आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कोशीमा किचलो

हिम्मत नहुनेले किन विद्रोह गरेको जवाफ चाहियो : एमाले

बिहीबार, २१ मङ्सिर २०८०, १९ : ४५
बिहीबार, २१ मङ्सिर २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तारमा ढिलाइ गरेको र आफूहरुअनुकूल नचलेको भन्दै एमाले आक्रोशित बनेको छ । एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्की र मुख्यमन्त्री केदार कार्कीबीच दसैँयता कुनै छलफलसमेत हुन सकेको छैन । 

‘मुख्यमन्त्रीले गर्दै हुनुहुन्छ होला । यो दसैँले पनि डिस्टर्ब गर्‍यो । अब बजेट पास गर्नुपर्ने छ । छिटै गर्नुहुन्छ होला । पहिलो प्रयास नेपाली काँग्रेस र एमालेसँग हुन्छ । माथिको गठबन्धन कपी हुँदैन,’ एमाले दलका नेता हिक्मतकुमार कार्कीले भने, ‘समय क्रममा भोलि मिलाउँदै जाउँला । अहिले एमाले र काँग्रेसको सरकार हुन्छ । सरकार बनाउने कुरा मुख्यमन्त्रीको हातको कुरा हो । दसैँपछि मेरो भेट भएको छैन  ।’

तर, प्रदेशका पूर्वमन्त्री तथा एमालेका सांसद लिलाबल्लभ अधिकारीले भने केदार कार्कीले विद्रोह किन गरेको भन्ने प्रश्न गर्दै आक्रोश व्यक्त गरे । 

‘एक महिनादेखि सरकार विस्तार रोकेर अनिर्णयको बन्दी किन बनाएको ? गठबन्धनकै सरकार बनाउनु थियो भने विद्रोह गरेर किन आएको ? विद्रोह गरेर आएर चलाएर लिएर जान्छु भन्ने हिम्मत नभए किन विद्रोह गरेको ? विद्रोह गरेर आएपछि त्यो अनुसार चल्नु परेन ?,’ अधिकारीले प्रश्न गरे । 

एमालेका अर्का एक सांसदले आफूहरु पुरै अन्यौलमा रहेको बताए । ‘सरकार कहिले विस्तार हुन्छ भन्ने प्रश्न मुख्यमन्त्रीलाई नै सोध्नुहोस् ? आफू मुख्यमन्त्री हुने अनि निर्णय दिन नसक्ने ?,’ उनले भने, ‘अहिलेसम्म अन्यौल छ । हाम्रो दलको नेता पनि काठमाडौँ हुनुहुन्छ । उहाँसँग मुख्यमन्त्रीको के डिल भएको छ, हामीलाई थाहा छैन ।’

उनले पुस १० पनि दोहोरिन सक्ने बताए । ‘पुस १० पनि दोहोरिन सक्छ नि कुन ठूलो कुरा हो र ? प्रधानमन्त्री प्रचण्डले जे गर्नुभयो, केदार माननीयले पनि त्यही  गर्नुहोला नि ? त्यही सिको सिकेकै छन्,’ उनले भने, ‘हामीले विभिन्न आरोप खेपेर भएपनि उहाँलाई मुख्यमन्त्री बनाएको हो । खुलेआम धोका दिन्छु भने भइगयो नि किन ढिलाइ गरेको । हामी गठबन्धनसँगै जान्छौँ भने भइगयो । नभए छिटो निर्णय गर्नु परेन ? ।’

सांसद अधिकारीले मुख्यमन्त्री कार्कीको कारण प्रदेशमा अस्थिरता आउन सक्ने पनि आशङ्का व्यक्त गरे । अस्थिरता हुने वा मध्यावधिमा जाने अवस्था बने त्यसको जिम्मेवारी मुख्यमन्त्री कार्कीले नै लिनुपर्ने उनले बताए । 

‘हामीले त छँदा खँदाको मुख्यमन्त्रीबाट राजीनामा दिएर बहुमत पुर्‍याएर उहाँलाई समर्थन गरेको हो,’ अधिकारीले भने, ‘अब विघटन भएपनि प्रदेश खारेजको अभियान अगाडि बढेपनि त्यसपछिको उत्पन्न परिस्थितिको जिम्मा मुख्यमन्त्रीले नै लिनुपर्छ । हामीले त निकास दिएको हो । उहाँलाई अहिले सरकार विस्तार गर्न किन लाज लाग्यो । हिजो विद्रोह गर्दा चाहिँ लाज लागेन ?’

सहमतिमै मुख्यमन्त्रीको जोड

उता, मुख्यमन्त्री कार्कीले भने आफूले सहमतिको सरकार बनाउन छलफललाई तीव्र बनाइरहेको बताए । ‘अहिले सहमतिको सरकार गठनका लागि मैले छलफललाई तीव्रता दिइरहेको छु’ उनले भने । 

मुख्यमन्त्री कार्कीले सहमतिको सरकार गठनका लागि भन्दै एमालेलगायत दलसँग छलफल गर्ने जिम्मा काँग्रेसको कोशी प्रदेश सभापति तथा पूर्वमुख्यमन्त्री उद्धव थापालाई दिएका छन् । थापाले गठबन्धन दललगायत एमालेसँग छलफल गर्ने तयारी भइरहेको बताए ।

उता, माओवादी केन्द्रका सांसद दुर्गा प्रसाद चापागाईँले पनि सहमतिको आधारमा सरकार गठन गर्नुपर्नेमा जोड दिएका छन् । 

‘गठबन्धन दलहरुलाई सहभागी गराए सरकार छोड्छौँ भन्ने एमालेको अडान र एमालेलाई सरकारबाट बाहिर निकालेर पुनः गठबन्धनको मात्र सरकार बनाउनु पर्छ भन्ने गठबन्धन दलहरुको सोच दुवैले प्रदेशलाई स्थायित्व दिँदैन,’ उनले भने, ‘हाम्रो प्रदेशको गणितीय जटिलतालाई ध्यान दिँदै प्रदेश सहमतिको सरकार निर्माणमा सबै पक्ष इमान्दारपूर्वक लागौँ ।’

संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेसका नेता कार्की गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 

गत सोमबार मुख्यमन्त्री कार्यालयमा एमालेका नेताहरुसँग मुख्यमन्त्री कार्कीले छलफल गरे । उक्त छलफलमा मुख्यमन्त्री कार्कीले माओवादी र नेकपा (एकीकृत समाजवादी)लगायतलाई सरकारमा सहभागी गराए सहमतिको सरकार गठन गर्ने प्रस्ताव गरेका थिए । 

उता, एमालेले भने त्यसो गरे आफ्नो पार्टी बाहिरिन सक्ने चेतावनी दिएको थियो । एमालेले आफ्नो पार्टी र विद्रोह गरेर आएका काँग्रेसका ८ सांसदको मात्रै सरकार बनाउनु पर्ने दाबी गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप