खेती, कुखुरा र बाख्रापालनसँगै अहिले विद्यालयले दूध उत्पादन गर्ने गरी पशु विज्ञान प्रयोगशालाका लागि भवनसमेत निर्माण गरिसकेको छ ।

विद्यालयले १७ रोपनी जग्गामा खेती गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक प्रदीप पोख्रेलले ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट विद्यालय र विद्यार्थीलाई सिर्जनशील बन्न मद्दत पुगेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप