आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नागरिकको स्वास्थ्यको हकप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री

बिहीबार, २१ मङ्सिर २०८०, १४ : २१
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको दाबी गरेका छन् ।  बिहीबार बुटवलस्थित आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान (नर्सिङ कलेज) को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेतृत्वमा गठन भएको सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको पनि बताए । 

‘गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २८०० शय्या निःशुल्क उपलब्ध गराइएको छ’, उनले भने, ‘पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरुद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।’

प्रधानमन्त्री प्रचण्डले सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको भन्दै यस्ता धेरै कामहरू अगाडि बढेकाले स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षा र सरल एवं सहज सेवा प्रवाहका निम्ति आधारभूत अर्थ राख्ने बताए । 

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको र यो निकै ठुलो मेहेनत र सङ्घर्षको प्रतिफल भएको प्रचण्डको भनाइ छ । 

उक्त व्यवस्थामा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने र प्रत्येक

नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था छ । ‘संविधानको उक्त व्यवस्थाअनुरूप आम्दा लगायतका निजी स्वास्थ्य संस्थाहरूले पनि सकारात्मक योगदान गर्नेछन् भन्ने मैले विश्वास लिएको छु’, प्रधानमन्त्रीको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप