आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी—२० विश्वकप छनोट

क्रिकेटमा उत्साह, नेपाल विश्वकपमा छानियो

आइतबार, ०९ वैशाख २०८१, १३ : ३९
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । नेपाल टी—२० विश्वकप क्रिकेटमा छनोट भएको छ । नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको हो । 

जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ । नेपालले अब आइतबार हुने फाइनलमा ओमानसँग उपाधिका लागि भिडन्त गर्नेछ । ओमान भने शुक्रबार नै खेलिएको सेमीफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा पुगेको हो । जारी छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोलीले आगामी टी—२० विश्वकप खेल्न पाउने प्रावधान छ । टी—२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । 

जुन ४ देखि ३० सम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी—२० विश्वकपमा सहभागी हुने अब दुई टोलीको टुंगो लाग्न बाँकी छ । उक्त विश्वकपमा २० टोलीको सहभागिता रहने छ । हालसम्म १८ टोली छनोट भइसकेका छन् । अब अफ्रिकी क्षेत्रबाट दुई राष्ट्र छानिने छन् । नेपालले दोस्रो पटक टी—२० विश्वकप खेल्ने अवसर पाएको हो । यसअघि नेपालले सन् २०१४ मा टी—२० विश्वकप खेलेको थियो । नेपाली टोली बंगलादेशमा आयोजित त्यो विश्वकपको प्रारम्भिक चरणबाटै बाहिरिएको थियो ।

सेमिफाइनल खेलमा टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको यूएईले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १७.१ ओभरमा दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । नेपालको जितमा ओपनर ब्याट्सम्यान आसिफ शेखले उत्कृष्ट अर्धसतकीय पाली खेले । उनले ५० बलमा दुई छक्का र ६ चौकाको मद्दतले अविजित ६३ रन बनाए । त्यसअघि उनले केवल ३९ बलमा एक छक्का र ६ चौकाको मद्दतले अर्धसतक पुरा गरेका थिए । 

तेस्रो नम्बरका ब्याट्सम्यान गुल्सन झाले २२ रनको योगदान गरे । उनले २४ बलमा तीन चौका हिर्काएका थिए । त्यसअघि अर्का ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले भने आठ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।  कप्तान रोहित पौडेलले २१ बलमा एक छक्का र तीन चौकाको मद्दतले अविजित ३५ रन बनाए । यूएईका बलर निलान्श केशवानी र बासिल हमिदले एक—एक विकेट लिए । नेपालले अतिरिक्त रुपमा चार रन पाएको थियो । 

त्यसअघि टस जिती पहिले ब्याटिङको निर्णय लिएको यूएईका लागि विकेटकिपर ब्याट्सम्यान वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाएका थिए । उनले ५१ बलको सामना गरी दुई छक्का र आठ चौका हिर्काएका थिए । उनी यूएईको सातौँ विकेटका रुपमा पेभेलियन फर्किएका थिए । उनलाई कुशल मल्लले गुल्सन झाद्वारा क्याच गराएका थिए । 

त्यसलगत्तै कुशल मल्लले यूएईका अर्का ब्याट्सम्यान आयान अफजल खानलाई आउट गराएका थिए । कुशल मल्लले आयानलाई एक रनको ब्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । उनी आठौँ विकेटका रुपमा पेभेलियन फर्किएका थिए ।  यूएईका लागि ओपनर ब्याट्सम्यान मुहम्मद वसिमले पनि २६ रन बनाएका थिए । यूएईका कप्तानसमेत रहेका वसिमले १६ बलमा दुई छक्का र तीन चौका हिर्काएका थिए । टोलीको खातामा आसिफ खानले १३ रन थपे । एलिसन सराफुले १६ रन जोडेका थिए । 

नेपाली टोलीका बलर कुशल मल्लले तीन विकेट लिएका थिए । उनले तीन ओभरमा ११ रन खर्चिएका थिए । सन्दीप लामिछानेले दुई विकेट हात पारेका थिए । स्पिनर लामिछानेले चार ओभरमा एक मेडन राख्दै केवल १४ रन खर्चिएका थिए । सोमपाल कामी र रोहित पौडेलले पनि एक—एक विकेट हात पारेका थिए । 

यूएईले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान खालिद शाहलाई गुमाएको थियो । उनी तीन रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका थिए । उनलाई सोमपाल कामीले रन आउट गराएका थिए । उनी आउट हुँदा यूएईले ३.१ ओभरमा २९ बनाएको थियो । त्यसलगत्तै यूएईको दोस्रो विकेटका रुपमा अर्का ओपनर मुहम्मद वसिम पेभेलियन फर्किएका थिए । कप्तान समेत रहेका वसिम २६ रन बनाउँदै आउट भएका थिए ।

उनलाई सोमपाल कामीले करण केसीद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि वसिमले १६ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए । उनी आउट हुँदा यूएईले ३.३ ओभरमा ३० रन बनाएको थियो । यूएईको तेस्रो विकेट स्पिनर सन्दीप लामिछानेले लिएका थिए । उनले यूएईका ब्याट्सम्यान आसिफ खानलाई एलबीडब्लूको धरापमा पारेका थिए । आसिफ खानले पेभेलियन फर्किनुअघि १४ बलको सामना गरी एक चौकाको मद्दतले १३ रन बनाएका थिए । उी आउट हुँदा यूएईले १० ओभरमा ६२ रन बनाएको थियो ।

यूएईको चौथो विकेट कुशल मल्लले लिएका थिए । उनले यूएईका ब्याट्सम्यान एलिसन सराफुलाई सोमपाल कामीद्वारा क्याच गराएका थिए । एलिसनले १४ बलको सामना गरी तीन चौकाको मद्दतले १६ रन बनाएका थिए । उनी आउट हुँदा यूएईले १३.४ ओभरमा ८८ रन बनाएको थियो । यूएईको पाँचौँ विकेट कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले यूएईका ब्याट्सम्यान अली नासिरलाई चार रनको ब्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । नासिर आउट हुँदा यूएईले १५.५ ओभरमा एक सय रन बनाएको थियो ।

यूएईको छैठौँ विकेट स्पिनर सन्दीप लामिछानेले लिएका थिए । उनले यूएईका ब्याट्सम्यान बासिल हमिदलाई एक रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । सन्दीपले उनलाई गुल्सन झाद्वारा क्याच गराएका थिए । उनले ब्यक्तिगत रुपमा लिएको यो दोस्रो विकेट थियो । उनी आउट हुँदा यूएईले १७.१ ओभरमा एक सय १८ रन बनाएको थियो । यूएईका नवौँ नम्बरका ब्याट्सम्यान जुनैद सिद्धकी भने तीन रनको ब्यक्तिगत स्कोरमा रन आउट भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप