आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रिगलको कैद मिनाहा बदरको फैसलालाई रवि लामिछानेले गरे स्वागत

बिहीबार, २१ मङ्सिर २०८०, १७ : ५६
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिगल भनिने योगराज ढकाललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले योगराज ढकाल रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका हुन् ।

उनले आफूहरूले कैद मिनाहाका लागि सडक र सदनमा पनि जोडदार माग गरेको र राष्ट्रपतिलाई समेत गएर भेटेको कुरा स्मरण गरे । उनले सरकारले यस त्रुटिबाट पाठ सिकेर आगामी दिनमा विधिको शासनको महसुस गर्नुपर्ने बताए । 

उनले भने, ‘सर्वोच्च अदालतको यो फैसलालाई स्वागत गर्न चाहन्छौँ । सबैभन्दा जोडदार सडकमा पनि, सदनमा पनि, प्रक्रियामा पनि र राष्ट्रपतिलाई अपिल पनि गरेको विषय भएको हुनाले हामी यो फैसलाको स्वागत गर्न चाहन्छौँ ।’

’महसुस गरिदिए मात्र पनि हामी सन्तुष्ट हुन्छौँ । राजीनामा धेरै परको कुराकानी भयो । राजीनामा चोक–चोकमा मागेर हिँड्ने कुरा होइन’ सभापति लामिछानेले भने– ‘नैतिक रूपमा सरकारले गरेको निर्णय, सर्वोच्चले उल्ट्याएको छ, आम नागरिक, समाजले भनेकै कुरा थियो । हामीले पनि उठाउँदै आएको कुरा थियो । त्यसकारणले यसलाई मनन मात्रै गरिदिए भने पनि त्यो राजीनामा भन्दा ठुलो हुन्छ । आगामी दिनमा यस्ता कुरामा याद गर्नुपर्ने रहेछ । विधिको शासन भन्ने कुरा पनि केही हो भन्ने महसुस गरिदिएछन् भने त्यो राजीनामा बराबर हुनेछ ।’

उनले संसद्को चालु अधिवेशनमा जनअपेक्षा अनुरूप संसद्ले काम गर्न नसकेको बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप