आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’

कर्णालीमा रुपान्तरित हुँदैछ माओवादी

शुक्रबार, २२ मङ्सिर २०८०, १८ : ०९
शुक्रबार, २२ मङ्सिर २०८०

सुर्खेत । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत कर्णालीलाई आफ्नो आधार इलाकाका रुपमा थप विस्तार गर्न सकिएको निष्कर्ष निकालेको छ । यो अवधिसम्म अभियानले पार्टी रुपान्तरणमा ठुलो प्रगति हासिल गरेको नेताहरुको विश्लेषण छ ।

जनताको बिचमा रहेर १० वर्षे जनयुद्ध लडेको माओवादी शान्ति प्रक्रियासँगै सहर पसेपछि जनतालाई भुलेको भन्ने जनगुनासो गाउँगाउँमा सुनिएको नेताहरु बताउँछन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष पेस गरिएको भदौ र असोज महिनाको रिपोर्ट अनुसार प्रदेशका १० वटै जिल्लामा अभियान प्रभावकारी रुपमा चलेको छ । यद्यपि जनाधार कमजोर रहेको सुर्खेत, डोल्पा लगायतका जिल्लामा भने खास प्रभावकारी नभएको बताइएको छ ।

रातोपाटीलाई प्राप्त विवरण अनुसार दुई महिनाको अवधिमा प्रदेशभर करिब एक हजार ७ सयभन्दा बढी व्यक्ति अन्य पार्टी परित्याग गरेर माओवादीमा प्रवेश गरेका छन् । यसअघि सबैभन्दा कमजोर रहेको दैलेखमा पनि अभियानकै क्रममा माओवादी फैलिएको छ ।

दैलेखमा ८१६ जनाले विभिन्न पार्टी त्याग गरेर माओवादी रोजेका छन् । उत्तिकै मात्रामा यहाँ सदस्यता लिनेको संख्या पनि बढेको छ ।

दैलेखमा ८१५ जनालाई नयाँ सदस्यता वितरण गरिएको छ । अभियानका दैलेख इञ्चार्ज गोपाल शर्माका अनुसार ५८ वटा जनभेला भएका छन् भने १५३ वटा बैठक, ९७ वटा सेल तथा टोल कमिटी निर्माण, ५१ जना घाइते अपाङ्गता भएका व्यक्तिसँग भेटघाट भएको छ भने २०१ जना सहिद परिवारसँग भेट गरिएको छ ।

यस्तै ४८५ सदस्यता नवीकरण गरिएको छ भने ११ वटा जनसेवा तथा जनश्रमदानका कार्य भएका छन् ।

दैलेख यस्तो ठाउँ हो, जहाँ युद्धताका माओवादीविरुद्ध प्रतिक्रान्ति भएको थियो । त्यस कारण पनि कर्णालीमा माओवादीको जनाधार सबैभन्दा कमजोर मानिएको जिल्ला दैलेख हो । अभियान सुरु भए यता दैलेखमा माओवादी तीव्र गतिमा फैलिरहेको इञ्चार्ज शर्मा बताउँछन् ।

पार्टी प्रवेश गर्ने संख्या अरु जिल्लाभन्दा दैलेखमै बढी रहेको छ । जुम्लामा करिब ३० जनामात्रै प्रवेश गर्दा डोल्पामा १५४, रुकुम पश्चिममा ४३, जाजरकोटमा २५१, सल्यानमा ४८, सुर्खेतमा ११३, हुम्लामा ७४, कालिकोटमा ११४ र मुगुमा ५३ जनाले अन्य पार्टी त्याग गरेर माओवादी रोजेका छन् ।

कुन जिल्लामा के–के गतिविधि भए ?

माओवादी आधार इलाकाका रुपमा रहेको रुकुम पश्चिममा ६ पटक पालिका समितिका बैठक बसेका छन् भने २९५ टोल कमिटीका बैठक भएका छन् । १४० वटा जनवर्गीय संगठनका बैठक, ९ हजार ४१ घरधुरीको फारम भरिएको छ भने ४१ वटा जनसेवा तथा जनश्रमका काम भएका छन् ।

यसैगरी ४५० वटा सेल कमिटी बैठक हुँदा ३ हजार ६२४ वटा पार्टी सदस्यता नवीकरण गरिएको छ । अभियानका क्रममा ३२ हजार ९७४ जनसंख्यामाझ भेटघाट गरिएको छ । रुकुम कर्णालीको मात्र नभई देशैभरिको अत्यधिक बलियो जनमत रहेको जिल्ला रहेको माओवादी केन्द्र रुकुम पश्चिमको दाबी छ ।

जाजरकोटमा १४९ वटा टोल तथा सेल कमिटी बैठक बसेका छन् भने २९५ टोल कमिटी बैठक, ३१ वटा जनवर्गीय मोर्चा गठन, २२ वटा जनसेवा तथा जनश्रमदानका कार्य भएका छन् ।

यस्तै पालिकाहरुमा जनपक्षीय कार्यका लागि ज्ञापनपत्र बुझाउनेदेखि १०९ वटा नयाँ सदस्यता आवेदक रहेको जनाइएको छ । यस्तै, ७८४ पार्टी सदस्यता नवीकरण भएको छ भने २१ हजार जनसंख्यालाई प्रत्यक्ष भेटघाट गरिएको अभियानको जाजरकोट इञ्चार्ज वसन्त शर्मा बताउँछन् ।

अन्य जिल्लाभन्दा फरक तरिकाले अभियान चलेको जिल्ला हो सल्यान । यहाँ अभियानका इञ्चार्ज नरेश भण्डारीले क्यालेण्डर निर्माण गरेर अभियान चलाइरहेका छन् ।

कमजोर संगठन रहेको सुर्खेतमा १० हजार ४५० वटा घरमा अभियान पुगेको छ भने १३४ वटा जनभेला गरिएका छन् । १६८ टोल तथा सेल कमिटी निर्माण भएका छन् भने १६३ वटा सहिद परिवार भेटघाट, १७३ घाइते योद्धाहरुसँग भेटघाट कार्यक्रमहरु भएका छन् ।

११ वटा रक्तदान, जनश्रम र जनसेवाका काम भएको रिपोर्ट जिल्ला कमिटीले प्रदेशलाई बुझाएको छ । कालिकोटमा २ हजार १८० वटा सहिद, बेपत्ता, घाइते परिवारसँग भेटघाट गरिएको छ भने ३४ वटा जनसेवा तथा जनश्रमदानका गतिविधि भएका छन् ।

६ हजार ७४७ पार्टी सदस्यता नवीकरण तथा १ हजार ५४९ नयाँ सदस्य थपिएका छन् । मुगु, सल्यान, हुम्ला, जुम्लाको सबै तथ्याङ्क भने उल्लेख भएको छैन । यद्यपि यी जिल्लामा पनि अन्य जिल्लाहरुजस्तै अभियान प्रभावकारी रुपमा सञ्चालन भइरहेको माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसी बताउँछिन् ।

केसीका अनुसार अभियान अन्तर्गत विभिन्न ठाउँमा गोरेटो बाटो निर्माण भएका छन् भने पुलहरु, आर्थिक अभाव भएकाहरुको घर मर्मतजस्ता कार्य पनि अभियानका क्रममा भएका छन् ।

‘जनसेवा र सार्वजनिक निर्माणको कार्यक्रम मार्फत विकास निर्माणका काम हुनु र अति विपन्न परिवारको घर मर्मत जस्ता कार्य गर्नुले माओवादी वास्तविक जनताको पार्टीका रुपमा स्थापित हुँदै गएको छ,’ अध्यक्ष केसीले भनिन्, ‘यो क्रम अब निरन्तर चल्ने छ ।’

प्रदेशमा पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता थप गर्ने, नयाँ सदस्यताका लागि आवेदन भर्ने, साधारण सदस्यता वितरणको काम, पार्टी कमिटी पुनर्गठन, जनवर्गीय संगठन÷मोर्चाका संगठन विस्तार लगायतका संगठनात्मक कामहरु तीव्र गतिमा सञ्चालन भइरहेको केसीको भनाइ छ ।

अभियानका क्रममा पार्टीको विचार, राजनीतिक छलफल र बहसका साथै सरकारले गरेका राम्रा कामको प्रचार गर्ने काम भएको छ भने पार्टी भित्रका अन्तरविरोधहरु पहिचान हुँदै गएको उनले बताइन् ।

पार्टी उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्ज मातृका यादव कर्णालीमा माओवादी बलियो रहेको र अभियानले अझ सुदृढ बन्दै गएको दाबी गर्छन् । ‘लामो समयदेखि पार्टी पूर्ण रुपमा चलायमान हुन नसकेका कारण गतिहीनता, कार्यकर्तामा निराशा, पलायनता, जनतामा पार्टीप्रति अविश्वास बढ्दै गइरहेको थियो,’ यादव भन्छन्, ‘अभियानले यो अवस्थाको अन्त्य गर्ने विश्वास आम नेता, कार्यकर्ता र जनतामा पैदा भएको छ ।’

यादवको बुझाइमा माओवादीहरु जनताका सेवक हौँ भन्ने सन्देशसहित आम जनतालाई संगठित गर्ने, नयाँ भर्ना गर्ने, सबैलाई संगठित गर्ने अहिलेको जिम्मेवारी हो । उनी भन्छन्, ‘उत्पादनको क्षेत्र होस्, विकास निर्माणमा माओवादी स्थापित हुन्छ, त्यो खालको आधार पनि छ । कर्णालीको बसाइले नै मैले त्यो खालको अनुभूति गरेको छु ।’

‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ नाराले हरेक समुदायमा एक खालको उभार ल्याएको जिल्लाका इञ्चार्जहरुले बताउने गरेका छन् । अभियानको क्रममा चौतारा निर्माण, काठेपुल निर्माण, विद्यालयका फिल्ड निर्माणदेखि विपन्नका घरहरु मर्मत कार्यमा नेता, कार्यकर्ता सक्रिय हुनुले जनताको माओवादीप्रति हेर्ने दृष्टिकोणमा समेत फरकपना आएको नेताहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप