आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

टी-२० विश्वकप छनोट  सेमिफाइनलमा यूएईलाई हराउन नेपालले १३५ रन बनाउनुपर्ने

आइतबार, ०९ वैशाख २०८१, १२ : ४२
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई जितका लागि एक सय ३५ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको यूएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३४ रन बनाएको हो ।

यूएईका लागि विकेटकिपर ब्याट्सम्यान वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए । उनले ५१ बलको सामना गरी दुई छक्का र आठ चौका हिर्काए । उनी यूएईको सातौँ विकेटका रूपमा पेभेलियन फर्किएका थिए । उनलाई कुशल मल्लले गल्सन झाद्वारा क्याच गराएका थिए । 

त्यसलगत्तै कुशल मल्लले यूएईका अर्का ब्याट्सम्यान आयान अफजल खानलाई आउट गराएका थिए । कुशल मल्लले आयानलाई एक रनको व्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । उनी आठौँ विकेटका रूपमा पेभेलियन फर्किएका थिए । 

त्ससअघि ओपनर ब्याट्सम्यान मुहम्मद वसिमले पनि २६ रन बनाए । यूएईका कप्तानसमेत रहेका वसिमले १६ बलमा दुई छक्का र तीन चौका हिर्काएका थिए । टोलीको खातामा आसिफ खानले १३ रन थपे । एलिसन सराफुले १६ रन जोडे । 

नेपाली टोलीका बलर कुशल मल्लले तीन विकेट लिए । उनले तीन ओभरमा ११ रन खर्चिएका थिए । सन्दीप लामिछानेले दुई विकेट हात पारे । स्पिनर लामिछानेले चार ओभरमा एक मेडन राख्दै केवल १४ रन खर्चिएका थिए । सोमपाल कामी र रोहित पौडेलले पनि एक—एक विकेट हात पारे ।

यूएईले पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान खालिद शाहलाई गुमाएको थियो । उनी तीन रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका थिए । उनलाई सोमपाल कामीले रन आउट गराएका थिए । उनी आउट हुँदा यूएईले ३.१ ओभरमा २९ बनाएको थियो ।

त्यसलगत्तै यूएईको दोस्रो विकेटका रूपमा अर्का ओपनर मुहम्मद वसिम पेभेलियन फर्किएका थिए । कप्तान समेत रहेका वसिम २६ रन बनाउँदै आउट भएका थिए । उनलाई सोमपाल कामीले करण केसीद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि वसिमले १६ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए । उनी आउट हुँदा यूएईले ३.३ ओभरमा ३० रन बनाएको थियो ।

यूएईको तेस्रो विकेट स्पिनर सन्दीप लामिछानेले लिएका थिए । उनले यूएईका ब्याट्सम्यान आसिफ खानलाई एलबीडब्लूको धरापमा पारेका थिए । आसिफ खानले पेभेलियन फर्किनुअघि १४ बलको सामना गरी एक चौकाको मद्दतले १३ रन बनाएका थिए । उी आउट हुँदा यूएईले १० ओभरमा ६२ रन बनाएको थियो ।

यूएईको चौथो विकेट कुशल मल्लले लिएका थिए । उनले यूएईका ब्याट्सम्यान एलिसन सराफुलाई सोमपाल कामीद्वारा क्याच गराएका थिए । एलिसनले १४ बलको सामना गरी तीन चौकाको मद्दतले १६ रन बनाएका थिए । उनी आउट हुँदा यूएईले १३.४ ओभरमा ८८ रन बनाएको थियो ।

यूएईको पाँचौँ विकेट कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले यूएईका ब्याट्सम्यान अली नासिरलाई चार रनको व्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । नासिर आउट हुँदा यूएईले १५.५ ओभरमा एक सय रन बनाएको थियो ।

यूएईको छैठौँ विकेट स्पिनर सन्दीप लामिछानेले लिएका थिए । उनले यूएईका ब्याट्सम्यान बासिल हमिदलाई एक रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । सन्दीपले उनलाई गुल्सन झाद्वारा क्याच गराएका थिए । उनले व्यक्तिगत रूपमा लिएको यो दोस्रो विकेट थियो । उनी आउट हुँदा यूएईले १७.१ ओभरमा एक सय १८ रन बनाएको थियो । यूएईका नवौँ नम्बरका ब्याट्सम्यान जुनैद सिद्धकी भने तीन रनमा रन आउट भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप