टोलीमा फर्किए दीपेन्द्रसिंह ऐरी
शुक्रबार, १४ वैशाख २०८१, १० : ३७
काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनल खेलका लागि प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किएका छन् । नेपालले शुक्रबार मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग सेमिफाइनल खेल खेल्दैछ ।
दीपेन्द्रले जारी छनोट प्रतियोगितामा एक खेल पनि खेलेका छैनन् । सिंगापुरविरुद्धको पहिलो खेलअघि नै दीपेन्द्र घाइते भएका थिए । सिंगापुरविरुद्धको खेल सुरु हुनुअघि उनी अभ्यासका क्रममा घाइते भएका थिए । उनको बायाँ खुट्टाको गोलगाँठोमा चोट लागेको थियो ।
जारी प्रतियोगिताको सेमिफाइनल खेलमा विजयी हुने टोली सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी—२० विश्वकपका लागि छनोट हुनेछन् । प्रतियोगिताको अर्को सेमिफाइनल खेल ओमान र बहराइनबिच हुनेछ ।