आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अफगानिस्तानसँग हारेपछि उपाधि होडबाट बाहिरिने दोस्रो टोली बन्यो नेदरल्यान्ड्स

शुक्रबार, २२ मङ्सिर २०८०, २० : ३१
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शुक्रबार खेलिएको खेलमा अफगानिस्तानले नेदरल्यान्ड्सलाई सात विकेटले हराएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सले ४६.३ ओभरमा अलआउट हुनुअघि एक सय ७९ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले ३१.३ ओभरमा तीन विकेट गुमाएर एक सय ८१ रन बनाउँदै विजयलक्ष्य पार गरेको हो । अफगानिस्तानको जितमा रहमत शाह र कप्तान हसमतुल्लाह शाहिदीले अर्धसतकीय पाली खेले ।

तेस्रो नम्बरका ब्याट्सम्यान रहमत शाहले ५२ रन बनाए । उनले ५४ बलमा आठ चौका पनि हिर्काए । कप्तान हसमतुल्लाहले अविजित ५६ रनको योगदान गरे । उनले ६४ बलको सामना गरी ६ चौका प्रहार गरेका थिए । 

अजमतुल्लाह ओमरजाईले पनि टोलीका लागि अविजित ३१ रनको योगदान गरे । उनले २८ बलको सामना गरी तीन चौका हिर्काए । अफगानिस्तानका ओपनर ब्याट्सम्यान रहमानुल्लाह गुरबाज १० र ईब्राहिम जदरान २० रनमा पेभेलियन फर्किएका थिए ।

५५ रनको कुल स्कोरमा दुई विकेट गुमाएको अफगानिस्तानलाई त्यसपछि रहमत शाह र हसमतुल्लाहले एक सय २९ रनको स्थितिसम्म पुर्‍याएका थिए । अफगानिस्तानको टोलीले अतिरिक्त रुपमा पनि १२ रन पाएको थियो ।

जितसँगै सात खेल खेलेको अफगानिस्तान पाकिस्तानलाई उछिन्दै अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । चार जित र तीन हारको नतिजा निकालेको अफगानिस्तानले आठ अंक बटुलेको छ । सात खेलबाट ६ अंक जोडेको पाकिस्तान तालिकाको छैठौँ स्थानमा झरेको छ । 

सात खेलबाट चार अंक जोडेको नेदरल्यान्ड्स भने तालिकाको आठौँ स्थानमा छ । नेदरल्यान्ड्स जारी विश्वकपको उपाधि होडबाट बाहिरिने दोस्रो टोली बनेको छ । बंगलादेश यसअघि नै जारी विश्वकपको उपाधि होडबाट बाहिरिइसकेको छ ।

त्यसअघि टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सका लागि चौथो नम्बरका ब्याट्सम्यान साइब्रान्ड एन्जलबर्चले ५८ रनको योगदान गरेका थिए । उनले ८६ बलको सामना गरी ६ वटा चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यान म्याक्स ओ’डाओडले पनि ४२ रन बनाएका थिए ।

रन आउट भई पेभेलियन फर्किनुअघि उनले ४० बलमा नौवटा चौका प्रहार गरेका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान कोलिन एकरम्यानले पनि २९ रन बनाएका थिए । रोलफ भान डर मर्वेले पनि ३३ बलको सामना गरी ११ रन बनाएका थिए । आर्यन दत्ताले अविजित १० रन जोडेका थिए ।

नेदरल्यान्ड्सका अन्य ब्याट्सम्यानले दोहोरो सँख्यामा रन बनाउन सकेनन् । ओपनर ब्याट्सम्यान वेस्ली बारेसी एक रनमै पेभेलियन फर्किएका थिए । नेदरल्यान्ड्सले अतिरिक्त रुपमा १६ रन पाएको थियो । अफगानिस्तानका बलर मोहम्मद नाबीले तीन विकेट लिए । नुर अहमदले पनि दुई विकेट हात पारे । मजिब उर रहमानले एक विकेट लिएका थिए । 

नेदरल्यान्ड्सका माथिल्ला पाँचमध्ये चारजना ब्याट्सम्यान रन आउट भएर मैदानबाट बाहिरिएका थिए । जारी विश्वकपमा अफगानिस्तानले यसअघि पनि बलिया प्रतिद्वन्द्वी पूर्वविजेता श्रीलंका, साविक विजेता इङ्ल्यान्ड र पूर्वविजेता पाकिस्तानलाई हराइसकेको छ । 

नेदरल्यान्ड्सले पनि जारी विश्वकपमा हालसम्म दुई खेल जितेको छ । नेदरल्यान्ड्सले जारी विश्वकपमा निकै बलियो टोलीका रुपमा देखिएको दक्षिण अफ्रिकालाई ३८ रनले हराएको थियो । नेदरल्यान्ड्सले अर्को खेलमा बंगलादेशलाई ८७ रनले पराजित गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप