आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तपाईका छोराछोरी बिग्रिरहेका त छैनन् ?

शुक्रबार, २२ मङ्सिर २०८०, १५ : १६
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौं । बच्चालाई असल अनि समझदार व्यक्ति बनाउनु हरेक अभिभावकको कर्तव्य हो । आफ्ना छोराछोरी असल मान्छे बनुन् भन्ने चाहना हरेक अभिभावकको हुन्छ । 

त्यसैले त हरेक दिन छोराछोरीलाई उत्कृष्ट शिक्षादीक्षा दिने, जीवनमा असल अनि राम्राराम्रा कुरा गर्ने, अरु व्यक्तिलाई राम्रो व्यवहार गर्ने जस्ता कुरा सिकाउँछन् । यति हुँदाहुँदै पनि कहिलेकाहीँ संगत राम्रो हुँदैन र बच्चाले गलत बाटो समात्छन् ।   साथीभाइ खराब पर्न सक्छन् । बिस्तारै बाआमासँग कुरा लुकाउन थाल्छन् ।

हरेक कुरामा झगडा गर्ने, झुटो बोल्न, मुखमुखै लाग्न थाल्छन् । यस्तो समस्या खासगरी किशोरकिशोरीमा बढी देखिन्छ । किशोरावस्थामा पुगेर खराब संगतले नबिग्रिउन भनेर १० देखि १२ वर्ष उमेरका बालबालिकामाथि पहिलादेखि नै ध्यान दिन जरुरी छ । आफ्ना छोराछोरी बिग्रिन थालेका छन् वा बिग्रिसकेका छन् कि भनेर आमाबुबाले विचार गर्ने हो भने केही संकेतमा थाहा पाउन सक्छन् ।

बच्चाले आफ्नो आसपास जे देख्छन्, सुन्छन् त्यसैलाई फलो गर्छन् । स्कुल, पार्क, ट्युशन आदि स्थानमा साथीभाइहरूले जस्तो व्यवहार गर्छन्, जसरी बोल्छन् त्यसैलाई फलो गर्छन् । संगत सही परेन भने बच्चा बिग्रन सम्भावना अधिक हुन्छ । यस्तोमा अभिभावकहरूले शुरुदेखि नै केटाकेटीको बोलीचाली हाउभावमा ध्यान दिन जरुरी छ ।

केही बालबालिकाहरूले आफूलाई मन परेको वस्तुको लागि जिद्दी गर्छन् । बाआमासँग झर्किन्छन्, बाँझ्छन् अनि झगडा पनि गर्न थाल्छन् । घुर्की देखाउँदै खानै खाँदैनन् । आफूले देखेको, अरुसँग भएको हरेक चिज चाहियो भन्दै रुने कराउने गर्छन् । ८–१० वर्ष उमेरका बच्चामा यस्तो बानी धेरै हुन्छ । यस्तो स्थितिमा अभिभावकहरूले माया गरेर सम्झाउन जरुरी छ । बच्चा करायो भनेर आफू कराउने, रिसाउने गर्न थाल्यो भने उनीहरू झनै जिद्दी बन्छन् ।

तपाईँले बालबालिकालाई केही काम नगर्न भन्नु भएको छ भने  उनीहरु जानेर बुझेर हेपेर बारम्बार त्यही काम गर्छन् । यसले पनि बच्चा बिग्रिन थालेको संकेत हुन्छ । बालबालिकाले आफ्नै मातापिताको कुरा सुन्दैनन् भने अरुको के सुन्छन् ? त्यसैले समय बाँकी छँदै यस्ता संकेत बुझेर व्यवहार गर्नुहोस् ।

घरमा केही साना मसिना काम त भइहाल्छन् । तपाईँले छोराछोरीलाई सानातिना काम अहर्याउनु भयो ? तर उनीहरूले गरेनन् भने सम्झिनुस् बच्चा बिग्रिरहेका छन् । बच्चाले तपाईको कुरा फिटिक्कै सुन्दैन भने साथीभाईको संगतको असर पनि हुनसक्छ । उनीहरूका कुनै साथीले उसको बाआमाले भनेको नमान्ने गरेको र साथीलाई त्यही कुरा सुनाएको हुनसक्छ र  तपाईको बच्चाले पनि त्यसैको सिको गरेको हुनसक्छ ।

छोराछोरीले बोल्दा अभद्र भाषा, गाली गलौजको प्रयोग गर्न थालेका छन् भने उनीहरुको संगत खराब छ र बच्चा बिग्रिन लागेको गम्भीर संकेतको रुपमा लिनुस् । छोराछोरी अरु बच्चासँग झगडा, मारपिट गर्छन् भने पनि तपाई अर्लट रहन जरुरी छ ।

तपाईका छोराछोरीले कुनै साथीको सामान चोर्छन् भने यो पनि  बिग्रिन लागेको संकेत हो । बालबालिकाले यस्तो गरेको थाहा पाउनु भयो वा सुन्नु भयो भने तुरुन्तै उनीहरूलाई चोरी गर्नुहुन्न भनेर सम्झाउनुस् । 

उनीहरुलाई कुट्ने वा पिट्नेभन्दा पनि चोरी गर्दाको परिणाम के–के हुनसक्छ भनेर मायाले बुझाउनुस् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप